भूपी शेरचन नेपाली साहित्यमा चिनाइराख्नुपर्ने नाम होइन। घुम्ने मेचमाथिको अन्धो मान्छेका लागि साझा पुरस्कारबाट पुरस्कृत कवि शेरचन काव्यिक कौशलता र जीवनशैलीका लागि पनि उत्तिकै चर्चित छन्। आज पनि उनको लवाइखवाइ, पिउने आदत, प्रेम सम्बन्धबारे उनका कविताहरूको झैँ चर्चा र विमर्श गरिन्छ।
सन् २०२३ को अन्त्यमा कवि शेरचनकी छोरी कविता शेरचनले बुवासँगको संस्मरणलाई लिएर लेखेको पुस्तक भूपी : अ डटर्स मेमोयर फाइनप्रिन्टमार्फत प्रकाशन भएको हो। भूपीबारे उनकै छोरीले लेखेको पुस्तक धेरै पाठकका लागि उत्सुकता र चर्चाको विषय बनेको छ।
नेपाली साहित्यको कविता विधाका केन्द्रीय पात्र भूपीबारे केही लेख्नु पक्कै सहज काम होइन। झन् बुवाकै बारे कठोर भएर कलम चलाउनु चुनौतीपूर्ण हुने नै भयो। छोरीको सम्बन्धका अनेकौँ पहेलीहरू हुन्छन्, यस अर्थमा कविताका लागि यो सजिलो र कठिन दुवै चिज हो। पुस्तक पढ्दा यस्ता सहजता र असहजताका कुराहरू पाठकलाई पनि महसुस हुन्छ।
पुस्तक पढ्दै जाँदा कतिपय सन्दर्भमा जति गहिराइमा गएर लेखिनुपर्ने थियो, त्यति लेखिएन कि भन्ने खट्किन्छ। छोरी कविताले भूपीलाई पिताका रूपमा व्याख्या गर्दासमेत उनको कवि व्यक्तित्वको प्रतिच्छाया हाबी भएको देखिन्छ। यसका बाबजुद पुस्तकभित्र पाठकका लागि मन पर्ने कविलाई नजिकबाट चिन्न/बुझ्न पाउने प्रशस्त खुराक छन्।
पिता भूपी
संस्मरणलाई दुई भागमा बाँडिएको छ। पहिलो भागमा उनको पारिवारिक व्यक्तित्वलाई खुलाइएको छ। दोस्रो भागमा भूपीको कवि व्यक्तित्वबारे लेखिएको छ। कविताले कवि हृदयकै प्रतिस्वरूप भूपीलाई एक कोमल पिताका रूपमा व्याख्या गरेकी छन्। सानैमा आमा गुमाएका भूपीमा मातृत्व प्रेमको भोक सधैँ रहिरह्यो भन्ने कुरा पनि उल्लेख गरेकी छन्। संस्मरणको प्रथम खण्डको पहिलो भागलाई ‘आमा टोकुवा’ शीर्षक दिइएको छ, जसले भूपीको बाल्यकाल बोल्छ। सानैमा आमा गुमाएका भूपीका लागि प्रेमको खोजी सधैँ जीवनको मूल बाटो बन्यो भन्ने कुरा खुलाउँछ।
पुस्तकमा जेठी श्रीमतीका सन्तानहरूसँग भूपीको सम्बन्धको बारेमा केही भेटिँदैन। सन्तानलाई असाध्यै माया गर्ने पिताले किन ६ सन्तान भएपछि पनि कुनै सम्बन्ध र पारिवारिक बन्धनमा नरहेझैँ गरी कसरी अर्की श्रीमती भित्र्याए भन्ने कुराबारे पुस्तकले केही बोल्दैन।
कविताका अनुसार पिताका रूपमा उनको छवि कविका रूपमा भन्दा फरक थियो। साहित्यिक वृत्तमा भूपीलाई एक पियक्कड कविका रूपमा समेत उल्लेख गरिन्छ। तर, कविता दुई वर्षकी हुँदा भूपीले रक्सी छाडिसकेका थिए। त्यसैले भूपी उनका लागि रक्सी पिउने पिता थिएनन्। पुस्तकमा यस विषयमा खुलेर लेखिएको छ। कविताका अनुसार भूपीको मृत्यु रक्सीको कारण नभई चुरोटका कारण भएको थियो। पुस्तकमा उनले यो कुरा बारम्बार उल्लेख गरेकी छन्।
