काठमाडौं । मध्यपूर्वमा अमेरिका, इजरायल र इरानबीच बढ्दो तनावका बीच भारततर्फ इन्धन बोकेका दुई जहाज होर्मुज स्ट्रेट पार गर्न सफल भएका छन्।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले शनिबार जानकारी दिँदै ‘शिवालिक’ र ‘नन्दा देवी’ नामका दुई जहाज स्ट्रेट पार गरेर भारतका बन्दरगाहतर्फ अघि बढिरहेको बताएका हुन्।
उनका अनुसार दुवै जहाजमा गरी करिब ९३ हजार मेट्रिक टनभन्दा बढी तरल पेट्रोलियम ग्यास (एलपीजी) लोड गरिएको छ।
जयसवालका अनुसार खाडी क्षेत्रमा भारतका अन्य जहाजहरू पनि स्ट्यान्डबाइ अवस्थामा राखिएका छन्। भारतले आफ्नो ऊर्जा सुरक्षालाई सुनिश्चित गर्न सम्बन्धित देशहरूसँग निरन्तर समन्वय गरिरहेको बताइएको छ।
यसअघि इन्धन बोकेर भारततर्फ आउँदै गरेको एक थाई जहाजमा हमला भएको थियो। मध्यपूर्व क्षेत्रमा जारी तनावका कारण हालसम्म पाँच भारतीय नागरिकको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्।
खाडी क्षेत्रबाट हुने इन्धन आयात प्रभावित हुँदा भारतमा पनि तेल र ग्यासको आपूर्तिमा समस्या देखिन थालेको छ। भारतबाट इन्धन आयात गर्ने नेपालमा समेत आपूर्ति प्रभावित हुन सक्ने चिन्ता बढेको छ।