वैदेशिक रोजगारी
अमेरिका र इजरायलले इरानविरुद्ध आक्रमण गरेपछि युद्धभूमि बनेको मध्यपूर्वमा फेरि जान थाले नेपाली
काठमाडौँ। अमेरिका र इजरायलले इरानविरुद्ध गरेका आक्रमणका कारण जारी तनावका बीच पनि नेपालबाट दैनिक ५०० जनाभन्दा बढी मानिस मध्यपूर्वतर्फ गइरहेका छन्। नेपालीको मुख्य श्रम गन्तव्य मानिएका मध्यपूर्वका देशमा दैनिक सरदर ५६५ जना गइरहेको सरकारी तथ्यांक छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तथ्यांकअनुसार २० देखि ३० फागुनसम्म नेपालबाट पाँच हजार ६५३ जना मध्यपूर्व गएका छन्। त्यस्तै, मध्यपूर्वबाट यस अवधिमा जम्मा ६ हजार ३७० अर्थात् दैनिक सरदर ६३७ जना नेपाल फर्किएका छन्।
इरानमा अमेरिका-इजरायलको हमलापछि १६ फागुन (२८ फेब्रुअरी)मा इरानले खाडी तथा मध्यपूर्वका विभिन्न देशमा रहेका अमेरिकी सैन्य अड्डामा आक्रमण गरेको थियो। त्यसपछि कतार, यूएई, कुवेत, इराक, इजरायल, जोर्डन, लेबनान र बहराइनले आफ्नो आकाशमा हवाई उडान बन्द गरेका थिए। त्यसपछि केही दिन नेपालबाट युद्ध प्रभावित देशमा हवाई उडान बन्द गरिएका थिए।
२० फागुनयता भने नेपाल-मध्यपूर्वका देशमा चार वटा एयरलाइन्सले उडान गरिरहेका छन्। विमानस्थलका सूचना अधिकारी तेजबहादुर पौड्यालका अनुसार २० फागुनदेखि दैनिक १२० यात्रुदेखि १८६ जनासम्म मध्यपूर्वबाट नेपाल आएका छन् भने नेपालबाट दैनिक २३ देखि २६२ जनासम्म उता गएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र यात्रु।
काठमाडौँ विमानस्थलबाट हिमालय एयरलाइन्स, जजिरा एयर, कुवेत एयर, एयर अरेबिया, फ्लाई दुबई, कतार एयरवेज र नेपाल एयरलायन्स गरी सात वटा एयरलाइन्स सञ्चालनमा थिए। मध्यपूर्व तनावपछि फ्लाई दुबई, एयर अरेबिया, हिमालय एयर र नेपाल एयरलाइन्सले मात्र उडान-अवतरण गर्दै आएका छन्। इरानले आक्रमण गरेकै दिन १६ फागुनमा काठमाडौँ अन्तर्राष्ट्रिय विमानस्थलबाट आठ हजार ११५ जना बिदेसिएका थिए भने आठ हजार ७८७ जना नेपाल फर्किएका थिए। तर, त्यसयता यात्रुको आवागमन ६० प्रतिशतले घटेको छ।
१६ फागुनअघिसम्म नेपालबाट ५० भन्दा बढी अन्तर्राष्ट्रिय उडान तथा अवतरण हुँदै आएका थिए। इरानविरुद्धको आक्रमणपछि हाल ३० हाराहारीमा मात्र अन्तर्राष्ट्रिय उडान तथा अवतरण हुँदै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तथ्यांक छ। १५ फागुनमा नेपालबाट ५४ अन्तर्राष्ट्रिय उडान र अन्य देशबाट ५२ अवतरण भएका थिए। १६ फागुनपछि भने नेपालबाट हुने अन्तर्राष्ट्रिय हवाई उडानको संख्या उल्लेख्य घटेको हो।
१६ फागुनमा ४१ उडान र ४९ अवतरण भएकामा १७ फागुनमा नेपालबाट ३८ वटा उडान मात्र भयो भने अन्य देशबाट ३६ वटा अवतरण भयो। यसरी कटौती भएका उडान मध्यपूर्वका हुन्। विमानस्थलका प्रवक्ता सन्तुष्टकुमार बस्नेतका अनुसार मध्यपूर्वमा तनाव भएयता ती देशका उडान प्रभावित भइरहेका छन्। बस्नेत भन्छन्, “इरानमाथिको आक्रमणपछि मध्यपूर्वमा रोजगारीका लागि जाने नेपालीको संख्या धेरै घटेको छ।”

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु।
सामान्य अवस्थामा दैनिक दुई हजार ३०० भन्दा बढी नेपाली वैदेशिक रोजगारीका लागि विभिन्न देश जाने गर्छन्। त्यसमध्ये अधिकतर मध्यपूर्वका विभिन्न देश जान्छन्। मध्यपूर्व तनावपछि सरकारले यी देशहरूमा श्रम स्वीकृति नै बन्द गरेको छ। इरानमा तनाव सुरुअघि १६ फागुनसम्म ५३ हजार हाराहारीले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्यांक छ।