काठमाडौँ
००:००:००
९ असार २०८३, मंगलवार

९ असार २०८३
अ+
अ-

काठमाडौँ। फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नर्वेले सेनेगललाई हराउँदै विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ।

न्यूयोर्क न्यू जर्सी स्टेडियममा आज बिहान सम्पन्न खेलमा नर्वेले सेनेगललाई ३–२ गोलअन्तरले हराउँदै विश्वकपको नकआउट चरण प्रवेश गरेको हो। नर्वेको जितमा एर्लिङ हाल्यान्डले दुई गोल गरे भने मार्कस होल्मग्रेन पेडरसनले एक गोल थपे।

यता सेनेगलका लागि भने इस्माइला सारले दुई गोल गरे। खेलको ४३ औँ मिनेटमा मार्कसले गोल गर्दै नर्वेलाई पहिलो अग्रता दिलाए। त्यस्तै नर्वेका अर्का खेलाडी एर्लिङले खेलको ४८ औँ मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए।

त्यसपछि खेलको ५३ औँ मिनेटमा सेनेगलका इस्माइला सारले गोल गर्दै खेललाई २–१ मा ल्याए। त्यसपछि खेलको ५८औँ मिनेटमा हाल्यान्डले व्यक्तिगत दोस्रो गोल गर्दै नर्वेको अग्रता तेब्बर बनाए।

खेलको दोस्रो हाफको अतिरिक्त समयमा इस्माइलाले व्यक्तिगत दोस्रो गोल गर्दे खेलमा फर्किन कोसिस गरेपनि सफल हुन सकेनन। त्यसपछि खेलमा गोल हुन सकेन र नर्वेले सेनेगलमाथि ३–२ गोलको जित निकाल्यो।

यस जितसँगै नर्वे छ अङ्कसहित समूह ‘आइ’ को दोस्रो स्थानमा रहेको छ। समान छ अंक रहेको फ्रान्स गोलअन्तरका आधारमा शीर्ष स्थानमा छ। नर्वे र फ्रान्सले नकआउट चरणमा स्थान पक्का गरिसकेका छन्। दुवै खेलमा पराजित भएका सेनेगल र इराक अङ्कविहीन छन्।

आज बिहान सम्पन्न अर्को खेलमा फ्रान्सले इराकलाई पराजित गर्दै फिफा विश्वकप २०२६ को नकआउट चरणामा प्रवेश गरेको थियो। फिलाडेल्फिया स्टेडियममा भएको खेलमा इराकलाई ३–० ले हराउँदै फ्रान्स नकआउट चरणमा प्रवेश गरेको हो।