काठमाडौँ
००:००:००
२२ असार २०८३, सोमबार

२२ असार २०८३
अ+
अ-

विराटनगर। अभिषेक गिरीलाई थुनामुक्त गरेर अनुसन्धान प्रक्रिया अघि बढाउन जिल्ला अदालत मोरङले आदेश दिएको छ। न्यायाधीश टंकबहादुर महतको इजलासले उच्च अदालतको अघिल्लो आदेश सदर गर्दै गिरीलाई बाहिरै राखेर अनुसन्धान गर्न सोमबार आदेश दिएको हो।

जिल्ला प्रहरी कार्यालय मोरङले गिरीलाई ‘संगठित अपराध’ र ‘सम्पत्ति शुद्धीकरण’ मुद्दामा थप अनुसन्धानका लागि म्याद थप गर्न अदालत उपस्थित गराएको थियो। तर अदालतले गिरीलाई थुनामुक्त गर्न आदेश दिए पनि उनका अन्य तीन सहयोगीको हकमा भने म्याद थप गरेको छ।

गिरीका सहयोगीहरू सञ्जय मण्डल, विनोदकुमार सिंह र विजय कामतलाई ‘आपराधिक लाभ’ मुद्दामा अनुसन्धानका लागि सात दिन थुनामा राख्न अनुमति दिइएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए।

यसअघि आपराधिक लाभ मुद्दामा पक्राउ परेका गिरीको म्याद सोमबार सकिँदै थियो। सोही दिन प्रहरीले थप दुई गम्भीर मुद्दामा म्याद थपको माग गरे पनि अदालतले त्यसलाई अस्वीकार गरिदिएको हो। १७ असारमा उच्च अदालत विराटनगरले गिरीले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट खारेज गरे पनि प्रहरीलाई अनुसन्धानका लागि निश्चित समयसीमा तोकिदिएको थियो।

उच्च अदालतका न्यायाधीशद्वय गणेश ठाकुर र नारायणप्रसाद रेग्मीको संयुक्त इजलासले पाँच दिनभित्र अनुसन्धान सकेर अभियोग पत्र दर्ता गर्न वा अनुसन्धान नसकिए थुनामुक्त गरेर बाहिरै राखी प्रक्रिया अघि बढाउन निर्देशनात्मक आदेश दिएको थियो। जिल्ला अदालतले सोही निर्देशनात्मक आदेशको जगमा टेकेर गिरीलाई थुनामुक्त गर्ने आदेश सुनाएको हो।

मोरङ कारागारका कैदीबन्दीको रासन-भत्ता र श्रमको पारिश्रमिक असुली गरेको आरोपमा गिरीलाई गत १३ असारमा विराटनगर ८, मधुमारास्थित उनकै निवासबाट प्रहरीले नियन्त्रणमा लिएको थियो। कारागारभित्रका कैदीबन्दीको रासन-भत्ता र श्रमको पारिश्रमिकमा आर्थिक शोषण गरेको उजुरीका आधारमा उनीमाथि अनुसन्धान सुरु गरिएको थियो। गिरी थुनामुक्त भए पनि उनीमाथिको अनुसन्धान भने जारी रहने प्रहरीले जनाएको छ।