काठमाडौँ
००:००:००
३ असार २०८३, बुधबार

३ असार २०८३
प्रतीकात्मक तस्बिर।
अ+
अ-

काठमाडौं । अमेरिका र इरानबीच भएको शान्ति सम्झौता तथा स्ट्रेट अफ हर्मुज पुनः सञ्चालनमा आउने अपेक्षासँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीन महिनायताकै न्यून स्तरमा झरेको छ। विश्व ऊर्जा आपूर्तिको प्रमुख मार्ग मानिने हर्मुज जलडमरूमध्य खुल्ने संकेतले बजारमा आपूर्ति अवरोधको चिन्ता कम भएपछि तेलको मूल्यमा तीव्र गिरावट आएको हो।

मंगलबार अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट कच्चा तेलको मूल्य ४ प्रतिशतले घटेर प्रतिव्यारेल ७९.८७ अमेरिकी डलरमा पुगेको छ। पछिल्लो तीन महिनामा पहिलोपटक ब्रेन्ट तेलको मूल्य ८० डलरभन्दा तल झरेको हो।

यस्तै, अमेरिकी सूचक वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लुटीआई) कच्चा तेलको मूल्य ४.५ प्रतिशतले घटेर प्रतिव्यारेल ७७.१६ डलरमा कायम भएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच स्विट्जरल्यान्डमा हुने शान्ति सम्झौतापछि स्ट्रेट अफ हर्मुज पूर्ण रूपमा सञ्चालनमा आउने बताएका छन्। यसअघि फेब्रुअरी १८ मा अमेरिका र इजरायलले इरानमाथि सैन्य कारबाही गरेपछि इरानले प्रतिक्रिया स्वरूप उक्त रणनीतिक समुद्री मार्गमा तेल ट्याङ्करको आवतजावत अवरुद्ध गरेको थियो।

हर्मुज जलडमरूमध्य विश्वको सबैभन्दा महत्त्वपूर्ण ऊर्जा ढुवानी मार्गमध्ये एक मानिन्छ। विश्वभर आपूर्ति हुने कच्चा तेल र तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) को ठूलो हिस्सा यही मार्ग हुँदै ओसारपसार हुने भएकाले त्यहाँको तनावले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा प्रत्यक्ष प्रभाव पार्ने गरेको छ।

ब्रोकर कम्पनी ट्रेड नेसनका वरिष्ठ बजार विश्लेषक डेभिड मोरिसनका अनुसार हर्मुज जलडमरूमध्य पुनः सञ्चालनमा आउनु शान्ति सम्झौताबाट प्राप्त हुने सबैभन्दा सकारात्मक र तत्काल प्रभावमध्ये एक हो।

उनले तेल बजारमा आपूर्ति अवस्था क्रमशः सहज बन्दै गएको संकेत देखिन थालेको उल्लेख गर्दै इरानले जहाजमाथि कर लगाउने चेतावनी दिए पनि बजार सहभागीहरू अहिले आपूर्ति जोखिम घट्दै गएको निष्कर्षमा पुगेको बताए।

विश्लेषकहरूका अनुसार मध्यपूर्वमा तनाव कम हुने र ऊर्जा आपूर्ति पुनः सामान्य हुने अपेक्षाले बजारमा सकारात्मक संकेत दिएको छ। यही कारण पछिल्ला दिनमा तीव्र उतारचढाव देखिएको तेल बजारमा मूल्य घट्ने क्रम जारी रहेको छ।

ऊर्जा आपूर्तिको प्रमुख नाकाका रूपमा रहेको स्ट्रेट अफ हर्मुज पूर्ण रूपमा खुल्न सकेमा आगामी दिनमा तेलको मूल्यमा थप दबाब पर्न सक्ने र विश्वव्यापी ऊर्जा बजारमा स्थिरता आउने अपेक्षा गरिएको छ।