दृष्टिकोण
आम नेपालीजनमा प्रश्न र कौतूहल छ- बालेनले पनि विगतका विद्रोही नेताले झैँ सत्तामा आएपछि पुरानै सत्ताको भाषा बोल्लान् कि आफ्नै भाषा कायम राख्लान्?
पुरानो भो इतिहास केही फेरिएन
बाँकी हुँदा यति सास मोह मेटिएन
कहाँ कुद्छ रेल, यहाँ बाटो भेटिएन
मलाई बोल्न दे सरकार …
मन खोल्न दे … ।
यो साहित्यिक अभिव्यक्ति मात्र होइन, युवा पुस्तामा छाएको निराशाको विस्फोट थियो। कुनै समयमा माथिको र्यापमा बालेन्द्र शाह (बालेन)ले असन्तुष्टिको आवाज पोखेका थिए, प्रश्न गरेका थिए। अब उनी सुन्ने र उत्तर दिने ठाउँमा पुगेका छन्। २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सर्वाधिक मत पाएर संसद् यात्रा तय गरेका उनी प्रधानमन्त्री बन्ने निश्चितप्रायः छ। ३६ वर्षीय बालेन २०४६ सालयताका सबैभन्दा कम उमेरमा प्रधानमन्त्री बन्दै छन्।
बालेनको उदय कुनै सामान्य राजनीतिक घटना होइन। र्यापर, कवि, इन्जिनियर, काठमाडौँ महानगरपालिकाका प्रमुख हुँदै अहिले उनी संघीय सांसद बनेका छन्। उनको पहिचान आफैँमा नेपाली राजनीतिको रूपान्तरणको प्रतीक हो। यो रूपान्तरण बुझ्न केही प्रश्नले मद्दत गर्नेछन्। पुराना दल र नेताले के गरेनन्, २१ फागुनको निर्वाचनमा जनताले तिनलाई किन अस्वीकार गरे, र मतदाता किन बालेन र वैकल्पिक शक्तितर्फ आकर्षित भए?
यी प्रश्नका उत्तर खोज्दा पुराना राजनीतिक दलहरूको अकर्मण्यता, जनअपेक्षाविपरीतका हर्कत र असफलतासम्म पुगिन्छ। जसबारे आमनागरिक जानकार छन्। यसकै कारण आक्रोश र असन्तुष्टि बढ्दै गएर २३ र २४ भदौको जेन-जी आन्दोलन भएको हो।
नेपालको राजनीति दशकौँदेखि एउटा पारिवारिक व्यापारजस्तो चलेको थियो। पुराना दलहरूको कुशासनको लामो दुश्चक्रका कारण नागरिक वाक्कदिक्क थिए। नेपाली कांग्रेस, नेकपा (एमाले) र तत्कालीन नेकपा (माओवादी केन्द्र)का शीर्ष नेताहरूले सत्तामा ‘म्युजिकल चेयर’ चलाए। यीमध्ये कुनै दल सत्ताबाहिर रहे पनि स्वार्थका महत्त्वपूर्ण विषयमा अघोषित गठबन्धन चलाइरहे। एकअर्काका भ्रष्टाचारका मुद्दा थन्क्याए। राज्यका निकायमा दलीयकरण, नियुक्तिमा राजनीतिक भागबन्डा खुलेआम चलिरह्यो। कतिपय नियुक्तिमा त लेनदेनको आशंका पनि गर्ने गरिएको थियो। कानुनविपरीतका काममा आफूनिकटका व्यक्तिलाई संरक्षण गर्न र विरोधीहरूलाई तह लगाउन सत्ता र शक्तिको दुरुपयोग गरियो। कानुनको चयनात्मक प्रयोग गरियो। राज्यले कानुनलाई हतियार होइन, छनोट गर्ने औजार बनायो र त्यो नै नेपालको सन्दर्भमा ‘बायोपोलिटिक्स’ बन्न पुगेको छ।
यिनै बेथिति, विभेद र मनलाग्दी कामले जेन-जी पुस्तालाई सडकमा ओर्लन बाध्य बनायो। यसरी हेर्दा २३ भदौको घटना आवेगको परिणाम थिएन, दशकौँदेखि सञ्चित निराशाको विस्फोट थियो।
राज्यको अनुहार
जेन-जी आन्दोलनपछि विशेष परिस्थितिमा भएको यो प्रतिनिधिसभा निर्वाचनले एक किसिमको राजनीतिक साक्षरता ल्यायो। मतदाताले बालेनको नेतृत्वमा देश विकासको भविष्य देखेर परिवर्तनको पक्षमा मत दिए। मतदानमार्फत पुराना भनिएका दलहरूलाई भने, ‘अब पुग्यो। अब तपाईंहरू मूलधार होइन, केही समय विश्राम गर्नुहोस्।’
तर, यो स्पष्ट सन्देश दिएको निर्वाचनअघिको रगताम्मे समय बिर्सिनसक्नुको छ। परम्परागत दलका नेताहरूले राष्ट्रवाद, विकास, समृद्धि, लोकतान्त्रिक प्रक्रिया, विधिजस्ता वैचारिकीमार्फत देशको अवस्था ठीकठाक छ भनेर नागरिकलाई आश्वस्त पार्ने गरेका थिए। २३ भदौको आन्दोलनलाई ती उपकरणले रोक्न सकेनन्। कलिला बालबालिकाले गरेको आन्दोलनमा सरकार दमनकारी भएर बर्सियो। जसबाट एकैदिन १९ जनाको हत्या भयो।
यहाँ एउटा पुरानो प्रश्न देखा पर्छ। न्याय कसका लागि हो र दण्ड कसलाई दिइन्छ? यही प्रश्न अमेरिकी कथाकार डोनाल्ड बार्थल्मेले सन् १९७३ मा उठाएका थिए, ‘सम अव अस ह्याड बिन थ्रेटनिङ आवर फ्रेन्ड कोल्बी’ शीर्षकको कथामा। अमेरिकी न्याय प्रणालीप्रति व्यंग्य गरिएको कथा नेपालको प्रसंगमा अझ सान्दर्भिक बनेको छ।
कथामा ‘हामी’ भनिएका साथीहरूको समूहले समूहको नियम नमान्ने एक सदस्य कोल्बीलाई चेतावनी र धम्की दिँदै आएको हुन्छ। कोल्बी भिडसँगै बग्ने नभई स्वतन्त्र निर्णय गर्ने र आफ्नै तरिकाले जिउन खोज्ने प्रकृतिको हुन्छ। साथीहरूको दबाबका बीच उसले समूह छोडेर आफ्नै बाटो रोज्ने संकेत गर्छ। समूहले उसलाई ‘अति गर्यो’ भनेर मार्ने, मृत्युदण्ड दिनुपर्ने कुरा गर्छ।
कोल्बीको अपराध के हो, स्पष्ट छैन। उसले कुनै चोरी, हत्या वा कानुन उल्लंघन गरेको प्रमाण छैन। आरोप कोल्बीले ‘अति गर्यो’ भन्नेमा सीमित छ। कोल्बी व्यक्तिगत स्वतन्त्रताको प्रतीक हो भने स्वतन्त्र विचार र फरक मत राख्ने मानिसलाई नस्विकार्ने, मृत्युदण्ड दिने साथीहरूको निर्णय भिडको मानसिकता र असहिष्णुताको प्रतीक हो।
‘अति गर्नु’ एक संकेत मात्र हो। यसका विभिन्न अर्थ खोज्न सकिन्छ। दोष वा अपराध विषय र सन्दर्भअनुसार फरक हुन सक्छन्। फाँसी दिने कुरा भएपछि कोल्बीले प्रश्न गर्छ, ‘के हामी सानो ड्राकोनियन बनिरहेका त छैनौँ?’ ड्राकोनियन अर्थात् अत्यन्त कठोर र निर्दयी।
‘ड्राकोनियन’ शब्द प्राचीन एथेन्स (इसापूर्व सातौँ शताब्दी)का कानुन निर्माता ड्राकोबाट बनेको हो। उनले इसापूर्व ६२१ मा पहिलो लिखित कानुन बनाएका थिए। त्यसमा अत्यन्त कठोर सजायको व्यवस्था गरिएको थियो। ससाना अपराधमा पनि मृत्युदण्डको सजाय तोकिएको थियो। उनका कानुन कडा सजायका लागि प्रसिद्ध भएकाले अत्यन्त कठोर नियमलाई आज पनि ‘ड्राकोनियन’ भनिन्छ।
कोल्बीको प्रश्नमा तीन तहका अर्थ छन्, जुन नेपालको सन्दर्भमा असाध्यै सान्दर्भिक छन्। पहिलो, उसको प्रश्नले अपराध र सजायमा तालमेल हुनुपर्ने न्यायपूर्ण कानुनको आधारभूत पाटोमा इंगित गरेको छ। दोस्रो, वाक्यमा प्रयुक्त विशेषण ‘सानो’ पनि अर्थपूर्ण छ। देश र समाजमा अभ्यासमा रहेको निर्मम काइदाकानुनले पीडितको चेतनामा यति गहिरो जरा गाडिसकेको हुन्छ कि आफ्नै मृत्युदण्डको विरोध गर्दा पनि कोल्बी नरम भाषा प्रयोग गर्छ। तेस्रो, उसले ‘हामी’ शब्द प्रयोग गरेकाले ऊ आफैँ पनि अझै त्यो समूहको सदस्यका रूपमा सामेल छ, जसले उसलाई मार्ने कुरा गरेको छ। यो कोल्बीको विद्रोह होइन, यो त उसको नम्र याचना हो। यही नम्रता उसको त्रासदी पनि हो।
