काठमाडौँ। भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता हुने भएको छ।
भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा भारतको राजधानी नयाँ दिल्लीमा रहेका सभापति लामिछाने र गृहमन्त्री शाहबीच भेटवार्ता गर्ने कार्यक्रम रहेको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए।
भेटमा नेपाल-भारत सम्बन्ध, आपसी हित, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य तथा दुई देशका राजनीतिक दलहरुबीचको संवाद र सहकार्यका विषयमा विचारविमर्श हुने अपेक्षा गरिएको उनको भनाइ छ।
सभापति लमिछाने भाजपाका अध्यक्ष नबिनको निमन्त्रणामा पाँच दिने भारत भ्रमणका लागि सोमबार भारत प्रस्थान गरेका हुन्। भ्रमणका क्रममा उनले भारतमा बसोबास गर्ने नेपाली समुदाय तथा पार्टीका शुभेच्छुकहरूसँग भेटघाट गर्नुका साथै अयोध्याको भ्रमण पनि गर्नेछन्।
सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी श्रीमति निकिता पौडेल, रास्वापाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, रास्वाका सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहरा, र स्वकीय सचिव प्रदीप आचार्य छन्।
यसअघि आजै सभापति लामिछानेले भाजपा मुख्यालयमा अध्यक्ष नवीनलगायतका शीर्ष नेताहरूसँग भेटघाट गरेका थिए।