संस्मरणमा कविता पटक पटक दोहोर्याउँछिन्– सानैमा आमा गुमाएका भूपीमा सन्तानहरूलाई मायाप्रेमको कमी नहोस् भन्ने भावना थियो। तथापि, पुस्तकमा जेठी श्रीमतीका सन्तानहरूसँग भूपीको सम्बन्धको बारेमा केही भेटिँदैन। सन्तानलाई असाध्यै माया गर्ने पिताले किन ६ सन्तान भएपछि पनि कुनै सम्बन्ध र पारिवारिक बन्धनमा नरहेझैँ गरी कसरी अर्की श्रीमती भित्र्याए भन्ने कुराबारे पुस्तकले केही बोल्दैन। बोल्छ त केवल उनको कोमलताको कथा। एक कोमल पिताको कथा।
त्यसैगरी, लेखकले पुस्तकमा भूपीलाई एक महिलावादी पिता वा मानिसका रूपमा उभ्याएकी छन्। पहिली श्रीमती र सन्तानसँगको सम्बन्ध नखुलाईकन भूपीलाई नारीवादी मान्नुमा कविताले छोरीको दृष्टिबाट मात्र व्याख्या गरेको देखिन्छ। उनी बारम्बार भन्छिन्– भूपी विवाहित र ६ सन्तानका पिता भए पनि कविताकी आमा कान्तिलाई बिहे गर्नुअघिसम्म भूपीको जीवनशैली एक अविवाहित लोग्नेमानिसको जस्तै थियो। यसबाट पहिली श्रीमती र सन्तानप्रति भूपीको बेवास्ता र गैरजिम्मेवारी मजाले बोल्छ। तथापि, कविताले अनेकौँ ठाउँमा भूपीलाई दोषरहित मानिसका रूपमा उभ्याउन खोजेकी छन्।
बनारसले भूपीलाई भूपी बनाउन महत्त्वपूर्ण भूमिका खेल्यो। जहाँ उनी साहित्य र कम्युनिस्ट विचारधारासँग नजिकिए। जसको कारण उनलाई नेपालमा चलिराखेको राजनीतिक, सामाजिक आन्दोलन बुझ्न र नजिकिन सहयोग गर्यो
कवि हुनु भनेको कविता लेख्नु मात्र होइन। आफैँलाई निर्मम भएर हेर्नु पनि हो। आफ्नै विरोधाभासालाई केलाएर हेर्नु पनि हो। आफ्नै चरित्र र प्रवृत्तिलाई टाढाबाट निर्मम भएर हेर्न सक्नु पनि हो।
तर, यो संस्मरण एक कवि पिताबारे लेखिएको छोरीको व्याख्या जस्तो मात्र बन्न पुगेको छ। एक कवि जसको जीवन आफैँमा सजिलो थिएन। सानैमा आमा गुमाउनु, धनी पिताका आकांक्षाहरू पूरा गर्न नसक्नु, ६ सन्तान र श्रीमती हुँदाहुँदै कान्छी श्रीमती भित्र्याउनु, आफ्नै लतहरूबाट बाहिर निस्कन खोज्नु, उमेरमै रोगले गल्नु। सरसर्ती घटनाक्रमहरू हेर्दा पनि भूपीको जीवन सजिलो थियो भन्ने पक्कै लाग्दैन। कविताको संस्मरण जे बाहिरबाट हेर्दा देखिन्छ, त्यो मात्र देखिएझैँ लाग्छ। हुन त यो छोरीले पिताबारे गरेको न्याय र प्रेम पनि हुन सक्छ। तर, लेखकका रूपमा जुन कुरा उनले ल्याउन सक्थिन्, त्यो ल्याउन नसकेकी हुन् कि भन्ने पनि देखिन्छ।

लेखक कविता शेरचन। तस्बिर स्रोत : फाइनप्रिन्ट
बनारसबाट काठमाडौँसम्म कवि भूपी
संस्मरणको दोस्रो खण्डले भूपीको काव्यिक यात्राबारे बोल्छ। भारतमा औपचारिक शिक्षा हासिल गरेका भूपीका लागि बनारस विश्वविद्यालय साहित्यक सोख र यात्रालाई अघि बढाउने थलो बन्यो। बनारस छँदै दक्षिणपन्थी लेखक र चेतनाबाट दीक्षित कवि शेरचन अन्ततः त्यही चेतना र साहित्यिक हुटहुटी बोकर काठमाडौँ भित्रिएका थिए। कविताले यसबारे संस्मरणमा मजाले लेखेकी छन्। कसरी उनी एक हुनेखाने परिवारमा हुर्केबढे पनि प्रगतिशील विचारधारासँग नजिक भए भन्ने कुरा पुस्तकमा भेटिन्छ।
उनी लेख्छिन्, ‘बनारसले भूपीलाई भूपी बनाउन महत्त्वपूर्ण भूमिका खेल्यो। जहाँ उनी साहित्य र कम्युनिस्ट विचारधारासँग नजिकिए। जसको कारण उनलाई नेपालमा चलिराखेको राजनीतिक, सामाजिक आन्दोलन बुझ्न र नजिकिन सहयोग गर्यो।’ यसले भूपीको जीवनमा बनारसको महत्त्वबारे बोल्छ।
नेपाल भित्रिएसँगै उनी नेपालको प्रजातान्त्रिक आन्दोलनसँग नजिकिए। तर, उनको कर्म भनेको कविता लेख्नु नै थियो। जुन आन्दोलनले उनको साहित्यिक चेत र शिल्पलाई अझ बलियो बनायो। पुस्तकमा कविताले उनको साहित्यिक चेतसँगै समकालीन गायक, साहित्यकारसँगको सम्बन्ध कस्तो थियो भन्नेबारे पनि लेखेकी छन्।
हुन त व्यक्तिगत कथाव्यथा लेख्नु, अझ परिवारभित्रकै मानिसबारे लेख्नु पक्कै सजिलो काम होइन। तथापि, कविताले अझ खुलेर लेखेको भए भूपीको व्यक्तित्वको नखुलेको पाटो पनि बाहिर आउँथ्यो।
यसैगरी, कविताले पिताका विषयमा चलेका हल्लाबारे पनि लेख्न छुटाएकी छैनन्। कविता लेख्छिन्, ‘बुवा बितेको तीन दशक बितिसक्दा पनि उहाँबारे पियक्कड, स्त्रीलम्पट र मानसिक रोगीका रूपमा चलेको हल्लाले छोड्न सकेन। धेरैजसो बुवाकै साथीहरूले पनि उहाँको मृत्युको कारण रक्सी हो भनेर लेखिराखे। सायद कविलाई पियक्कड बनाउनु दुःखी तर सधैँ दोहोरिने विम्ब थियो।’
उनको सोखबारे पनि पुस्तक मजाले बोल्छ। लेखनयात्राको सुरुआतदेखि प्रज्ञा-प्रतिष्ठानको अध्यक्ष भएसम्म र मृत्युसम्मको यात्रालाई बोल्ने पुस्तकको दोस्रो खण्डले भूपीलाई बढी न्याय गरेको देखिन्छ। हुन त व्यक्तिगत कथाव्यथा लेख्नु, अझ परिवारभित्रकै मानिसबारे लेख्नु पक्कै सजिलो काम होइन। तथापि, कविताले अझ खुलेर लेखेको भए भूपीको व्यक्तित्वको नखुलेको पाटो पनि बाहिर आउँथ्यो। यद्यपि, उनको प्रयासलाई नजरअन्दाज गर्न सकिँदैन।
अन्त्य : एक फुटनोट
अहिले बजारमा नेपाली संस्करण उपलब्ध भए पनि यो अंग्रेजी संस्मरणको पठन अनुभूति हो। कतिपय कुरा भाषान्तरण हुँदा मर्छ कि भन्ने अरूलाई झैँ मलाई पनि लाग्छ। कविताको भाषा र शिल्प दुवै लोभलाग्दो छ। गैरआख्यान भए पनि पढ्दा पाठकलाई बाँधिराख्छ। केही कमजोरीका बाबजुद उनले पिताबारे आलोचनात्मक हिसाबले लेखेकी छन्। तर, छोरी भएकै कारण बुवाबारे खुलेर टिप्पणी गर्न छेकेको भान हुन्छ। त्यसैले कतिपय पाठकका अपेक्षा पूरा नहुन पनि सक्छन्।
यो एक छोरीले देखेको पिताको प्रतिच्छाया हो। पाठकका रूपमा हामीले गरेका आशाहरू आफ्नै पाठकीय लोभहरू मात्र पनि हुन सक्छन्।
भूपीका कविताहरू विद्यालय र कलेजका पाठ्यक्रममा समावेश छँदै छन्। भूपीलाई अझै नजिकबाट चिनाउन यस किताबका केही अंश सन्दर्भ-सामग्री बन्न सक्छन्।