काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

सुर्खेत घटना

सुर्खेतकी १६ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको प्रारम्भिक तथ्य सार्वजनिक

२८ फाल्गुन २०८२
इनिसा विक।
अ+
अ-

२३ फागुन (शनिबार) मध्याह्न तिला विकको मोबाइलमा फोनको घण्टी बज्यो। अपरिचित नम्बरबाट आएको फोनमा बोल्ने व्यक्तिले तिलालाई सोधे– तपाईं इनिसाको ममी हो? उनले जवाफ दिन नपाउँदै ती व्यक्तिले फेरि भने– तपाईंकी छोरी यहाँ बेहोस अवस्थामा छिन्, तुरुन्त आउनुस्। खबर सुन्नेबित्तिकै तिला वीरेन्द्रनगर-४ स्थित जनजागरण सामुदायिक वनमा पुगिन्। त्यहाँ उनकी छोरी इनिसा विक अचेत अवस्थामा थिइन्।

त्यहाँ पुग्दा तिलाका आँखा अघि नसोचेको दृश्य थियो। इनिसा रक्ताम्मे भएर लडेकी थिइन्। इनिसाको योनिबाट रगत बगेको थियो। कपाल फुकेको थियो। जुत्ता र मोजा अलग अलग थिए। तिलासँगै पुगेका आफन्तले यो घटना देखेपछि तुरुन्तै प्रहरीलाई खबर गरे। तत्काल घटनास्थल पुगेको प्रहरी टोलीले उपचारका लागि इनिसालाई कर्णाली प्रदेश अस्पताल पुर्‍यायो। अस्पताल पुर्‍याउनेबित्तिकै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा उनको बलात्कारपछि हत्या भएको आशंका गरिएको छ। सोही दिन प्रहरीले घटनास्थलबाटै वीरेन्द्रनगर नगरपालिका-९ घर भएका १६ वर्षीय अनमोल गौलीलाई नियन्त्रणमा लिएको छ। उनीसँगको सोधपुछका क्रममा थप तीन जनालाई नियन्त्रणमा लिएर सुर्खेत प्रहरीका प्रवक्ता डीएसपी मोहनजंग बुढथापा जनाउँछन्।

सुर्खेतको गुर्भाकोट नगरपालिका-८ बडाखोली स्थायी घर भएकी १६ वर्षीया बालिका इनिसाको परिवार केही समययता वीरेन्द्रनगर-१ मा बस्दै आएको थियो। इनिसा गएको शनिबार बिहान विद्यालयमा प्रयोगात्मक कक्षामा सहभागी हुने भन्दै घरबाट निस्किएकी थिइन्। उनी कक्षा ११ मा अध्ययनरत थिइन्। घरबाट बिहानै निस्किएकी छोरी अबेरसम्म पनि नफर्केपछि तिलाले छोरीलाई फोन गरिन्। तर, उनको मोबाइल अफ थियो।

“शनिबार किन विद्यालय जाने भनेर आमाले सोध्दा सरहरूले बोलाउनुभएको छ, चाँडै आइहाल्छु भनेर विद्यालय गएकी हुन्,” तिलाको भनाइ उद्धृत गर्दै इनिसाका फुपाजु रविन महर भन्छन्, “अबेरसम्म घर नफर्केपछि फोन गर्दा उनको मोबाइल स्विच्ड अफ थियो, बारम्बार फोन गर्दा पनि नलागेपछि विद्यालयमा फोन गरेँ। विद्यालयले इनिसा नआएको भन्यो।” त्यसपछि छोरी कोही साथीसँग गएकी होला भनेर बसेकी तिलाको मोबाइलमा केही बेरपछि इनिसा अचेत अवस्थामा जंगलमा रहेको खबर सुनाइएको थियो।

थापाका अनुसार इनिसाको पोस्टमार्टम रिपोर्टमा पाठेघरबाट अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको उल्लेख छ। गौलीले इनिसासँग शारीरिक सम्पर्क गरेपछि अत्यधिक रक्तश्राव भएर बेहोस भएको बयान दिएका छन्। अनमोलले नै इनिसा अचेत भएपछि आत्तिएर अन्य तीन जना साथीलाई घटनास्थलमा बोलाएको भनी बयान दिएको डीएसपी बुढथापा बताउँछन्।

जंगलमा प्रहरीले फेला पारेको इनिसाको सामान।

मृतकको विस्तृत स्वास्थ्य परीक्षणको रिपोर्ट आउन बाँकी छ। उक्त रिपोर्ट आएपछि नियन्त्रणमा रहेकाहरू बलात्कारमा संलग्न हुन् या होइनन्, यकिन हुने डीएसपी बुढथापा बताउँछन्। थापाका अनुसार नियन्त्रणमा लिइएकाविरुद्ध जबरजस्ती करणी तथा कर्तव्य ज्यान मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ।

इनिसाको परिवारले प्रहरीको नियन्त्रणमा रहेका चारै जना घटनामा संलग्न रहेको दाबी गर्दै किटानी जाहेरी दिएको छ। परिवारले अस्पतालले दिएको स्वास्थ्य परीक्षण रिपोर्टप्रति पनि शंका व्यक्त गरेको छ। तिलाले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही हुनुपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालयमा बुधबार ज्ञापनपत्र बुझाएकी छन्। ज्ञापनपत्रमा निर्दाेष छोरीको हत्यामा संलग्नहरूले कुनै पनि हालतमा उन्मुक्ति पाउन नहुने उनको माग छ।

२७ फागुनमा इनिसा विक घटनामा निष्पक्ष न्यायको लागि सुर्खेतमा आफन्त र स्थानीयले गरेको प्रदर्शन।

इनिसाका बुवा इन्द्र विक वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा छन्। उता छोरीको मृत्युको खबर पाएका जनक अझै घर फर्किन सकेका छैनन्। मध्यपूर्वमा बढ्दो तनावका कारण उडानहरू रद्द हुँदा उनी विमानस्थलमै अलपत्र छन्। नेपाली सेनाबाट अवकाश पाएपछि दुबई गएका इन्द्र केही महिनाअघि मात्र बिदामा घर आएका थिए।

घटनाको विषयमा मानव अधिकार तथा बालअधिकारसँग सम्बन्धित संघसंस्थाले पनि ध्यानाकर्षण भएको जनाएका छन्। उनीहरूले घटनाको सत्यतथ्य छानबिन र दोषीलाई कारबाहीको माग गरेका छन्। बालअधिकारका लागि साझा अभियान (सीसीआर) कर्णालीले सम्बन्धित निकायबाट घटनाको सूक्ष्म अध्ययन गरी दोषीउपर हदैसम्मको कानुनी कारबाही हुनुपर्ने माग गरेको छ। सुर्खेत प्रहरी प्रवक्ता डीएसपी बुढथापाले घटनाको सत्य छानबिन हुने बताएका छन्। “यस विषयलाई लिएर अहिले सामाजिक सञ्जालमा अतिरञ्जित गरिएको छ, प्रहरीले घटनाको छानबिनमा कुनै कसर बाँकी राख्दैन,” थापा भन्छन्।

घटनाबारे विस्तृत अनुसन्धान गर्न सीआईबीको एक टोली पनि खटिएको छ।