स्टक मार्केट
रकमका आधारमा आज सबैभन्दा बढी ङादीपावर कम्पनी लिमिटेडको ६७ करोड १६ लाख १६ हजार ५३६ रुपैयाँको कारोबार
काठमाडौँ। साताको अन्तिम कारोबार दिन आज (बिहीबार) नेप्से ६४.६७ अंकले बढेर बन्द भएको छ।
यो साताको पाँच कारोबार दिनमा चार दिन नेप्से खुला रह्यो। बुधबार भने घोडेजात्रा भएकाले नेप्से बन्द रह्यो। यो साता सोमबार २६.०७ अंकले घटेको नेप्से आइतबार ४.४५ र मंगलबार १३.५१ अंकले बढेको थियो।
अघिल्लो कारोबार दिनको तुलनामा २.२९ प्रतिशतले बढेको नेप्से २८७७.०२ विन्दुमा रोकिएको छ। आजको दिनमा सेन्सेटिभ इन्डेक्स पनि ११.६२ अंकले बढेर ४९४.१९ विन्दुमा रोकिएको छ। प्रतिशतका आधारमा यो अघिल्लो दिनको तुलनामा २.४० प्रतिशतले बढी हो।
सेयर बजारमा बिहीबार ३४२ कम्पनीको एक लाख ९१ हजार २५१ पटकको कारोबारमा पाँच करोड ६९ लाख २० हजार ६०८ कित्ता सेयर किनबेच भए। जसअनुसार बिहीबार २१ अर्ब २२ करोड ३४ लाख ९४ हजार ८८६ रुपैयाँको कारोबार भयो।
नेप्सेमा आइतबार १४ अर्ब ३२ करोड ९६ लाख चार हजार ३१५ रुपैयाँको कारोबार भएको थियो। सोमबार ११ अर्ब ९७ करोड ४६ लाख ९६ हजार ८८ रुपैयाँको कारोबार भएको थियो भने मंगलबार १२ अर्ब तीन करोड ४४ लाख ६ हजार ३२८ रुपैयाँको कारोबार भएको थियो। बुधबार भने सार्वजनिक बिदा (घोडेजात्रा)का कारण नेप्से बन्द रह्यो।

सेयर बजारमा आज २४० कम्पनीको सेयर मूल्य बढ्यो। २२ कम्पनीको सेयर मूल्य मात्र ओरालो लाग्दा दुई कम्पनीका सेयर मूल्य स्थिर रहे। नेप्सेमा मंगलबार १३ समूहको कारोबार भएकामा सबै समूहका उपसूचक बढेर हरियाली छाएको छ।
जसअनुसार वाणिज्य बैंक समूहको सूचक ३.१६‚ विकास बैंक ३.९५‚ फाइनान्स १.९४ र होटेल तथा पर्यटन समूहका सूचक १.७५ प्रतिशतले बढे। यसैगरी जलविद्युत् २.२९‚ लगानी १.७७‚ जीवन बिमा २.७६‚ उत्पादन तथा प्रशोधन समूह १.८९ प्रतिशतले उकालो लाग्यो।
यस्तै लघुवित्त १.२४‚ म्युचुअल फन्ड ०.०४‚ निर्जीवन बिमा १.८०‚ अन्य १.९७ र व्यापार समूहको सूचक ०.१६ प्रतिशतले बढे।
नेप्सेमा बिहीबार कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड‚ साल्पा विकास बैंक लिमिटेड र रिलायन्स स्पिनिङ मिल्स लिमिटेडका सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। अर्थात् यी कर्पोरेट‚ साल्पा र रिलायन्सका लगानीकर्ताले १० प्रतिशतले आम्दानी गरे।
यस्तै नेपाल लाइफ समृद्धि योजनाका लगानीकर्ताहरूले भने ५.१२ प्रतिशतले घाटा बेहोरे।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी ङादीपावर कम्पनी लिमिटेडको ६७ करोड १६ लाख १६ हजार ५३६ रुपैयाँको कारोबार भएको छ। ङादीको अन्तिम कारोबार मूल्य ४७४ रुपैयाँ कायम रह्यो। त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा सबैभन्दा बढी अपर तामाकोसी हाइड्रोपावर लिमिटेडको सेयर २५ लाख ४८ हजार २७१ कित्ता किनबेच भएको छ। यसको अन्तिम कारोबार मूल्य भने प्रतिकित्ता २३५ रुपैयाँ कायम रह्यो।