काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

१८ जेष्ठ २०८३
अ+
अ-

जनकपुर। मधेस प्रदेश सभामा विपक्षी दलहरू अनुपस्थित भएपछि प्रदेश सभाको बैठक स्थगित गरिएको छ।

मधेस प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल चलिरहेको समयमा सम्पूर्ण विपक्षी दलले संशोधन राखेका र संशोधन प्रस्ताव राख्नेहरू आफ्ना कुरा राखेपछि बाहिरिएका थिए। जसपा नेपालबाट लालबाबु राउत, जनमत पार्टीबाट सन्जयकुमार यादव र शम्भु साहले आफ्ना संशोधनका प्रस्ताव राखेका थिए।

सत्तासाझेदार नेकपा एमालेबाट राजकुमार लेखी र नेकपाबाट प्रमोद यादवले संशोधन प्रस्ताव राखेका थिए। संशोधन प्रस्ताव प्रस्तुत गर्दै राउतले प्रदेश प्रहरीसम्बन्धी ऐनको कार्यान्वयन र संघीयता कार्यान्वयनको विषयमा सरकारले नीति कार्यक्रममा ठोस विषयवस्तु नसमेटेको भन्दै विरोध गरेका थिए।

त्यसैगरी जनमत पार्टीका नेता सन्जयकुमार यादवले सरकारले जनमुखी र जनताको चाहनाअनुसार नीति कार्यक्रम नल्याएको भन्दै विरोध गरे। विपक्षीहरूले राखेका संशोधन प्रस्ताव प्रदेश सभामा प्रस्तुत गरेसँगै सबै सदस्य बाहिरिएका थिए।

प्रदेश सभाको बैठकबाट विपक्षी दलहरू बाहिरिएपछि सभामुख रामअशिष यादवले नीति तथा कार्यक्रममाथि छलफल जारी रहेकाले अर्को बैठक भोलि (मंगलबार) १ बजेसम्मका लागि स्थगित गरे।

जनमत पार्टीका नेता सञ्जयकुमार यादवले सरकारले ल्याएको नीति कार्यक्रम जनपक्षीय नभएको भन्दै त्यसको साक्षीका रूपमा आफूहरू बस्न नसक्ने बताए।