काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

उड्डयन

दुई वटा ट्विनअटर खरिद गर्ने, दुई एटीआर-७२ र दुई न्यारोबडी जहाज किन्ने र नसके भाडामा लिने

४ चैत्र २०८२
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरको ह्यांगरनजिकै नेपाल वायुसेवा निगमले खरिद गरेका चिनियाँ जहाज बायाँबाट क्रमश: दुई वटा वाई-१२ (साना) र दुई वटा एमए-६० (ठूला)। फाइल तस्बिर : बिक्रम राई
अ+
अ-

नेपाल वायुसेवा निगमले आन्तरिक र बाह्य दुवै क्षेत्रको उडान विस्तारका लागि नयाँ जहाज खरिद गर्ने र तत्काल खरिद गर्न नसकिने अवस्था भए भाडामा लिएर भए पनि चलाउने प्रस्ताव अघि बढाएको छ।

निगमले उच्च पहाडी तथा पहाडी क्षेत्रमा उडान विस्तारका लागि चार वटा जहाज किन्ने प्रस्ताव संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पेस गरेको हो। उच्च पहाडी क्षेत्रमा उडान गर्न दुई वटा ट्विनअटर डीएचसी-६ र ट्रंक रुट अर्थात् मुख्य उडान मार्गका लागि दुई वटा एटीआर-७२ सिरिजका जहाज खरिद गर्ने निगमको प्रस्ताव छ। यीमध्ये एटीआर-७२ जहाज भने खरिद गर्न नसके भाडामा लिएर चलाउने प्रस्ताव गरिएको छ।

निगमका कार्यकारी निर्देशक अमृतमान श्रेष्ठका अनुसार पहिले सेवा दिइरहेका ठाउँमा पनि उडान नरहेकाले सकेसम्म जहाज किन्न र नभए भाडामा लिएर चलाउने प्रस्ताव गरिएको हो। आन्तरिक उडानका विराटनगर, भद्रपुर, धनगढीलगायत ट्रंक रुटमै निगमको उपस्थिति छैन। श्रेष्ठ भन्छन्, “आन्तरिक उडानका लागि जहाज अभाव छ, पहाडी तथा हिमाली जिल्लालाई हवाई यातायातबाट जोड्न जहाज खरिदको प्रस्ताव लगेका हौँ।”

सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा समावेश गर्ने गरी निगमले जहाज खरिदको प्रस्ताव गरेको हो।

निगमसँग तीन वटा ट्विनअटर जहाज क्यानेडियन डीएचसी-६ छन्। यीमध्ये दुई वटा दुर्गम क्षेत्रमा उडिरहेका छन् भने एउटा जहाज समस्या आएर डेढ दशकदेखि त्रिभुवन विमानस्थलमै थन्किएको छ। दुई वटा ट्विनअटर जहाजले रुकुम, नेपालगन्ज, जुम्ला, सुर्खेत, रुम्जाटार, रेसुंगा, दाङ, डोल्पा, सिमिकोट (हुम्ला), इलाम, सुर्खेत, ताप्लेजुङ, भोजपुर, थामखर्क (खोटाङ), फाप्लु विमानस्थल (सोलुखुम्बु)मा उडान गरिरहेका छन्। यी जहाज १९ सिट क्षमताका छन्।

नयाँ किन्न प्रस्ताव गरिएका दुई वटा ट्विनअटर जहाज क्यानेडियन डीएचसी-६ मोडलकै हुन्। यसका लागि करिब साढे दुई अर्ब रुपैयाँ बजेट प्रस्ताव गरिएको छ।

सन् २०१३ देखि भूमिस्थ (‘ग्राउन्डेड’) ट्विनअटर जहाज मर्मतका लागि ४० करोड रुपैयाँ लाग्ने अनुमान छ। उक्त बजेट उपलब्ध भए त्यो जहाज पनि सञ्चालनमा ल्याउन सकिने श्रेष्ठ बताउँछन्।

यस्तै, निगमले दुई वटा एटीआर-७२ जहाज खरिद गर्ने प्रस्ताव गरेको छ। ७२ सिट क्षमताका उक्त फ्रान्सेली जहाज खरिद गर्न साढे पाँच अर्ब रुपैयाँ बजेटको प्रस्ताव गरिएको छ। एटीआर-७२ जहाज बुद्ध र यती एयरलाइन्सले सञ्चालन गरिरहेका छन्।

निगमले अन्तर्राष्ट्रिय उडानका लागि एयरबस कम्पनीका दुई वटा न्यारोबडी जहाज भाडामा लिएर सञ्चालन गर्ने प्रस्ताव पनि सरकारसँग गरेको छ।

यसअघि आन्तरिक उडानका लागि भनेर उपहारमा आएका र खरिद गरिएका चिनियाँ जहाज अहिले सञ्चालनमा छैनन्। चीनबाट ल्याइएका दुई वटा एमए-६० र तीन वटा वाई-१२ जहाज त्रिभुवन विमानस्थलमा पाँच वर्षदेखि ग्राउन्डेड छन्।

