काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

इन्धनको भाउ

अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि तथा आपूर्ति व्यवस्थापनमा देखिएको दबाबका कारण इन्धनको मूल्य समायोजन

१ चैत्र २०८२
नेपाल आयल निगम। तस्बिर : शम्भु रेग्मी
अ+
अ-

काठमाडौँ। नेपाल आयल निगमले इन्धनको मूल्यवृद्धि गरेको छ। निगमले डिजेल/मट्टीतेल र पेट्रोलमा मूल्य बढाएको हो।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै नेपालमा पनि पेट्रोल, डिजेल/मट्टीतेलको मूल्य समायोजन गरेको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले विज्ञप्तिमार्फत जनाएका हुन्। निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि तथा आपूर्ति व्यवस्थापनमा देखिएको दबाबका कारण मूल्य समायोजन गर्नुपरेको हो।

निगमका अनुसार भारतीय आयल कर्पोरेसन (आईओसी) बाट नयाँ समायोजित मूल्यअनुसार पेट्रोलको प्रतिलिटर ३१ रुपैयाँ‚ डिजेलको मूल्य प्रतिलिटर ५४ रुपैयाँ र एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २१६ रुपैयाँ बढेर आएको छ।

आईओसीबाट मूल्य बढेर आए पनि उपभोक्ताको हितलाई ध्यानमा राख्दै निगमले पेट्रोलमा १५ र डिजेल/मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँले मूल्य बढाएको छ। ग्यासको मूल्य भने बढाइएको छैन। निगमका अनुसार वृद्धि भएको मूल्य आजै राति १२ बजेबाट लागु हुनेछ।

निगमका अनुसार मध्यपूर्व र पश्चिम एसियामा देखिएको युद्धको प्रभावका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य अस्थिर बनेको छ। जसले आपूर्ति र मूल्य व्यवस्थापनमा चुनौती थपेको छ।

यद्यपि कठिन परिस्थितिमा पनि नेपालमा पेट्रोलियम पदार्थ तथा खाना पकाउने ग्यासको आपूर्ति निरन्तर कायम राखेकामा आईओसीलाई धन्यवाद व्यक्त गरेको छ। निगमले अन्तर्राष्ट्रिय बजारको मूल्यअनुसार भविष्यमा पनि आवश्यकताअनुसार मूल्य समायोजन हुन सक्ने जनाउ दिएको छ।

अहिलेको मूल्यवृद्धिपछि पनि निगमलाई पाक्षिक रूपमा तीन अर्ब ९३ करोड रुपैयाँ घाटा हुने पनि विज्ञप्तिमा उल्लेख छ।