काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१८ जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ। इलाम समाज हङकङले संस्था २५औं वर्ष पुगेको अवसरमा ‘इलाम’ स्मारिकाको तेस्रो अंकलाई रजत जयन्ती विशेषांक बनाएको छ।

संस्थाका अध्यक्ष वसन्त राई (विपिन), पत्रकार, गायक तथा संगीतकार लगायतको सहभागीतामा काठमाडौँमा स्मारिका सार्वजनिक गरिएको हो।

यो विशेषांकमा गृहजिल्लास्थित पानीटारलाई चिया पर्यटनको नयाँ गन्तव्यका रूपमा प्रमुख प्राथमिकताका साथ समेटिएको छ। उक्त चिया बगान जिल्ला सदरमुकामबाट पश्चिमी नगरपालिका देउमाई वडा नम्बर ३ मा अवस्थित छ।

सल्लाहकार सम्पादक सचित राईका अनुसार विशेषांकमा इलामका १३ प्रेरक युवाका अन्तर्वार्ता समेटिएको छ। प्रतिनिधिसभा सदस्य निष्कल राई र सुहाङ नेम्बाङसहित फुटबलर अञ्जिला तुम्बापो सुब्बा, उर्गेन बम्जन, गायक एकदेव लिम्बू, रंगकर्मी चेतन आङ्थुपो, उसुमा स्वर्ण पदक विजेता जुनी राई, लेखक तारा राई, फुटबलर नवयुग श्रेष्ठ, बबिन राई, पत्रकार/लेखक वसन्त बस्नेत, दी भ्वाइस अफ नेपालका विजेता विनोद राई र गायिका सुनीता थेगिम छन्।

समाजका अध्यक्ष राईले आफ्नो ठाउँ सम्झिने र सामाजिक कार्यमा जोडिने सन्दर्भमा एउटा माध्यम बनाउने भनेर इलाम समाज गठन गरिएको स्मरण गरे।

कार्यक्रममा पत्रकारहरू धर्म गौतम, विष्णु निष्ठुरी, विष्णुप्रसाद गौतम, गणेश पराजुली, गायक रोशन गुरुङ, इलाम कलाकार समाजका सचिव थिरज राई लगायतको सहभागीता थियो।