स्वच्छ र निष्पक्ष निर्वाचन सम्पन्न भएकामा गृहमन्त्रीद्वारा सुरक्षा संयन्त्रको भूमिकामाथि प्रशंसा
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहीत वातावरणमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएकामा केन्द्रीय सुरक्षा समिति, प्रदेश कमान्ड पोस्ट तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीलाई धन्यवाद दिएका छन्।
गृहसचिव राजकुमार श्रेष्ठ, चारवटै सुरक्षा निकायका प्रमुख, मन्त्रालयका महाशाखा प्रमुखहरू, प्रदेश कमान्ड पोस्टका पदाधिकारी तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुको सहभागितामा भर्चुअल माध्यमबाट भएको बैठकमा निर्वाचनको समीक्षा गर्दै केन्द्रीय सुरक्षा समिति, प्रदेशको प्रमुख सचिव संयोजक रहने सातै प्रदेशका प्रदेश कमान्ड पोस्टका पदाधिकारी तथा प्रमुख जिल्ला अधिकारी संयोजक रहने ७७ वटै जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीलाई मन्त्री अर्यालले रक्तपातविहीन ऐतिहासिक निर्वाचन सम्पन्न गर्न आ-आफ्नो भूमिका सफलतापूर्वक निर्वाह गरेकामा सबैलाई धन्यवाद ज्ञापन गरेका हुन्।
निर्वाचनपछि संविधानले सही बाटो समातेको र राजनीतिक सुशासनको जग बसालिएको बताउँदै मन्त्री अर्यालले यस ऐतिहासिक उपलब्धिको हिस्सेदार केन्द्रमा रहेर काम गर्ने देखि फिल्डमा खटिनेसम्म सबै तह र तप्कामा रहेका कर्मचारी रहेको बताए। उनले सामूहिक र साझा प्रयासबाट मात्र ऐतिहासिक उपलब्धि हासिल गर्न सम्भव भएको बताए।
गृहसचिव राजकुमार श्रेष्ठले सबैले आ-आफ्नो व्यावसायिक निष्ठा कायम गरी असल नियतका साथ फिल्डमा निष्पक्ष भई जिम्मेवारी पूरा गरेकाले अन्तराष्ट्रिय पर्यवेक्षकबाट समेत उच्च प्रशंसा प्राप्त गर्न सफल भएको बताए।
भर्चुअल बैठकमा सहभागी प्रदेश कमान्ड पोस्टका पदाधिकारी तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीले निर्वाचन सुरक्षा व्यवस्थापनमा गरिएको तयारीबारे आ-आफ्नो क्षेत्रको अनुभव सुनाएका थिए।