काठमाडौँ। कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ न्याय प्राप्त हुने पूर्ण विश्वासका साथ स्वदेश फर्किएका छन्।
लामो समयदेखि अमेरिकामा बस्दै आएका कट्टेलले सामाजिक सञ्जालमार्फत आफू न्यायको अपेक्षा र विश्वास बोकेर मातृभूमि फर्किएको बताएका हुन्।
उनले लेखेका छन्, “न्याय अवश्य मिल्ने छ भन्ने पूर्ण आशा र अटल विश्वास बोकेर आफ्नै मातृभूमिको आँगनमा फर्किएको छु।”
कट्टेलले नेपालमै रहेर जीवनका सुखदुःख बाँड्दै विगतका पीडादायी अनुभव र घाउहरू निको पार्ने अवसर प्राप्त हुने आशा पनि व्यक्त गरेका छन्।
“आशा छ, न्यायको अनुभूति गर्दै आफ्नै माटोको काखमा सुखदुःख साटेर जीवनका घाउहरू निको पार्ने अवसर अवश्य प्राप्त हुनेछ,” उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।