काठमाडौँ। नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले नेपालको अर्थतन्त्रलाई नयाँ दिशा दिनेगरी बजेट आएको बताएका छन्।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको बजेटपछिको अन्तर्क्रियामा निजी क्षेत्रको मनोबल बढाउने गरी आएको बताएका हुन्।
अध्यक्ष पाण्डेले पछिल्ला वर्षमा नेपालको उपभोग्य वस्तुको माग घटेको समयमा अर्थतन्त्र चलायमान हुने गरी बजेट आएको बताए।
“निजी क्षेत्रको मनोबल बढाउने, अर्थतन्त्रलाई चलायमान बनाउने गरी आएको छ,” उनले भने, “अहिले बजारमा माग बढ्न नसकेकामा बजेटका कार्यक्रमले यसलाई सम्बोधन गर्ने देखिन्छ।”
सरकराले २६० वस्तुमा हटाएको अन्त:शुल्कले कष्ट अफ बिजनेस घटाउने बताए। उद्योग परिसंघले माग गर्दै आएको आयकर ऐनको दफा ५७ संशोधन स्वागतयोग्य भएको बताए।
“कर विवाद समाधान, लगानीसम्बन्धी दर्जनौँ कानुन संशोधनले निजी क्षेत्रलाई प्रोत्साहन गर्नेछ,” उनी भन्छन्,“मोतिपुर र मयूरधामजस्ता औद्योगिक क्षेत्र निर्माण निजी क्षेत्रलाई दिने विषय आएको छ। हामीले मागेकै विषय हुन्छ।”
सरकारले बजेटमार्फत वन, खानी र प्राकृतिमा आधारित उद्योग बढाउने नीतिले उत्पादनमूलक उद्योग बढाउन सहयोग पुग्ने विश्वास गरेका छन्।
बजेटले निजी क्षेत्रका धेरै विषय सम्बोधन गरे पनि केही माग सम्बोधन नभएको बताए। उनले भारतलगायत देशबाट आयातित वस्तुमा गुणस्तर मापदण्ड लागु गर्ने माग गरे पनि बजेटमा उल्लेख नभएको बताए।
निजी क्षेत्रबाट लामो समयदेखि माग हुँदै आएको उत्पादनमूलक उद्योगमा हदबन्दी नलाग्ने माग गरेको थियो। यो विषय सम्बोधन हुन सकेको छैन।
डेटा माइनिङलगायत प्राविधि उद्योगको विषयमा अझै स्पष्ट नभएको उनको भनाइ छ। परिसंघले कृषि क्षेत्रको विकासका लागि कोल्ड स्टोरेज, बजारीकरणका लागि चेन निर्माणसम्बन्धी थप कार्यक्रम अपेक्षा गरेको बताए। निजी क्षेत्रले बजेटको प्रभावकारी कार्यान्वयनमा सहयोग गर्ने उनको भनाइ छ।