‘समस्या समाधान गर्न खोजेँ‚ विपक्षीको साथ पाइनँ’
काठमाडौँ। सभामुख डोलप्रसाद अर्यालले संसद्मा देखिएको समस्या समाधान गर्न खोज्दा विपक्षी दलको साथ नपाएको बताएका छन्।
सदनको काम-कारबाही अघि बढाउन विपक्षी दलका सांसदहरूले अवरोध गरेपछि सभामुख अर्यालले सोमबार पटक-पटक संवाद गर्न बोलाए पनि समय नपाएको गुनासो गरे। उनले सभामुखको हैसियतले आफूले संवादलाई प्राथमिकता दिए पनि विपक्षी दलबाट नजरअन्दाज भएपछि प्रक्रियाअनुसार अघि बढ्ने अवस्था आएको धारणा राखे।
सभामुख अर्यालले आइतबार प्रतिनिधिसभा नियमावली पारित गर्ने प्रक्रियालाई पनि संविधान र नियमावलीअनुसारै अघि बढाइएको उल्लेख गरे। सभामुखको हैसियतले आफूले विधेयकमा आएका संशोधनलाई निर्णयार्थ मात्रै प्रस्तुत गर्न सक्ने भन्दै उनले स्वीकार गर्ने या अस्वीकृत गर्ने भन्ने सांसदहरूकै विषय भएको बताए।
सभामुख अर्यालले आफूले प्रक्रियामा काम गरिरहेको र कुनै नियम नमिचेको समेत बताए।
त्यस्तै उनले सदनमा विरोधको प्रतिस्पर्धा भन्दा पनि देश, राष्ट्र, राष्ट्रियता र जनताको जनजीविकाको विषयमा प्रतिस्पर्धा गर्न सुझाए।
बैठक अवरुद्ध भइरहँदा सभामुख अर्यालले संयमित र गम्भीर मुद्रामा सदन सञ्चालन गर्ने प्रयास गरेको देख्न सकिन्छ। बैठक सञ्चालनका क्रममा उनले पटक-पटक दलहरूबीच सहमति खोज्नुपर्ने आवश्यकता औँल्याएका थिए।
प्रतिपक्षीको विरोध जारी रहँदा सभामुखको अनुहारमा देखिएको भावले वर्तमान राजनीतिक गतिरोधप्रति चिन्ता र संवेदनशीलता झल्किएको देख्न सकिन्छ। संसद् नियमित गर्ने विषयमा दलबीच सहमति खोज्ने प्रयास जारी रहँदा सदनमा सभामुखका अनेक मुद्राका तस्बिर कैद भएका छन्। हेरौँ सदनमा सभामुखका अनेक मुद्रा :
