काठमाडौँ। ‘हिमालयन क्विन्स ग्याम्बिट’को दोस्रो संस्करणको उपाधि अधिवक्ता सदीक्षा आचार्यले जितेकी छन्। उनले थापाथाली चेस पार्कमा आइतबार सम्पन्न खेलमा अपराजित रहँदै ६.५ अंक बनाएर सफलता हात पारेकी हुन्।
स्विस लिग प्रणालीका आधारमा सात चरणमा सञ्चालित ब्लिट्ज चेस प्रतियोगितामा सोनालिका सर्राफले पनि सदीक्षासमान ६.५ अंक बनाएकी थिइन्। बराबरी अंक भए पनि टाइब्रेकरका आधारमा सदीक्षाले उपाधि जितेकी हुन्। प्रिसियस अधिकारी र शुभश्री श्रेष्ठले पनि समान ६ अंक बनाए। तर टाइब्रेकरका आधारमा अगाडि रहँदै प्रिसियस तेस्रो भइन्।
प्रकृति न्यौपाने (५.५ अंक), अस्मिता दाहाल (५.५), मेघना अधिकारी (५) र आरती राई (५) ले शीर्ष आठमा रहँदै पदक हात पारे। त्यस्तै, यू ७ मा रुथ्वी सिंह (४ अंक), यू १० मा संगीता दास (४.५), यू १३ मा सुप्रिया खत्री (५), यू १६ मा गृष्मा पौडेल (५) र ४० वर्षमाथि शिवांगी नाथ (५ अंक) पहिलो स्थानमा रहे।
स्कुलतर्फको उपाधि मार्भलस इंग्लिस बोर्डिङले जित्यो। उसले शीर्ष तीन खेलाडीको मूल्यांकनको आधारमा आठ अंक बटुल्दै ट्रफी जितेको हो। ग्रिनल्यान्ड इन्टरनेसनल स्कुल पाँचअंकसहित उपविजेता भयो। पञ्चकन्या आधारभूत विद्यालय चार अंक बनाएर तेस्रो स्थानमा रह्यो।
विश्व बुद्धिचाल महासंघको फिडे वुमेन्स कमिसन फर चेसले मार्च महिनामा ‘फिडे वुमेन्स चेस म्याराथन’ सञ्चालन गरिरहेको छ। त्यसैअन्तर्गत हिमालयन चेस एकेडेमीले नेपालमा हिमालयन क्विन्स ग्याम्बिट आयोजना गरेको हो। जसमा ६ वर्षदेखि ४७ वर्षसम्मका १०३ खेलाडी सहभागी थिए।