विराटनगर। शनिबार बिहान ठीक ११ बजे। विराटनगर विमानस्थलमा सुरक्षाको कडा प्रबन्ध थियो। भीआईपी मुभमेन्टका कारण सुरक्षा निकायका प्रमुखहरू र उच्च अधिकारीहरू स्वागतका लागि रनवे (धावनमार्ग) नजिकै लहरै उभिएका थिए।
तर, विमानबाट ओर्लिएका गृहमन्त्री सुधन गुरुङको गेटअप भने अन्य मन्त्रीहरूको भन्दा अलि भिन्न देखिन्थ्यो। टाउकोमा टोपी, आँखामा कालो चस्मा र सेतो टी–सर्टमा सजिएका गृहमन्त्री औपचारिक तामझामभन्दा बढी अनौपचारिक र फूर्तिलो शैलीमा देखिए। सुरक्षा अधिकारीहरूको सलामी र स्वागत ग्रहण गरेर उनी यात्रु कक्ष (एराइभल हल) तर्फ अघि बढे।
ठीक त्यही बेला एउटा यस्तो दृश्य देखियो, जसले त्यहाँ उपस्थित सबैको ध्यान खिच्यो। विमानस्थलको सुरक्षा व्यवस्था चुस्त बनाउन प्रहरीले तालिमप्राप्त कुकुर परिचालन गरेको थियो।
यात्रु कक्षबाट बाहिरिँदै गर्दा गृहमन्त्री गुरुङको नजर ती कुकुरमा पर्यो। प्रायः सुरक्षा घेराभित्र गम्भीर मुद्रामा हिँड्ने मन्त्रीहरूको स्वभावविपरीत गुरुङको पाइला एकाएक रोकियो। उनी त्यहाँ सुरक्षामा खटिएको कुकुरसँग ‘आत्मीय’ शैलीमा झुम्मिन पुगे।
सुरुमा उनले कुकुरलाई स्नेहपूर्वक सुम्सुम्याए। मन्त्रीले देखाएको यो माया देखेपछि कुकुरले पनि पुच्छर हल्लाउँदै सकारात्मक प्रतिक्रिया दियो। अचम्म त के भने, गृहमन्त्रीले आफ्नो दाहिने हात कुकुरको मुखै नजिक पुर्याए र कुकुरले पनि स्नेहका साथ उनको हात चाट्न थाल्यो।
पशुपक्षी र जनावरप्रति गृहमन्त्रीले देखाएको यो दुर्लभ र अस्वभाविक लाग्ने आत्मीय दृश्यलाई त्यहाँ उपस्थित सुरक्षाकर्मी र सर्वसाधारणले निकै चासोपूर्वक हेरेका थिए। केही मिनेट कुकुरसँग ‘प्रेम’ साटासाट गरेपछि उनी आफ्नो कार्यतालिकातिर अघि बढे।
विमानस्थलबाट उनी सिधै जिल्ला प्रशासन कार्यालय मोरङको नवनिर्मित भवन निरीक्षणका लागि पुगे। निरीक्षणका क्रममा उनले मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलसँग जिल्लाको समग्र वस्तुस्थितिबारे मसिनो गरी जानकारी लिए। भवनको अवलोकनपछि उनले प्रशासनको जग्गा र सेवा प्रवाहको विषयमा चासो देखाए।
‘‘मलाई यहाँ यति धेरै जग्गा छ भन्ने थाहै थिएन, आज प्रत्यक्ष निरीक्षणका क्रममा देखेँ,’ प्रमुख जिल्ला अधिकारीसँग कुरा गर्दै उनले भने, ‘‘जग्गा पर्याप्त रहेछ। एउटै परिसर र भवनबाट एकीकृत सेवा प्रवाह गर्न सके सेवाग्राहीलाई धेरै सहज हुने देखिन्छ।’’
प्रशासन कार्यालयको निरीक्षण सकेपछि गृहमन्त्री अर्को एउटा फरक शैलीमा देखिए। कार्यालय परिसर बाहिरै रहेको हनुमान मन्दिरमा पुगेर उनले केही बेर श्रद्धापूर्वक पूजापाठ गरे। मन्त्रीलाई नजिकबाट देख्न र तस्बिर खिचाउन आतुर शुभचिन्तकहरूको भिडलाई उनले निराश पारेनन्। मुस्कुराउँदै सबैसँग तस्बिर खिचाएपछि उनी कोशी प्रदेश प्रहरी कार्यालय रानीतर्फ प्रस्थान गरे।
अहिले उनी प्रदेश प्रहरी कार्यालयमा दिवा खाजा र सुरक्षा निकायसँगको विशेष ब्रिफिङमा व्यस्त छन्। त्यहाँको कार्यक्रम सकिएलगत्तै गृहमन्त्री गुरुङ डिआइजी कार्यालयबाट करिब दुई किलोमिटर दक्षिणमा रहेको नेपाल– भारत सीमा नाकाको निरीक्षणमा निस्कने कार्यक्रम रहेको छ।