खिचिक्क
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले पुतलीसडकबाट बागबजार हुँदै रत्नपार्क जाने सडक खण्डको टुकुचा खोलामा बक्स कल्भर्ट निर्माण सुरु गरेको छ।
कल्भर्ट निर्माणको काम आउँदो चैत मसान्तभित्र सम्पन्न गर्ने गरी अर्काइभ स्टार निर्माण सेवा प्राइभेट लिमिटेड पक्षसँग सम्झौता भएको छ। यो कल्भर्ट सडकतर्फ पाँच मिटर र पानी वहाव हुनेतर्फ १४ मिटरको हुनेछ।
अहिले त्यहाँ पानीको निकासका लागि ह्युम पाइप राखिनेछ। कल्भर्ट निर्माणको काम प्रारम्भ भएसँगै हाललाई सो सडक आवागमनमा पूर्ण बन्द गरिएको छ।
डिल्लीबजार पुतलीसडक चोक हुँदै बागबजारतर्फ जाने र रामशाह पथ हुँदै पुतलीसडक पुगेर बायाँ मोडिएर बागबजार जाने सवारी साधनका लागि वैकल्पिक मार्गको व्यवस्थापन गरिएको छ।
यसको सम्झौता रकम ५७ लाख ७२ हजार ६९४ रुपैयाँ छ। कल्भर्ट निर्माणको क्रममा यो सडक भएर हिँड्ने सर्वसाधारण जोखिम मोलेर हिँड्नु परेकाले हाल महानगरले पैदल यात्रीलाई समेत निषेध गरी निर्माण कार्य अगाडि बढाउने जानकारी दिएको छ।
हेर्नुहोस् थप तस्बिर :
