प्रतिनिधिसभा निर्वाचन
राष्ट्रिय दलको मापदण्डअन्तर्गत यसपालि संसद् पुग्ने सबै पार्टी राष्ट्रिय दल
२१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा होमिएका ६५ दलमध्ये जम्मा ६ पार्टी राष्ट्रिय दल बन्ने देखिएको छ। अन्तिम चरणमा पुगेको मतगणनाले संसद् पुग्ने सबै पार्टी राष्ट्रिय दल बन्ने देखाएको छ।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५२ मा राष्ट्रिय दलको मान्यताबारे मापदण्ड तोकिएको छ। जसमा प्रत्यक्षतर्फ एक सिट र समानुपातिक प्रणालीतर्फ कुल खसेको सदर मतको तीन प्रतिशत पार गर्ने मात्र राष्ट्रिय दल बन्ने उल्लेख छ। यो कानुनी व्यवस्थाको सीमाभित्र ६ दल मात्रै अटाउने देखिन्छ।
प्रत्यक्षतर्फ १२५ क्षेत्र जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिकतर्फको जारी मतगणनामा पनि सबैभन्दा धेरै मत पाएर अग्रस्थानमा छ। दोस्रो स्थानमा नेपाली कांग्रेस, तेस्रोमा नेकपा (एमाले), चौथोमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा), पाँचौँमा श्रम संस्कृति पार्टी र छैटौँमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिकको थ्रेसहोल्ड पार गरेका छन्।
यीबाहेकका दलले प्रत्यक्षतर्फ एक सिट पनि जित्न सकेका छैनन् र समानुपातिकमा पनि थ्रेसहोल्ड पार गर्न सक्ने देखिँदैन। यसले प्रतिनिधिसभामा पुग्ने सबै दल राष्ट्रिय दल हुनेछन्। जबकि, यसअघिको प्रतिनिधिसभामा केही पार्टीले सामान्य दलका रूपमा प्रतिनिधित्व गरेका थिए। तर, यस पटकको चुनावबाट संसद्मा सामान्य दल नै नहुने देखिएको छ।
कुनै दलले प्रत्यक्षतर्फ एक सिट नजिती समानुपातिकतर्फको तीन प्रतिशत थ्रेसहोल्ड पार गरेको छ भने सामान्य दलका रूपमा प्रतिनिधिसभामा भाग लिनेछ। यस्तै, कुनै दलले प्रत्यक्षतर्फ एक सिट मात्रै जितेको छ भने पनि सामान्य दलका रूपमा संसद्मा प्रतिनिधित्व गर्नेछ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फको कुल सदर मतको तीन प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलबाट मात्र उम्मेदवार निर्वाचित हुन्छन्। यो प्रावधानअनुसार तीन प्रतिशतको थ्रेसहोल्ड नकटाउने दलले पाएको मतको गणना हुँदैन, अर्थात् त्यो मत खेर जान्छ।
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनबाट पाँच वटा राजनीतिक दल राष्ट्रिय दल बन्न सफल भएका थिए। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनबाट राष्ट्रिय दलको मान्यता पाउने दलको संख्या सात पुगेको थियो।
नयाँ संविधानमार्फत संघीयता लागु भएपछि पहिलो पटक २०७४ सालमा तीन वटै तहको निर्वाचन भएको थियो। त्यसैबेलादेखि समानुपातिक प्रणाली कार्यान्वयनमा आएको थियो।
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनबाट पाँच वटा राजनीतिक दल राष्ट्रिय दल बन्न सफल भएका थिए। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनबाट राष्ट्रिय दलको मान्यता पाउने दलको संख्या सात पुगेको थियो। अघिल्ला दुवै चुनावमा एमालेले समानुपातिकमा सबैभन्दा बढी मत ल्याएको थियो भने यस पटक तेस्रो नम्बरमा छ।
२७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्षबाट १६५ जना र समानुपातिक प्रणालीबाट ११० जना निर्वाचित हुन्छन्। कुल ५७ वटा चुनावचिह्नमा ६३ वटा राजनीतिक दलले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीका आधारमा थ्रेसहोल्ड काटेका दलका उम्मेदवार समावेशी आधारमा निर्वाचित हुन्छन्। समानुपातिकमा दलले प्राप्त गरेको कुल सदर मतलाई भाग गरी सिट संख्या बाँडफाँड गर्दा कुनै सिटका सम्बन्धमा एकभन्दा बढी दलको बराबर भागफल हुन आएमा आयोगले गोलाबाट निर्धारण गर्ने व्यवस्था छ।
यी थिए २०७९ का सात राष्ट्रिय दल
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा सात दलले राष्ट्रिय दलको मान्यता पाएका थिए। समानुपातिकतर्फ एमालेले सबैभन्दा बढी २८ लाख ४५ हजार ६४१ मत पाएको थियो। प्रत्यक्षतर्फ ४४ सिट जितेको एमालेले समानुपातिकतर्फ ३४ सांसद गरी ७८ सिट सुरक्षित गरेको थियो।
प्रत्यक्षतर्फ ५७ सिट जितेर पहिलो बनेको नेपाली कांग्रेस २७ लाख १५ हजार २२५ मत ल्याएर समानुपातिकमा दोस्रो दल बनेको थियो। प्रत्यक्ष र समानुपातिक दुवैतर्फ गरी कांग्रेस ८९ सिटसहित समग्रमा पहिलो दल बनेको थियो।
नेकपा (एकीकृत समाजवादी) प्रत्यक्षतर्फ १० सिट जित्न सफल भए पनि थ्रेसहोल्ड कटाउन नसक्दा उसको समानुपातिक मत खेर गएको थियो।
समानुपातिकमा ११ लाख ७५ हजार ६८४ मत ल्याएको नेकपा (माओवादी केन्द्र) तेस्रो बनेको थियो। प्रत्यक्षतर्फ १८ सिट र समानुपातिकबाट १४ सिट जितेर माओवादी केन्द्रले ३२ सिट ल्याएको थियो।
पहिलो पटक चुनावमा सहभागी भएको रास्वपा चौथो स्थानमा थियो। रास्वपाले प्रत्यक्षतर्फ सात र समानुपातिकमा १३ गरी २० सिट ल्याएको थियो।
राप्रपा प्रत्यक्षमा सात र समानुपातिकमा पनि सात गरी १४ सिट जितेर संसद्को पाँचौँ दल बनेको थियो। जनता समाजवादी पार्टी प्रत्यक्षमा सात र समानुपातिकमा पाँचसहित १२ सिट जितेर छैटौँ दल बनेको थियो।
प्रत्यक्षतर्फ एक सिट मात्र जितेको जनमत पार्टीले समानुपातिकमा पनि तीन प्रतिशत थ्रेसहोल्ड कटाएर राष्ट्रिय दलको मान्यता पाएको थियो। समानुपातिकमा तीन लाख ९४ हजार ६५५ मत ल्याएर उसले तीन सिट थपेको थियो।
नेकपा (एकीकृत समाजवादी) प्रत्यक्षतर्फ १० सिट जित्न सफल भए पनि थ्रेसहोल्ड कटाउन नसक्दा उसको समानुपातिक मत खेर गएको थियो। प्रत्यक्षमा मात्रै सिट जितेको एकीकृत समाजवादीसहितका दलहरूले प्रतिनिधिसभामा सामान्य दलका रूपमा प्रतिनिधित्व गरेका थिए।