काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

फुटबल

देशमा फुटबल गतिविधि सञ्चालन गर्ने जिम्मा पाएको संस्था नै अनिर्णयको बन्दी हुँदा नेपाली फुटबलको भविष्य अन्योलमा

२ चैत्र २०८२
अखिल नेपाल फुटबल संघ (एन्फा)को गेट अगाडि विभिन्न क्लब र समर्थकहरूले सोमबार गरेको विरोध प्रदर्शन। सबै तस्बिर : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

पुरानै सहमति कायम रहेको भए राष्ट्रिय लिग सकिएको एक महिनाभित्रै ‘ए’ डिभिजन लिगको नयाँ संस्करण सुरु भइसक्ने थियो। तर, राष्ट्रिय लिग समापनतर्फ उन्मुख हुँदै गर्दा ३० चैतदेखि सुरु हुने भनिएको शीर्षस्तरको लिगबारे तयारीअघि बढ्न नपाउँदै अन्योलको बादल मडारिन थालेको छ।

अन्योलको मुख्य कारण स्वयं अखिल नेपाल फुटबल संघ (एन्फा) रहेको नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान तथा मध्यपुर युथ क्लबका अध्यक्ष उपेन्द्रमान सिंह आरोप लगाउँछन्।

“लिग खेल्ने क्लबहरूले हो। एन्फाले घोषणा गरेको मितिमा लिग सुरु हुनु व्यावहारिक रूपमा सम्भव देखिँदैन,” सिंह भन्छन्, “ए डिभिजन भनेको देशकै शीर्षस्तरको लिग हो। यो हाँस वा कुखुरा कपजस्तो सामान्य प्रतियोगिता होइन। यस्तो लिग सञ्चालन गर्न योजना, समय र तयारी आवश्यक हुन्छ।”

विवादको भुमरीमा ‘ए’ डिभिजन लिग

नेपालकै सबैभन्दा पुरानो र प्रतिष्ठित प्रतियोगिता मानिने ‘ए’ डिभिजन लिग सामान्यतया हरेक वर्ष नियमित रूपमा आयोजना हुनुपर्ने हो। तर, व्यवस्थापकीय ढिलाइ र विवादका कारण यो लिग २७ जेठ २०८० यता सञ्चालन हुन सकेको छैन।

एन्फाले १४ फागुन २०८० मा सार्वजनिक गरेको वार्षिक क्यालेन्डरअनुसार लिग १२ पुस २०८१ देखि १५ जेठ २०८२ सम्म सञ्चालन गर्ने योजना बनाइएको थियो। तर, तय गरिएको समयमा लिग आयोजना हुन सकेन। त्यसपछि १७ कात्तिक २०८२ मा फेरि ९ पुसदेखि लिग सुरु गर्ने घोषणा गरियो। तर, त्यो मिति पनि स्थिर रहन सकेन र अन्ततः लिगलाई सार्दै पुस २०८३ सम्म धकेलियो।

लिग आयोजना हुन नसक्दा फुटबल वृत्तमा असन्तोष चुलिँदै गयो। लामो समय देखिएको अन्योल र विवादका बीच युवा तथा खेलकुद मन्त्रालयका तत्कालीन मन्त्री बब्लु गुप्ताले पनि चासो देखाएका थिए। यता, खेलाडीहरू खेल्न पाउने अधिकार माग्दै सडक आन्दोलनमा उत्रिए। पटक पटक भएको वार्तापछि एन्फाले समाधानको प्रयासस्वरूप पहिले राष्ट्रिय लिग आयोजना गर्ने र त्यसको एक महिनाभित्र ‘ए’ डिभिजन लिग सुरु गर्ने घोषणा गरेको थियो।

सिंगल राउन्ड रोबिन प्रणालीमा सञ्चालन भइरहेको राष्ट्रिय लिग अहिले ११औँ चरणमा प्रवेश गरिसकेको छ। तर, एसियाली फुटबल महासंघ (एएफसी)का प्रतियोगितामा सहभागिता सुनिश्चित गर्ने आधार मानिने ‘ए’ डिभिजन लिगबारे एन्फाले न त अहिलेसम्म ठोस तयारी अघि बढाएको छ, न त आवश्यक बजेट विनियोजन गरेको देखिन्छ।

यसै कारण शीर्ष लिगको भविष्य फेरि अन्योलमा परेको भन्दै फुटबल वृत्तमा असन्तोष बढ्न थालेको हो। सोही पृष्ठभूमिमा २४ फागुनमा खेलाडीहरूले एन्फाको मूल ढोकामै तालाबन्दी गर्दै आफ्ना माग राखेका थिए।

