काठमाडौँ। प्रहरीले सुर्खेतबाट सुनसहित एकजना व्यवसायीलाई पक्राउ गरेको छ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले वीरेन्द्रचोकका व्यवसायी श्यामसुन्दर अग्रवाललाई सोमबार अपराह्न पक्राउ गरेको हो।
सुनका गरगहना र नगदसहित अग्रवाललाई पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) जयराज सापकोटाले बताए।
अग्रवाल कपडा व्यवसायी हुन्। उनले गैरकानुनी रूपमा सुन संकलन गरी बिक्री गर्ने गरेको पाइएको छ। “सुनका गहनाहरू फेला परेका छन्, प्रहरीले मुचुल्का उठाइरहेको छ,” सापकोटाले भने।
प्रहरीका अनुसार एक किलोबराबरको सुन बरामद भएको छ। अग्रवालको साथबाट सात लाख ५० हजार रुपैयाँ भारु पनि बरामद भएको छ।