इस्लामाबाद। पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफ र सेना प्रमुख फिल्ड मार्शल सैयद असिम मुनीर आइतबार स्विट्जरल्याण्डको बर्गेनस्टक प्रस्थान गरेका छन्।
उनीहरू इस्लामाबाद समझदारीपत्र (एमओयू) कार्यान्वयनसम्बन्धी उच्चस्तरीय वार्तामा सहभागी हुन गएको विदेश मन्त्रालयले जनाएको छ। जुन १७ मा इस्लामाबाद एमओयूमा हस्ताक्षर भएपछि पहिलो औपचारिक संवादका रूपमा हुने उक्त वार्तामा इरान, संयुक्त राज्य अमेरिका र कतारका वरिष्ठ प्रतिनिधिमण्डल सहभागी हुने जनाइएको छ।
पाकिस्तानले सहजीकरण गरेको सम्झौता अन्तर्गत वाशिङ्टन र तेहरानबीच भएका समझदारीको कार्यान्वयनलाई अगाडि बढाउने विषयमा छलफल केन्द्रित रहने अपेक्षा गरिएको छ।
विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा पाकिस्तानले क्षेत्रीय संवाद र दीर्घकालीन शान्ति प्रवर्द्धनका प्रयासलाई निरन्तर समर्थन गर्ने उल्लेख गरिएको छ।
वार्ताका क्रममा प्रधानमन्त्री शरिफले इरान, कतार, स्विट्जरल्याण्ड र संयुक्त राज्य अमेरिकाका प्रतिनिधिमण्डलसँग भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ। ती भेटहरूमा क्षेत्रीय स्थिरता र संवादप्रतिको पाकिस्तानको प्रतिबद्धता पुनः पुष्टि गरिने अपेक्षा गरिएको छ।