६ असार २०८३
अ+
अ-

काठमाडौँ। गृह मन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित गुनासा, उजुरी तथा सुझाव संकलन गर्न ‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा ल्याएको छ। मन्त्रालयले सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र छिटोछरितो बनाउने उद्देश्यले गुनासो व्यवस्थापन शाखाअन्तर्गत उक्त कल सेन्टर स्थापना गरिएको जनाएको छ।

मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिअनुसार सर्वसाधारणले टोल–फ्रि नम्बर १११२, इमेल गुनासो एट मोहा डट जीओभी डट एनपी, मोबाइल तथा ह्वाट्सएप नम्बर ९८५१३६०६०३ र क्यूआर कोडमार्फत गुनासा, उजुरी तथा सुझाव दर्ता गर्न सक्नेछन्।

गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेका अनुसार मन्त्रालय मातहतका निकायबाट प्रवाह हुने सेवासम्बन्धी सबै प्रकारका गुनासा कल सेन्टरमार्फत दर्ता गर्न सकिने व्यवस्था गरिएको छ। जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने सेवा प्रभावकारी नभएको, सेवाग्राहीका गुनासो सम्बोधन नभएको वा अनावश्यक ढिलासुस्ती भएको विषयमा समेत उजुरी गर्न सकिनेछ।

त्यस्तै, प्रहरी कार्यालयले जाहेरी दर्ता गर्न नमानेको, अनुसन्धान वा सेवा प्रवाहमा समस्या भएको तथा सुरक्षासम्बन्धी विषयमा चासो र गुनासा भएमा पनि कल सेन्टरमार्फत जानकारी गराउन सकिने मन्त्रालयले जनाएको छ।

कुनै व्यक्ति वा समूहले सरकारी काम गरिदिने, फाइल अगाडि बढाइदिने वा सेवा छिटो गराइदिने भन्दै रकम मागेमा त्यसबारे पनि मन्त्रालयमा सिधै उजुरी दिन सकिने व्यवस्था गरिएको छ। यस्ता गतिविधिलाई नियन्त्रण गर्न नागरिकको सूचनालाई महत्त्वपूर्ण आधारका रूपमा लिइने मन्त्रालयको भनाइ छ।