२०७५ सालमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले आन्तरिक उडानका लागि ६ वटा जहाज खरिद गर्ने तयारी अघि बढाएका थिए। त्यसबेला निगमका कार्यकारी निर्देशक सुगतरत्न कंसाकार थिए। तर, कंसाकार पदमुक्त भएको र हेलिकोप्टर दुर्घटनामा अधिकारीको निधन भएपछि जहाज किन्ने प्रक्रिया अघि बढ्न सकेन।

काठमाडौँ नयाँ सडकस्थित‍ नेपाल वायुसेवा निगमको केन्द्रीय कार्यालय। तस्बिर : बिक्रम राई

नेपालमा ५५ वटा विमानस्थल छन्। जसमध्ये ३४ वटा मात्रै सञ्चालनमा छन्। दुर्गम क्षेत्रमा हवाई यातायात जोड्न निर्माण गरिएका २१ वटा विमानस्थल चल्दैनन्। निजी वायुसेवा कम्पनीले त्यहाँ जहाज पुर्‍याउन सकेका छैनन्। सरकारी ध्वजावाहक निगमले जहाज अभावका कारण दुर्गममा नियमित र प्रभावकारी उडान गर्न सकेको छैन।

दुई न्यारोबडी भाडामा लिने प्रस्ताव

निगमले अन्तर्राष्ट्रिय उडानका लागि एयरबस कम्पनीका दुई वटा न्यारोबडी जहाज भाडामा लिएर सञ्चालन गर्ने प्रस्ताव पनि सरकारसँग गरेको छ। निगमका कार्यकारी निर्देशक श्रेष्ठ अन्तर्राष्ट्रिय क्षेत्रमा उडान विस्तारका लागि न्यारोबडी जहाज भाडामा लिएर भए पनि चलाउनुपर्छ भनेर प्रस्ताव गरिएको बताउँछन्।

वाइडबडी जहाज छोटो दूरीका गन्तव्यमा उडाउनुपर्दा निगमले नाफा कमाउन नसकिरहेको निगमका अधिकारीहरू बताउँछन्।

अहिले निगमसँग दुई वटा न्यारोबडी जहाज एयरबस ए-३२० र दुई वटा वाइडबडी जहाज ए-३३० सञ्चालनमा छन्। निगमको वाइडबडी ए-३३० उडिरहेको सबैभन्दा लामो गन्तव्य नारिता (जापान) मात्रै हो। यस जहाजले दोहा, दुबई र दिल्लीमा पनि उडान गरिरहेको छ। वाइडबडी जहाज छोटो दूरीका गन्तव्यमा उडाउनुपर्दा निगमले नाफा कमाउन नसकिरहेको निगमका अधिकारीहरू बताउँछन्। कार्यकारी निर्देशक श्रेष्ठ भन्छन्, “अन्तर्राष्ट्रिय क्षेत्रका छोटो दूरीमा उडान विस्तारका लागि जहाज आवश्यक छ। भएका जहाज मर्मतमा लैजाँदा पनि थप जहाज चाहिन्छ। सकेसम्म त जहाज किनेरै चलाउन सक्दा राम्रो हो, नभए भाडामा लिएर भए पनि सेवा विस्तार गर्ने प्रस्ताव गरेका हौँ।”

निगमका अन्तर्राष्ट्रिय उडान गन्तव्य १२ वटा छन्। काठमाडौँसहित दुबई, दोहा, रियाद, दिल्ली, मुम्बई, ब्याङ्‌लोर, ग्वान्झाउ, हङकङ, बैंकक, क्वालालम्पुर र नारितामा निगमको उडान सञ्चालनमा छ। दुई वटा न्यारोबडी भाडामा लिएर भारतसहित १४ स्थानमा उडाउने योजना रहेको श्रेष्ठ बताउँछन्।

नेपालले विभिन्न समयमा युरोपसहितका ४२ देशसँग हवाई उडान सम्झौता गरेको छ। दुई दशकअघि ५ असोज २०६१ मा दक्षिण कोरियासँग भएको सम्झौता अझै कार्यान्वयनमा आएको छैन। निगमले कोरियामा उडान साकार पार्न लागिपरेको जनाएको छ। छिमेकी भारतका ११ वटा सहरमा नेपालबाट हवाई उडान गर्न सक्ने सम्झौता छ। श्रेष्ठ भन्छन्, “दुई वटा न्यारोबडी जहाज भाडामा लिएपछि ए-३३० वाइडबडी अस्ट्रेलिया र जापानमा मात्रै उडाउने योजना बनाएका छौँ। छोटो दूरीमा ठूलो जहाज उडाउँदा नोक्सानी हुन्छ।”

निगमले ग्राउन्डेड अवस्थामा रहेका चिनियाँ जहाज र बोइङ-७५७ जहाज सञ्चालनको सम्भाव्यता अध्ययन गर्न समिति बनाएको छ। उक्त समितिले प्रतिवेदन दिइसकेको छैन। “उक्त समितिले प्रतिवेदन दिएपछि विमानस्थलमा थन्किएका ती जहाजको विषयमा के गर्ने भन्ने निर्णय लिन्छौँ,” कार्यकारी निर्देशक श्रेष्ठ भन्छन्।