काठमाडौँ। माल्दिभ्समा आयोजना हुने साफ यु-२० च्याम्पियनसिपमा नेपालले पहिलो खेल भुटानसँग खेल्ने भएको छ। दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले बुधबार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले मार्च २३ मा भुटानविरुद्ध खेल्ने छ।
नेपाल समूह ‘ए’ मा रहेको छ। उक्त समूहमा माल्दिभ्स, श्रीलंका र भुटान पनि छन्।
२३ मार्चमा हुने पहिलो खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गरेपछि नेपालले दोस्रो खेल २५ मार्चमा श्रीलंकासँग खेल्नेछ। समूह चरणको अन्तिम खेल २७ मार्चमा आयोजक माल्दिभ्ससँग हुनेछ।
समूह ‘बी’ मा बंगलादेश, भारत र पाकिस्तान छन्। समूह चरणपछि दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।
सेमिफाइनल खेल १ अप्रिलमा हुनेछन् भने फाइनल ३ अप्रिलमा खेलाइने छ।
माल्दिभ्सको राजधानी मालेस्थित नेशनल स्टेडियममा आयोजना हुने प्रतियोगिता मार्च २३ देखि अप्रिल ३ सम्म सञ्चालन हुने साफले जनाएको छ।