काठमाडौँ। गायक रामकृष्ण ढकालको निर्माण तथा प्रस्तुति रहेको नेपाली चलचित्र ‘मालती मंगले’ को शीर्ष गीत ‘सुनैको सपनी…’ सार्वजनिक गरिएको छ।
२५ वैशाख २०८३ बाट प्रदर्शनमा आउन लागेको चलचित्रको सांगीतिक पाटोलाई लिएर दर्शकमाझ निकै उत्सुकता थियो।
रानी फिल्म्सको ब्यानरमा निर्माण भएको यस चलचित्रको सार्वजनिक गीतमा आनन्द अधिकारीको शब्द, उज्ज्वल सागरको संगीत तथा स्वयं रामकृष्ण ढकाल र रचना रिमालको स्वर छ। उदयराज पौडेलले एरेन्ज गरेको यो गीतले एउटा विशुद्ध ग्रामीण प्रेमकथाको भाव बोकेको छ।
गीत सार्वजनिक कार्यक्रमको सबैभन्दा विशेष र भावुक पल त्यति बेला बन्यो, जति बेला निर्माता तथा गायक ढकालले संगीतकार उज्ज्वल सागरलाई आफ्नो हस्ताक्षरसहितको एउटा गितार उपहारस्वरूप प्रदान गरे। आफ्नो जादुमयी संगीत भरेकामा सम्मान स्वरूप दिइएको गितार ग्रहण गर्दै सागरले यस टिमसँग जोडिएर काम गर्न पाउँदा आफू निकै उत्साहित रहेको बताए। उज्ज्वल दृष्टिविहीन छन्।
आफ्नो पहिलो निर्देशकीय चलचित्रमै विश्वास गरेकामा निर्देशक प्रकु पाण्डेयले ढकालप्रति आभार प्रकट गरे। उनले सम्पूर्ण टिमको कडा मिहिनेतले एउटा उत्कृष्ट पारिवारिक चलचित्र तयार भएको बताए। अभिनेत्री वर्षा राउतले रामकृष्ण ढकाल जस्तो व्यक्तित्वले बनाएको चलचित्रमा अभिनय गर्न पाउनु नै आफ्नो लागि ठुलो कुरा भएको बताइन्। मुख्य अभिनेता विजय बराल भने अर्को चलचित्रको छायांकनमा व्यस्त रहेका कारण कार्यक्रममा उपस्थित हुन सकेका थिएनन्।
चलचित्रमा विजय बराल, वर्षा राउत र मेक्सम गौडेल मुख्य भूमिकामा छन्। साथै नरिन थापा, मान्सु सापकोटा, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनील तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मालगायत कलाकारको अभिनय छ। चलचित्रका छायाकार महेश पौडेल हुन्।