पर्सा। श्रीमती हत्याको आरोपमा पर्सामा श्रीमान् पक्राउ परेका छन्। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-१० बजरंग टोलका ४५ वर्षीय रामनारायण दास तत्मा रहेका छन्।
४२ वर्षीय श्रीमती हलसिया कुमारी देवीको हत्या गरेको आरोपमा तत्मालाई शनिबार पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले बताए।
हत्यापछि फरार रहेका तत्मालाई प्रहरीले महत्तरीको रामगोपालपुर नगरपालिका-७ बाट पक्राउ गरेको थियो।
१४ जेठ साँझ सवा ७ बजे देवीको हत्या भएको थियो। मदिरा सेवन गरेका तत्माले टाउको तथा शरीरका विभिन्न भागमा फलामको गल प्रहार गरी देवीको हत्या गरेको बस्नेतले बताए।
मदिरा सेवनपछि विवादका कारण तत्माले श्रीमतीको हत्या गरेको प्रहरीको भनाइ छ। पक्राउ परेका तत्मालाई कर्तव्य ज्यान मुद्दामा हिरासतमा राखेर अनुसन्धान थालिएको बस्नेतले बताए।