काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१८ जेष्ठ २०८३
गगनकुमार थापा र विश्वप्रकाश शर्मा।
अ+
अ-

रूपन्देही। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाल-भारत भूमि समस्याबारे प्रधानमन्त्रीको अभिव्यक्ति निन्दनीय र आपत्तिजनक रहेको बताएका छन्।

कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले रूपन्देहीमा सोमबार गरेको लुम्बिनी प्रदेशस्तरीय परामर्श कार्यशालामा थापाले नेपालको भौगोलिक अखण्डता र नेपालको राष्ट्रिय सुरक्षासँग जोडिएको संवेदनशील विषयमा प्रधानमन्त्रीले राखेको अभिव्यक्ति निन्दनीय र आपत्तिजनक रहेको बताए।

सीमासम्बन्धी गैरजिम्मेवार अभिव्यक्ति फिर्ता लिई प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्ने उनको भनाइ छ। त्यस्तै सभापति थापाले जेन-जी आन्दोलसम्बन्धी मानवअधिकार आयोगको प्रतिवदेन कार्यान्वयन गर्न माग गर्दै दोषी देखिएकाहरूलाई निष्पक्ष ढंगले कारबाही गर्नुपर्नेमा जोड दिए।

संसद्‌मा संख्याको दम्भ देखिएको भन्दै उनले जनमतलाई अवसरका रूपमा लिएर काम गर्न रास्वपालाई सुझाए। थापाले पार्टीलाई एकताबद्ध बनाएर अघि लैजान आफू गम्भीर रूपमा लागेको उल्लेख गरे। उनले निर्वाचनले कांग्रेस ल्याएको नभई कांग्रेसका कारण निर्वाचन भएको इतिहास रहेको भन्दै निर्वाचनको परिणामलाई स्वभाविक रूपमा लिन आग्रह गरे।

त्यस्तै कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले सीमाबारे प्रधानमन्त्रीले सदनमा राखेको अभिव्यक्तिप्रति बिमति रहेको बताए। सांसदलाई भ्रष्टाचारलगायत गम्भीर फौजदारी कसुरमा उन्मुक्ति दिने व्यवस्थाप्रति उनले आपत्ति जनाए। उनले कांग्रेस बलियो बन्न नसकेकाले मुलुकको राष्ट्रियमाथि गम्भीर प्रश्न उठ्न थालेको धारणा राखे।

पार्टीलाई सुदृढ बनाउन आवश्यक रहेको बताउँदै सबैले सबैलाई विश्वास गर्ने वातावरण बनाउन आवश्यक रहेकामा शर्माको जोड छ।