काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति(पीआर) लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित चार कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ।
मन्त्रालयका अनुसार बिदा अवधि सकिएपछि आफ्नो कार्यरत कार्यालयमा हाजिर नभई विदेशमै बसोबास गरिरहेको पाइएपछि उनीहरूमाथि कानुनी प्रक्रिया अघि बढाइएको मन्त्री प्रतिभा रावलले जानकारी दिएकी छन्।
उनीहरुले अस्थायी आवासीय अनुमति, स्थायी आवासीय अनुमति (पीआर) तथा डाइभर्सिटी भिसा (डीभी) प्राप्त गरेको खुलेको मन्त्रालयले जनाएको छ। मन्त्रालयले निजामती सेवा ऐन, २०४९ अनुसार उनीहरूलाई भविष्यमा सरकारी सेवाका लागि समेत अयोग्य ठहरिने गरी विभागीय कारबाही अघि बढाउनुपर्ने अवस्था देखिएको उल्लेख गरेको छ।
मन्त्रालयले सम्बन्धित चारै कर्मचारीलाई सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र चित्तबुझ्दो आधार, कारण र प्रमाणसहित लिखित सफाइ पेश गर्न निर्देशन दिएको छ। तोकिएको अवधिभित्र सफाइ पेश नगरे वा पेश गरिएको स्पष्टीकरण सन्तोषजनक नभए प्रचलित कानुनबमोजिम थप कारबाही प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ।