काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद भरतबहादुर खड्काले गृहमन्त्री सुधन गुरुङलाई पुनः गृहमन्त्री बनाएको भन्दै आपत्ति जनाएका छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद खड्काले बहालवाला गृहमन्त्रीको आचरण र कार्यशैलीमाथि गम्भीर प्रश्न उठेपछि गठन गरिएको छानबिन समितिको प्रतिवेदन नै रहस्यको घेरामा पारिएको दाबी गरे।
उक्त समितिको प्रतिवेदनलाई संसद् र जनतासामु सार्वजनिक नै नगरी सम्बन्धित व्यक्तिलाई हतार-हतार पुनः गृहमन्त्रीको जिम्मेवारी सुम्पिएको भन्दै उनले सरकारको नियतमाथि कडा आपत्ति जनाए।
संसद्मा आक्रोश पोख्दै उनले गृहमन्त्रीमाथि प्रश्न उठेपछि त्यसलाई सामसुम पार्न एउटा ‘छलछाम समिति’ बनाइएको टिप्पणी गरे। समितिले भित्रभित्रै चोख्याएर प्रतिवेदन बुझाएको बजारमा सुनिए पनि उक्त प्रतिवेदनलाई लुकाएर उनै विवादित व्यक्तिलाई पुनः गृहमन्त्री बनाइनुले सरकारको बद्नियत छर्लङ्ग पारेको उनको भनाइ थियो।