काठमाडौँ। प्रतिनिधिसभाको आइतबारको बैठकमा भएको घटनाको जाँचबुझ गर्न समिति गठन गरिएको छ।
आइतबारको बैठकमा केही सांसदले अमर्यादित र आपत्तिजनक व्यवहार प्रदर्शन र भौतिक हानि-नोक्सानी एवं क्षति पुर्याउने कार्य गरेको भन्दै घटनाको जाँचबुझ गर्न समिति गठन गरिएको सभामुख डोलप्रसाद अर्यालले जानकारी दिए।
संसद् बैठकमा भएको भौतिक हानि-नोक्सानी एवं क्षतिको मुचुल्का तयार भएकाले यस विषयमा आवश्यक जाँचबुझ गरी सात दिनभित्र सभामुखसमक्ष प्रतिवेदन तयार पार्न प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको उनले जानकारी दिए।
समिति सदस्यमा संघीय संसद् सचिवालयका आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखा प्रमुख र प्रविधि व्यवस्थापन महाशाखा प्रमुख छन्। सभामुख अर्यालले समितिको प्रतिवेदन प्राप्त भएपछि प्रतिनिधिसभा नियमावली २०८३ को नियम ३३ को उपनियम ४ बमोजिम घटनामा संलग्नलाई आवश्यक कारबाही अगाडि बढाउन सकिने बताए।
यसअघि आइतबारको बैठकमा प्रतिनिधिसभा नियमावली पारितको प्रक्रियाप्रति असहमति जनाउँदै विपक्षी दलका सांसदहरूले बेल घेराउसहित विरोध गरेका थिए। त्यस क्रममा केही कुर्सी र माइकमा क्षति पुगेपछि जाँचबुझका लागि समिति गठन गरिएको हो।