नुवाकोट। नुवाकोटको बेलकोटगढी नगरपालिका–७ रातामाटे क्षेत्रका स्थानीय बासिन्दाले यहाँ सञ्चालनमा रहेको हिरा टेक्सटाइल बाट फैलिएको प्रदूषण नियन्त्रण गर्न माग गरेका छन्।
उद्योगबाट निस्कने धुवाँ, धुलो तथा अत्यधिक आवाजका कारण आसपासका बासिन्दा प्रभावित भएका छन्।
प्रदूषणका कारण वातावरण तथा जनस्वास्थ्यमा नकारात्मक असर परेको भन्दै स्थानीयले सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएका छन्। तर, सम्बन्धित निकायले समस्या समाधानका लागि आवश्यक चासो नदेखाएको स्थानीयको आरोप छ।
स्थानीयवासीका अनुसार उद्योगबाट निस्कने धुवाँ, धुलो र आवाजको समस्या विगत एक दशकदेखि निरन्तर भोग्दै आएका छन्। उनीहरूले लामो समयदेखि उद्योगको प्रदूषणविरुद्ध आवाज उठाउँदै आए पनि उद्योग व्यवस्थापनले स्थानीयको गुनासोलाई बेवास्ता गर्दै उद्योग सञ्चालन गरिरहेको दाबी गरेका छन्।
स्थानीयले उद्योगबाट हुने प्रदूषणको प्रभावबारे सम्बन्धित निकायले तत्काल अनुगमन गरी आवश्यक नियन्त्रणका उपाय अवलम्बन गर्न माग गरेका छन्।
स्थानीयका अनुसार करिब १० वर्षदेखि निरन्तर सञ्चालनमा रहेको उक्त उद्योग दैनिक बिहान ५ बजेदेखि साँझ ८ बजेसम्म चल्ने गरेको छ।