काठमाडौँ। वैदेशिक रोजगारीका लागि युरोपका विभिन्न देश पठाउने बहानामा ठगी गर्ने व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा कैलाश गाउँपालिका १०‚ मकवानपुरका ४१ वर्षीय भीम लामा छन्।
काठमाडौँ टोखा नगरपालिका ८ बस्दै आएका उनलाई सोमबार काठमाडौँ ११ बाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्काले बताए। लामाले एकजना व्यक्तिबाट एक करोड ९३ लाख रुपैयाँ ठगी गरेको खड्काले बताए।
युरोपका विभिन्न देश पठाइदिने र त्यहाँ आकर्षक तलब दिइने भन्दै लामाले ती व्यक्तिसँग रकम लिएका थिए। रकम बुझेपछि लामा फरार भए। लामो समय सम्पर्कमा नआएपछि पीडित प्रहरीमा पुगेका थिए।
यस्तै क्यानडा पठाउने बहानामा पाँच लाख ३२ हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दैलेख गुराँस गाउँपालिका ३ का ३९ वर्षीय खड्कध्वज शाहीलाई पक्राउ गरेको छ।
कार्यालयका अनुसार उनलाई काठमाडौँ बूढानीलकण्ठ नगरपालिका ३ बाट पक्राउ गरिएको हो।
पक्राउ परेका दुवैलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।