खेलाडीहरूले यसअघि एन्फाले प्रतिबद्धता जनाएको समयसीमाभित्रै ‘ए’ डिभिजन लिगको मिति औपचारिक रूपमा घोषणा गर्नुपर्ने माग राखेका थिए। साथै, खेलाडी अक्षयकोषको विस्तृत विवरण सार्वजनिक गर्नुपर्ने, गत वर्ष एक प्रतियोगिताबाट संकलन हुनुपर्ने करिब ६५ लाख रुपैयाँको अवस्थाबारे स्पष्ट जानकारी दिनुपर्ने माग पनि उठाएका थिए।

त्यसैगरी, सन् २०१७ यता खेलाडीहरूले पाउनुपर्ने तलब-भत्ता तथा पुरस्कार रकम अझै नपाएको भन्दै तत्काल भुक्तानी गर्नुपर्ने मागसमेत राखेका थिए। उक्त रकम उपलब्ध गराउने विषय हालको एन्फा कार्यसमितिको बैठकबाट पारित भइसकेको दाबी खेलाडीहरूको थियो।

खेलाडीहरूको तालाबन्दीपछि एन्फाको प्रशासनिक कामकाज नै प्रभावित बनेको थियो। अवस्था जटिल बन्दै गएपछि नेपाल फुटबल खेलाडी संघले अघि सारेका तीन बुँदे माग सम्बोधन गर्ने सहमति एन्फाले जनाएको थियो। सहमतिअनुसार ‘ए’ डिभिजन लिग ३० चैतबाट सुरु गर्ने र बाँकी ‘बी’ तथा ‘सी’ डिभिजन लिगहरू मंसिरभित्र सम्पन्न गर्ने घोषणा गरिएको थियो।

तर, उक्त मिति सार्वजनिक भएको साता दिन नबित्दै नयाँ विवाद सतहमा आएको हो। यसपटक क्लबहरूले असन्तुष्टि जनाएका छन्। “हामीसँग यो मितिमा कुनै सहमति भएकै छैन, खेलाडीसँग मात्र भएको हो। अर्को कुरा, हामीसँग पहिला नै सम्झौता भएको होम एन्ड अवे प्रणालीमा मात्र हामी लिग खेल्न तयार हो,” एन्फाका पूर्वअध्यक्ष तथा हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्माछिरिङ शेर्पा भन्छन्।

१७ कात्तिक २०८२ मा एन्फा र ‘ए’ डिभिजनका १४ क्लबबीच भएको सहमतिअनुसार लिगलाई ‘होम एन्ड अवे’ प्रणालीमा सञ्चालन गर्ने निर्णय गरिएको थियो। उक्त निर्णयको उद्देश्य लिग फुटबललाई अझ व्यवस्थित र प्रभावकारी बनाउँदै नेपाली फुटबलमा संरचनागत तथा ऐतिहासिक परिवर्तन ल्याउने उल्लेख छ।

सहमतिअनुसार लिगमा सहभागी क्लबलाई क्रमशः पूर्ण व्यावसायिक मोडेलतर्फ उन्मुख गराउने, खेलाडीलाई वर्षभर रोजगारीको अवसर सिर्जना गर्ने तथा अन्ततः सक्षम र प्रतिस्पर्धी नेपाली राष्ट्रिय फुटबल टोली निर्माण गर्ने दीर्घकालीन लक्ष्य पनि राखिएको थियो। यसका साथै, हालको लिग संरचनालाई परिमार्जन गर्दै घरेलु लिगलाई देशका विभिन्न सहरमा प्रभावकारी रूपमा सञ्चालन गर्ने अवधारणा अघि सारिएको थियो।

उक्त सहमति कार्यान्वयनका लागि विभिन्न चरणगत कार्यतालिका पनि तय गरिएको थियो। त्यसअनुसार ‘ए’ डिभिजनका १४ क्लबले आफ्नो ‘होम ग्राउन्ड’ छनोट गरी २०८२ चैत मसान्तभित्र आवश्यक कागजी प्रक्रिया पूरा गर्ने सहमति भएको थियो।

त्यसपछि ३ जेठ २०८३ मा लिगबारे एन्फाले क्लबहरूलाई औपचारिक जानकारी तथा पत्राचार गर्ने, ५ साउनमा सहभागी क्लबहरूको ‘होम ग्राउन्ड’ को निरीक्षण गर्ने तथा ३ भदौमा ‘होम एन्ड अवे’ प्रणाली प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक प्राविधिक जनशक्ति तयार पार्न प्रशिक्षण तथा कार्यशाला आयोजना गर्ने सहमति भएको थियो।

उक्त प्रशिक्षणमा भेन्यु म्यानेजर, मिडिया अफिसर, सेक्युरिटी अफिसर, रेफ्री कोअर्डिनेटरलगायत प्राविधिक जनशक्तिलाई समेट्ने योजना बनाइएको शेर्पा स्मरण गर्छन्।

कति सम्भव छ लिग?

