काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

५ चैत्र २०८२
तस्बिर स्रोत : एन्फाको फेसबुक पेज
अ+
अ-

काठमाडौँ। गृह मन्त्रालयअन्तर्गतको अध्यागमन विभागले पर्यटकीय भिसामा रहेका विदेशीलाई नेपालमा हुने फुटबल खेलमा सहभागी नगराउन अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निर्देशन दिएको छ। बिहीबार विभागले एन्फालाई पत्र पठाउँदै पर्यटक भिसामा रहेका विदेशीलाई खेल गतिविधिमा संलग्न नगराउन निर्देशन दिएको हो।

“संघबाट सञ्चालन भएको राष्ट्रिय महिला/पुरुष लिग फुटबल खेलमा सहभागी भएका फुटबल क्लबहरूले पर्यटक भिसा लिएका विभिन्न मुलुकका विदेशी खेलाडीहरूलाई समेत समावेश गरेको भन्ने व्यहोराको उजुरी यस विभागमा प्राप्त हुन आएको छ,” अध्यागमनले पत्रमा भनेको छ, “तसर्थ, कुनै पनि खेलमा विदेशी खेलाडीहरूलाई समावेश गराउनुपर्ने भएमा नियमानुसार कार्यसहमति र श्रम स्वीकृति लिएर मात्र सहभागी गराउनुहुन अनुरोध छ।”

अध्यागमन नियमावली, २०५१ को नियम २० मा विदेशीले जुन उदेश्यले भिसा लिएको हो सो मात्र गर्न पाउने व्यवस्था छ।

पत्रमा स्वीकृति नलिएका विदेशी खेलाडीहरू भिसाको उद्देश्यविपरीत कुनै पनि खेलमा सहभागी भएको पाइएमा तत्काल कारबाही हुने बताइएको छ। “सो सम्बन्धमा यस विभागबाट आजैदेखि अनुगमन प्रारम्भ भएको हुँदा स्वीकृति नलिएका विदेशी खेलाडीहरू भिसाको उद्देश्यविपरीत कुनै पनि खेलमा सहभागी भएको पाइएमा तत्काल कारबाही अगाडि बढाइने व्यहोरा निर्णयानुसार जानकारी गराइन्छ,” अध्यागमनले भनेको छ।

एन्फाले सञ्चालन गरेको राष्ट्रिय महिला तथा पुरुष  लिगमा पर्यटक भिसामा आएका खेलाडीलाई खेलाएको उजुरी परेपछि विभागले यसमा चासो देखाएको थियो।