काठमाडौँ
००:००:००
१४ असार २०८३, आईतवार

१४ असार २०८३
तस्बिर : प्रदीपराज वन्त/रासस
अ+
अ-

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले निर्वाचनमा धक्का खाए पनि समाप्त नभएको भन्दै फेरि उठेर प्रतिगमनलाई पराजित गर्ने बताएका छन्।

आइतबार काठमाडौंमा मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिले आफूहरूलाई कमजोर नठान्न चेतावनी दिए।

उनले आफूहरु धुलो टक्टक्याएर फेरि उठ्ने बताए। उनले भने, ‘हामीले देश बर्बाद पारेका होइनौँ। झुटा प्रचार गरेर हामीलाई बदनाम गर्ने र चरित्र हत्या गर्ने काम गरियो। हामी अहिले लडेका छौँ, तर मरेका होइनौँ। फेरि उठ्छौँ, प्रतिगमनवादीहरूसँग लड्छौँ र पराजित गर्छौँ। हाम्रो विजय अवश्यम्भावी छ।’

उनले वर्तमान सरकार प्रतिगमनको उपज भएको आरोप लगाउँदै लोकतान्त्रिक र वामपन्थी शक्तिलाई कमजोर पार्ने उद्देश्यका साथ वैधानिक सरकार हटाइएको दाबी गरे।

ओलीले एमालेविरुद्ध झुटा प्रचार, अफवाह र चरित्रहत्या गरेर जनतामा भ्रम सिर्जना गरिएको आरोप पनि लगाए। उनले वर्तमान सरकारले संविधानविपरीत अध्यादेश ल्याएको, श्रमिक अधिकार कमजोर बनाएको तथा राष्ट्रिय हितविपरीत गतिविधि गरेको आरोप लगाउँदै लोकतान्त्रिक र वामपन्थी शक्तिहरूलाई प्रतिगमनविरुद्ध एकजुट हुन आह्वान गरे।

उनले जननेता मदन भण्डारीले छोटो समयमै नेपाली कम्युनिष्ट आन्दोलनमा असाधारण योगदान दिएको बताए। ओलीले सोभियत संघको विघटन र पूर्वी युरोपका समाजवादी शासन पतनपछि विश्वभर कम्युनिष्ट आन्दोलन संकटमा परेका बेला मदन भण्डारीको नेतृत्वमा जनताको बहुदलीय जनवादको अवधारणा अघि सारिएको स्मरण गरे।

ओलीले एमालेको गन्तव्य ’समृद्ध नेपाल, सुखी नेपाली’ भएको उल्लेख गर्दै त्यसलाई नै समाजवादको व्यावहारिक स्वरूपका रूपमा व्याख्या गरे।