काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

टी-२० विश्वकप

सञ्जु श्यामसनको उत्कृष्ट इनिङका कारण भारतको अभूतपूर्व सफलता

२७ फाल्गुन २०८२
उपाधि जितेपछि सञ्जुसँग कुलदीप यादव (दायाँ)। तस्बिर : आईसीसी
अ+
अ-

टी-२० विश्वकपअन्तर्गत सुपर-८ को खेलमा जब भारत ७६ रनले दक्षिण अफ्रिकासँग हार्‍यो, त्यतिबेला पत्रकार सम्मेलनमा एक पत्रकारले कप्तान सूर्यकुमार यादवसँग प्रश्न गरेका थिए, ‘अभिषेक शर्मा लगातार शून्यमा आउट भइरहेका छन् र तिलक वर्माबाट पनि खासै रन बनिरहेको छैन। यस्तो अवस्थामा सञ्जु श्यामसनलाई किन मौका नदिएको?’

यसको जवाफमा भारतीय कप्तानले हाँस्दै भने, ‘म ककसलाई मात्र बाहिर राखूँ?’

उनको यो भनाइलाई त्यहाँ उपस्थित प्रायः सबै पत्रकारहरूले मजाकका रूपमा लिएका थिए। तर, जिम्बाबेविरुद्धको अर्को खेलमा सञ्जुलाई प्रारम्भिक ब्याटरका रूपमा उतार्दै भारतीय कप्तानले सबैलाई चकित पारे।

अझ, त्योभन्दा चकित सञ्जुको ब्याटले गर्‍यो। उनले सेमिफाइनल र फाइनलमा गरेको धुवाँधार ब्याटिङका कारण भारतले तेस्रो पल्ट टी-२० विश्वकपको उपाधि चुम्यो, त्यो पनि सन् २०२४ को उपाधिलाई ‘डिफेन्ड’ गर्दै।

प्रशिक्षकको प्राथमिकतामा नपरेका सञ्जु

सञ्जुको अन्तर्राष्ट्रिय क्रिकेटको सुरुआत सन् २०१५ बाट भएको हो। १९ जुलाई २०१५ मा उनले सातौँ नम्बरमा जिम्बाबेविरुद्ध हरारेमा ‘डेब्यु’ गरेका थिए। त्यतिबेला उनको प्रदर्शन खासै राम्रो थिएन र २४ बल खेल्दा एक चौकाको सहयोगले १९ रन मात्र बनाए। उक्त खेलमा भारत १० रनले पराजित भयो। उनलाई दोस्रो खेलमै ‘ड्रप’ गरियो। त्यसयता टिममा स्थापित हुन उनलाई नौ वर्ष लाग्यो। उनले वास्तविक ‘ब्रेक’ सन् २०२४ को अक्टोबर-नोभेम्बरमा पाएका हुन्। त्यतिबेला पाँच साताको अन्तरालमा हैदराबाद, डर्बन र जोहानेसबर्गमा बाङ्लादेश (१११ रन) र दक्षिण अफ्रिकाविरुद्ध (१०७ र अविजित १०९ रन) उनले तीन वटा शतक प्रहार गरेका थिए।

यसपछि उनलाई पूर्वकप्तान रोहित शर्माको उत्तराधिकारीका रूपमा हेरिन थालिएको थियो। १७ वर्षपछि सन् २०२४ मा भारतलाई टी-२० को उपाधि दिलाएसँगै रोहितले अचानक अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिए। ‘हिटम्यान’ को उपनामले चिनिने रोहितले सन्न्यास लिएपछि उनको स्थान कसले लिने भन्ने चर्चा चुलिइरहेको बेला सञ्जुमा सबैको आँखा परेको थियो।

तर, उनले सन् २०२५ को सुरुआती दिनमा प्रारम्भिक ब्याटरका रूपमा आफ्नो फेरिएको भूमिकालाई न्याय गर्न सकेनन्। इङ्ल्यान्डविरुद्ध पाँच खेलको शृंखलामा ५१ रन मात्र बनाएपछि उनको आलोचना चुलिएको थियो।

सेमिफाइनलमा इङ्ल्यान्डविरुद्ध अर्धशतक प्रहार गरेपछि सञ्जु। तस्बिर : आईसीसी

यसपछि भारतीय प्रशिक्षक गौतम गम्भीरले एसिया कपमा उनलाई पाँचौँ नम्बरमा स्थान दिँदै शुभमन गिललाई प्रयोग गरेका थिए। गिलले पनि अपेक्षाअनुसार राम्रो प्रदर्शन गर्न सकेनन्। उनले चार इनिङमा ५० रन मात्र बनाए।

यसपछि निराश गम्भीर पुनः सञ्जुतर्फ नै मोडिएका थिए। तर, दोस्रो पल्ट मौका पाउँदा पनि सञ्जुको प्रदर्शन सोचेजस्तो राम्रो हुन सकेन। त्यसैले दुई महिनाअघि विश्वकप टोलीको छनोट गर्दा गम्भीरले सञ्जुको स्थानमा इशान किशनलाई प्रारम्भिक ब्याटरका रूपमा उतार्ने घोषणा गरेका थिए। उनलाई भने ‘रिजर्भ’ खेलाडीका रूपमा राखिएको थियो।

त्यतिखेर आफू निकै निराश भएको सञ्जुले स्वीकार गरेका छन्। ‘तर, मैले धैर्य गुमाइनँ। आफूप्रति विश्वास थियो,’ फाइनल जितेपछि उनी भन्दै थिए ।

