काठमाडौँ। परराष्ट्र मन्त्रालयले पश्चिम एसिया क्षेत्रमा भएको द्वन्द्वको बारेमा पश्चिम एसियामा रहेका नेपालीलाई अफवाह नफैलाउन आग्रह गरेको छ। मन्त्रालयले अफवाह वा हल्लाको पछि नलागी आधिकारिक सूचनाको मात्र विश्वास गर्न आग्रह गरेको हो।
मन्त्रालयले आइतबार एक अपिल जारी गर्दै पश्चिम एसियामा बढ्दो तनावका सन्दर्भमा त्यहाँ रहेका नेपालीहरूको अवस्थाबारे निरन्तर अनुगमन गरिरहेको जानकारी दिएको छ। मन्त्रालय तथा सम्बन्धित देशहरूमा रहेका नेपाली नियोगहरूले सूचना, प्रेस विज्ञप्ति र ब्रिफिङमार्फत आवश्यक जानकारी तथा अनुरोधहरू जारी गरिरहेको पनि जनाएको अपिलमा जनाइएको छ।
मित्रराष्ट्रहरूले सार्वजनिक सुरक्षा कायम राख्न र अनावश्यक त्रास फैलिन नदिन विशेष आग्रह गरेको उल्लेख गर्दै परराष्ट्रले सरकारी निकायबाट जारी भएका आधिकारिक सूचना तथा समाचारमात्र विश्वास गर्न र अफवाह वा हल्लाको पछि नलाग्न अनुरोध गरेको हो। साथै त्रास वा डर फैलाउने उद्देश्यका तस्बिर, भिडियो वा अन्य सामग्री नबनाउन तथा त्यस्ता सामग्री सामाजिक सञ्जालमा सेयर नगर्न पनि आग्रह गरिएको छ।
संकटको समयमा आफू बसेको देशका सरकारले जारी गरेका सुरक्षासम्बन्धी नियम-कानुनको पूर्ण पालना गर्नु सबैको कर्तव्य भएको उल्लेख गर्दै मन्त्रालयले हालको विषम् परिस्थितिमा जारी गरिएका सूचना, एड्भाइजरी तथा निर्देशनहरू कानुनसरह लागु हुने स्पष्ट पारेको छ।
मन्त्रालयले ती नियम उल्लंघन गरे ठुलो जरिवाना, जेल सजाय तथा डिपोर्टसम्म हुन सक्ने गम्भीर कानुनी कारबाही भोग्नुपर्ने चेतावनी दिएको छ। मन्त्रालयले यस विषयमा सचेतना फैलाउन सकारात्मक सहयोग पुर्याइरहेकामा मिडियालगायत सबैप्रति आभार व्यक्त गरेको छ।