काठमाडौँ
००:००:००
२ असार २०८३, मंगलवार

१ चैत्र २०८२
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आगामी दिनमा पार्टीमा गरिनुपर्ने सुधारका लागि कार्यकर्ता तथा शुभेच्छुकसँग सुझाव मागेका छन्।

सामाजिक सञ्जालमार्फत उनले नीतिगत, संरचनागत तथा व्यवहारिक सुधारका विषयमा सुझाव दिन सार्वजनिक आह्वान गरेका हुन्। “भर्खरै सम्पन्न आमनिर्वाचन २०८२ को नतिजा हाम्रासामु आइसकेको छ। पुसमा सम्पन्न विशेष महाधिवेशनले निर्देश गरेका कार्यदिशालाई समेत आत्मसात् गर्दै पार्टीको नियमित महाधिवेशनको छिटै आयोजना गर्नुपर्नेछ। यिनै पृष्ठभूमिमा पार्टीलाई आगामी दिनमा कसरी अगाडि लैजाने भन्ने सम्बन्धमा छलफल गर्न नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ,” उनले लेखेका छन्, “यसै परिस्थितिमा नेपाली कांग्रेसमा गर्नुपर्ने नीतिगत, संरचनागत तथा व्यवहारिक सुधारका विषयहरू के हुन सक्लान्? सुझाव उपलब्ध गराई सहयोग गरिदिनुहुन नेपाली कांग्रेसका समर्थक तथा शुभेच्छुक सबैमा विनम्र अनुरोध गर्दछौँ।”

महामन्त्री पौडेलले प्राप्त सुझावलाई पार्टीले आत्मसात् गर्ने प्रतिबद्धतासमेत जनाएका छन्। कांग्रेसले आमनिर्वाचनका सन्दर्भमा समीक्षा गर्दै भावी रणनीति तय गर्दै छ। यसैका लागि महामन्त्री पौडेलले सुझाव मागेका हुन्। उनले पार्टीको आधिकारिक इमेल [email protected] तथा सम्पर्कका माध्यमबाट सुझाव दिन सकिने बताएका छन्।