विश्वकपको सुपर-८ मा दक्षिण अफ्रिकाले भारतलाई नराम्ररी पराजित गर्‍यो। त्यतिबेला टिम व्यवस्थापकले शीर्षक्रममा बायाँहाते ब्याटर बढी हुनुले सन्तुलन बिग्रिरहेको अनुभव गरे। यसपछि मात्र प्रशिक्षक गम्भीरले सञ्जुलाई पुनः टोलीमा फर्काउने निर्णय गरेका थिए। उनको निर्णयले विश्वकपको दिशा नै परिवर्तन गर्‍यो।

वेस्ट इन्डिजविरुद्ध खेलमा सानदार प्रदर्शन गरेपछि प्रशिक्षक गौतम गम्भीरसँग सञ्जु। तस्बिर : आईसीसी

सुपर-८ को पहिलो खेलमा दक्षिण अफ्रिकासँग पराजय भोगेपछि भारतले अभिषेक शर्मासँगै सञ्जुलाई इनिङको सुरुआत गर्ने जिम्मेवारी दिएको थियो भने ब्याटिङ अर्डरमा सन्तुलन मिलाउन इशान किशनलाई नम्बर ३ मा झारियो। यो परिवर्तन भारतका लागि प्रभावकारी साबित भयो र टोली सेमिफाइनलमा पुग्यो। यस क्रममा सञ्जुले उत्कृष्ट इनिङ खेले।

उनको ब्याटिङबाट प्रभावित पूर्वकप्तान रोहितले मैदानभित्र प्रवेश गरेर सञ्जुलाई प्रोत्साहन दिएका थिए, ‘यो लामो प्रतियोगिता हो। कुनै पनि समयमा अवसर आउन सक्छ।’

नभन्दै त्यो अवसर सञ्जुले प्राप्त गरे। वेस्ट इन्डिजविरुद्ध सुपर-८ को अन्तिम खेल, इङ्ल्यान्डविरुद्ध सेमिफाइनल र न्युजिल्यान्डविरुद्ध फाइनलमा उनले क्रमशः ९७(५०), ८९(४२) र ८९(४६) रन बनाए। इङ्ल्यान्डविरुद्ध सेमिफाइनल र न्युजिल्यान्डविरुद्ध फाइनलमा उनको धुवाँधार ब्याटिङका कारण भारत २५० भन्दा बढी योगफल तयार पार्न सफल भयो।

सन् २०२४ मा भारतले उपाधि जित्दा उनी टोलीमा समावेश भए पनि एउटै खेल नखेली घर फर्किएका थिए। तर, दुई वर्षपछि घरेलु मैदानमा भएको विश्वकपमा उनी नायक बने। उनले भारतले खेलेका नौमध्ये पाँच खेल मात्र खेल्ने अवसर प्राप्त गरे। जसमा ३२१ रन बनाउँदै प्रतियोगिताको सर्वाधिक रनकर्ताको सूचीमा आफूलाई तेस्रो स्थानमा राख्न सफल रहे।

भारतीय कप्तान सूर्यकुमार यादव (बायाँ) र प्रशिक्षक गौतम गम्भीर। तस्बिर : आईसीसी

उनलाई ‘प्लेयर अफ द टुर्नामेन्ट’ पनि घोषित गरियो। उनी टी-२० विश्वकपमा यो उपलब्धि हात पार्ने तेस्रो भारतीय खेलाडी हुन्। यसअघि विराट कोहली (२०१४ र २०१६) र जसप्रित बुमराह (२०२४) ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित भएका थिए।

आफ्नो यस उपलब्धिलाई संकेत गर्दै सञ्जु भन्छन्, ‘पछिल्लो केही महिनादेखि म सचिन (तेन्दुलकर) सरसँग निरन्तर सम्पर्कमा थिएँ। उहाँसँग लामो कुराकानी भयो। म सधैँ चमत्कारमा विश्वास गर्छु। यसपालि त्यही भयो।’

विश्वकपको सफलतापछि सञ्जु एक साताको विश्रामसँगै चेन्नई जाने तयारीमा छन्। इन्डियन प्रिमियर लिग (आईपीएल)को अर्को सिजनको खेल २८ मार्चदेखि चेन्नईमा सुरु हुँदै छ। आठ वर्ष राजस्थान रोयल्सबाट खेलेका सञ्जुलाई महँगो सम्झौतामार्फत चेन्नई सुपर किंग्सले भित्र्याउन लागेको हो। सम्झौताअनुसार सञ्जु चेन्नई आएपछि यही टिमका रवीन्द्र जडेजा र साम करन राजस्थान रोयल्स जाँदै छन्।

इङ्ल्यान्डविरुद्धको सेमिफाइनल खेलअघि नेट अभ्यासमा सञ्जु। तस्बिर : आईसीसी

सञ्जुलाई पाँच पटक चेन्नईलाई उपाधि दिलाएका महेन्द्रसिंह धोनीको उत्तराधिकारीका रूपमा हेरिएको छ। दुई पटक आफ्नो कप्तानीमा भारतीय टोलीलाई विश्वकप र पाँच पटक आईपीएल जिताएका धोनीले सम्भवतः यही सिजनपछि आईपीएलबाट पनि सन्न्यास लिनेछन्। उनको अनुपस्थितिमा सञ्जुले चेन्नईलाई कति सफलता दिलाउँछन्, त्यो आउने दिनले बताउनेछ। तर, विश्वकपको सफलताका लागि उनी बधाईका पात्र हुन्।