बार्थेल्मेको कथाको कोल्बी र नेपालका जेन-जी प्रदर्शनकारीबीच एउटा गहिरो समानता छ। दुवैले व्यवस्थाकै ढोकामा न्याय माग्छन्। अर्को कुरा, बार्थेल्मेको कथाको शीर्षकले ‘हामीमध्ये केही’ भनेर शक्तिको विसर्जनलाई लुकाउँछ। कसले निर्णय गर्यो? सबैले। अर्थात् कसैले पनि एकल जिम्मेवारी लिनु परेन। राज्यको दमन पनि यसरी नै सर्वसम्मति वा सामूहिकताको आवरणमा फत्ते गरिन्छ। सबथोक व्यवस्थित, प्रक्रियासम्मत तर निर्मम। राज्यले कसैको ज्यान लिने अधिकार राख्छ भन्ने दाबी क्रूरता हो र त्यो कति सजिलै कुनै न कुनै आवरणमा लुकाइन्छ भनेर बार्थेल्मेले तीखो व्यंग्य गरेका छन्। नेपालमा २३ र २४ भदौको आन्दोलनमा भएको घटनामा त्यही भयो।
बायोपोलिटिक्स
नेपालमा एकथरी सीमित मानिसलाई अवसर र सुविधाको भण्डार अनि बहुसंख्यक मानिसले सामान्य जीवनयापन गर्न पनि संघर्ष गर्नुपर्ने विडम्बना रहँदै आएको छ। गत भदौको जेन-जी आन्दोलनलाई बल भरेको नेपो बेबिज/नेपो किड्स अभियानले राज्यको स्रोतसाधनमा पहुँच राख्ने नेता तथा कर्मचारीका सन्तानको विलासी जीवनशैलीलाई सामाजिक सञ्जालमा उधिनेको थियो।
दार्शनिक जर्जियो अगाम्बेनका अनुसार केही मानिस राज्यभित्र हुँदाहुँदै राज्यको सुरक्षा र संरक्षणबाहिर राखिन्छन्। राज्यले नागरिकका पीडा अनिवार्य बनाइदिन्छ। यस सन्दर्भमा को पीडित हुनेछ भन्ने निर्णय नै सत्ताको सबभन्दा गहिरो अभिव्यक्ति हो।

बायाँबाट क्रमश: पूर्वप्रधामन्त्रीत्रय पुष्षकमल दाहाल, शेरबहादुर देउवा र केपी शर्मा ओली।
नेपालका राजनीतिक दलहरूले दशकौँदेखि पीडा वितरणको राजनीति गरिरहे। नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरण, गिरिबन्धु टी स्टेट, भिजिट भिसा, ओम्नी, यती, टेरामक्स, वाइडबडी जहाज खरिद आदि प्रकरणमा मुछिएकाहरूले सत्तामा हालीमुहाली गर्दै नागरिकको धैर्यको परीक्षा लिइरहे। तर, नागरिकले सबै पीडा, बेथिति र मनपरी शासनको हिसाब गरिरहेका थिए। जेन-जी आन्दोलन र यसपछिको विशेष परिस्थितिमा भएको प्रतिनिधिसभा निर्वाचनको नतिजा त्यही चेतनाको राजनीतिक अभिव्यक्ति थियो। बालेनको उदय, युवा नेतृत्वको राजनीतिक दलको उभार र पुरानो भनिएका दलहरूको कमजोर जनमतजस्ता घटना बार्थेल्मेको कोल्बीसम्बन्धी कथाका विस्तारित नेपाली संस्करण हुन्।
कानुन कसका लागि?
म सुरुमै स्पष्ट पार्न चाहन्छु, कोही अभियुक्तलाई निर्दोष देखाउनु मेरो उद्देश्य कदापि होइन। न्यायिक प्रक्रियाको आफ्नै गति, प्रक्रिया हुन्छ र अदालत नै त्यसको उचित मञ्च हो। तर, न्यायिक निरूपण प्रक्रिया किन सबैका लागि समान हुँदैन भन्ने आमप्रश्न हो।
भुटानी शरणार्थी प्रकरणका अभियुक्त बालकृष्ण खाण किन कारागारमुक्त भए? त्यसमा मुछिएकी आरजु देउवालाई किन बयानसम्म लिइएन? उल्टै उनले परराष्ट्रमन्त्रीको पद किन पाइन्? पतञ्जलि जग्गा हिनामिना प्रकरणमा माधवकुमार नेपाल धरौटीमा छाडिँदा कानुनी प्रक्रियाले कुन गतिमा काम गर्यो? गिरिबन्धु चिया बगानको जग्गा सट्टापट्टा, यती समूहलाई जग्गा भाडा, स्वास्थ्य क्षेत्रको भ्रष्टाचारसँग जोडिएको ओम्नी, टेरामक्स प्रविधि खरिदजस्ता ठूला काण्ड अनुसन्धानको दायरामा किन परेनन्?