‘ए’ डिभिजन लिग सुरु हुन अब २८ दिन मात्र बाँकी रहँदा क्लबहरू पुनः आन्दोलनमा उत्रिएका छन्। क्लबहरूले सातबुँदे माग अघि सार्दै ‘होम एन्ड अवे’ प्रणालीमा लिग सञ्चालन गर्नुपर्ने र १४ वटै क्लबको सहभागिता सुनिश्चित हुनुपर्नेलगायत विषय उठाएका छन्। सोही मागसहित क्लबका प्रतिनिधिहरू सोमबार एन्फा पुगेका थिए।

तर, उनीहरूलाई एन्फा परिसरमा प्रवेश गर्नै दिइएन। पछि आठ क्लबका प्रतिनिधिलाई बोलाएर गरिएको वार्ता पनि निष्कर्षविहीन बनेपछि लिग निर्धारित मितिमै हुने सम्भावना कमजोर बन्दै गएको थ्रीस्टार क्लबका उपाध्यक्ष जयकिशन श्रेष्ठ बताउँछन्।

“खेलाडी, क्लब र एन्फा सबै बसेर छलफल गर्नुपर्ने विषय हो। तर, यहाँ त समन्वयकै अभाव देखियो। खेलाडीहरूको दबाब थेग्न नसकेर हतारमा मिति घोषणा गरिएको जस्तो देखिन्छ,” श्रेष्ठ भन्छन्, “हामीलाई राति ८ बजेतिर मात्रै इमेल पठाइन्छ। अर्को महत्त्वपूर्ण विषय भनेको थ्रीस्टारको मुद्दा अझै टुंगो लागेको छैन। त्यसैले एन्फाले निर्वाचनपछि मात्रै अर्को बैठक बोलाउने संकेत गरेको जस्तो देखिन्छ।”

थ्रीस्टारसँग सम्बन्धित विवाद पनि लिगको अन्योलको प्रमुख कारण बनेको छ। एन्फाले भिसा सकिएका विदेशी खेलाडी खेलाएको भन्दै कारबाहीस्वरूप थ्रीस्टारको तीन अंक घटाउँदा ‘बी’ डिभिजनमा घटुवा भएको थियो। तर, थ्रीस्टारले पाटन उच्च अदालतबाट आफ्नो ‘ए’ डिभिजनको हैसियत पुनः कायम गराउने आदेश प्राप्त गरेको छ।

यससँगै अर्को जटिलता पनि देखिएको छ। ‘बी’ डिभिजनमा घटुवा भए पनि राष्ट्रिय लिगमा ‘ए’ डिभिजनको मान्यतामा खेलिरहेको विभागीय टोली एपीएफ क्लबको अवस्थाबारे पनि स्पष्टता छैन। यो विवाद समाधान नै नगरी एन्फाले गत शनिबार यी दुई क्लबबाहेक बाँकी १३ क्लबलाई मात्र टिम दर्ता गर्न पत्र पठाएको छ। त्यसैले पछिल्लो संस्करणमा थ्रीस्टार कारबाहीमा परेपछि ‘ए’ डिभिजनमै बस्न पाएको एपीएफ वा अदालतबाट हैसियत पुनः प्राप्त गरेको थ्रीस्टारमध्ये कसले लिग खेल्ने भन्ने विषय टुंगो लगाउनुपर्ने श्रेष्ठ जिकिर गर्छन्।

“गरेका सबै सम्झौता एन्फाले कार्यान्वयन गर्नुपर्‍यो। एक मेल स्वाट्ट पठाएको छ, अर्को लिग कहिले हुन्छ भनेर यकिन छैन। अर्को कुरा उच्च अदालतले दिएको आदेश पनि पालना भएको छैन। यो सबै नटुंगीकन लिग हुन सक्दैन,” उनी भन्छन्।

एन्फा प्रवक्ता सुरेश शाह भने क्लबहरूसँग भएको सहमतिअनुसार राष्ट्रिय लिग सम्पन्न भएको एक महिनाभित्रै ‘ए’ डिभिजन लिग आयोजना गर्ने निर्णय दोहोर्‍याउँछन्। उनका अनुसार यही सहमतिका आधारमा लिगको मिति तय गरिएको हो।

यद्यपि, पछिल्ला असन्तुष्टिलाई ध्यानमा राख्दै क्लब, खेलाडी र एन्फाबीच पुनः अर्को चरणको छलफल हुन सके अझ सकारात्मक वातावरण बन्ने उनको बुझाइ छ। समस्या समाधानका लागि एन्फा संवाद र सहमतिका माध्यमबाट अघि बढ्न तयार रहेको उनी बताउँछन्।

“यो सबै प्रक्रियाअनुसार नै अघि बढिरहेको विषय हो। यसमा हाम्रोतर्फबाट कुनै बलजफ्ती वा एकतर्फी निर्णय भएको छैन। त्यसैले पनि वार्ता र छलफलमार्फत समाधान खोज्ने बाटो अझै खुला नै छ र हामी त्यसका लागि तयार छौँ,” उनी भन्छन्।