यी प्रश्नको उत्तर जुनसुकै होस्, एउटा कुरा स्पष्ट छ। कानुन सबैका लागि बराबर छ भन्ने दाबी र त्यसको व्यवहारबीचको दूरी नै सत्ताको असली अनुहार हो। यस्तो किसिमको चयनात्मक दण्डले के देखाउँछ? राज्यले कानुनलाई एउटा खाली उपकरणका रूपमा प्रयोग गर्छ। शासन चलाउनेहरूले कानुनलाई जतिखेर र जसविरुद्ध प्रयोग गर्न आवश्यक पर्छ, त्यतिखेर मात्र सक्रिय पारे। यो नै दमनकारी राज्य उपकरणको सबैभन्दा परिष्कृत रूप हो।
बालेनको ऐतिहासिक जिम्मेवारी
पुराना दलका नेताहरूले जनता र तिनका आकांक्षा बुझेनन्। हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको नतिजाले त्यसको जवाफ दियो। बार्थेल्मेको कथामा भनिएको ‘अति गर्नु’ को परिभाषा सत्तामा हालीमुहाली गरिरहेकाहरूको हातमा थियो। तर, त्यो परिभाषालाई नेपाली नागरिकले मतपत्रबाट पुनर्लेखन गरिदिए। अतिवादको आरोप लगाइएका बालेन प्रधानमन्त्री बन्दै छन् र परम्परागत शक्तिका प्रतिनिधिहरू किनारमा धकेलिए।
बालेनको जित एक नयाँ किसिमको प्रतिरोध हो। रंगिन, हँसिलो तर भित्रबाट गहिरो राजनीतिक चेतनाले भरिएको। तर, मेरो मतलब यो होइन कि बालेनका कमजोरी नै छैनन्। हरेक व्यक्तिका आआफ्नै गुण र अवगुण हुन्छन्, र बालेन त्यसबाट अछुतो छैनन्।
नेपालमा विद्रोही नेताहरूले सत्तामा आएपछि पुरानै सत्ताको भाषा बोले। उनीहरूकै प्रतिनिधित्व गरे। पुरानै शासनको शैली र गतिमा लतपतिए। बालेन र उनका सहकर्मी कोल्बी निर्माता बन्नबाट बच्न सक्लान्? इतिहासमा क्रान्तिहरूले प्राय: आफ्नै सन्तानलाई खाएको प्रशस्त प्रमाण छन्।
भोलि सत्तामा आएपछि ऊ आफैँ पो अरूलाई ‘अति गर्यो’ भन्न थाल्ने हो कि? जस्तै, बार्थेल्मेका पात्र कोल्बीले आफ्नै फासीको कार्यक्रम आयोजनामा सघाउँछ। व्यवस्था यति साह्रो बिग्रिसकेको हुन्छ कि पीडित पनि त्यही भाषामा बोल्छ। त्यही संरचनामा सोच्छ।
यतिबेला आमनेपालीजनमा विभिन्न प्रश्न र जिज्ञासा छन्। के बालेनले पनि अन्य विद्रोही नेताले झैँ सत्तामा आएपछि पुरानै सत्ताको भाषा बोल्लान्? अथवा सपना र आकांक्षाको प्रतिफल खोज्ने त्यो भाषा बोल्नेछन्, जुन उनले सडकमा सिके? बालेन र उनका सहकर्मीको समूह कोल्बी निर्माता बन्नबाट बच्न सक्छ कि सक्दैन?
नेपाली राजनीतिमा उदाएको नयाँ पुस्तासामु ऐतिहासिक जिम्मेवारी छ- ‘अति नगर्नू’ भन्ने आरोपलाई गर्वसाथ स्वीकार गर्नु, र पुरानो अतिलाई बिदाइ गरेर अघि बढ्ने क्रममा कुनै नयाँ कोल्बी नबनाउने प्रतिज्ञा गर्नु। अन्यथा उही शैली, थिति, मति र गतिसहित पुरानै शक्तिहरू ब्युँतिएर फर्किनेछन्।