काठमाडौँ। ६१औँ अन्तर्राष्ट्रिय जातीय तथा रंगभेद उन्मूलन दिवसका अवसरमा राजकुमार विकले चित्रकलामार्फत सह-अस्तित्वको खोजी गरेका छन्।
नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानको लुम्बिनी प्रदेश समन्वय समितिको सहकार्यमा आज (शनिबार) काठमाडौँमा उनले एकल चित्रकला प्रदर्शनीमार्फत ‘सह-अस्तित्व’को खोजी गरेका हुन्।
प्रतिष्ठानको सभाहलमा सह-अस्तित्व नामक प्रदर्शनीको नवनिर्वाचित प्रतिनिधिसभाका सदस्य हरिप्रसाद भुसाल र प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले उद्घाटन गरे। भुसालले आफू पनि कला क्षेत्रसँगै जोडिएको व्यक्ति भएकाले समाजसँग जोडिएको विषय आफैँमा महत्त्वपूर्ण रहेको बताए।
उनले प्रदर्शनीमा राखिएका कलामा रङ र आकृति मात्र नभई मानवीय आवाज, संवेदना प्रकट भएको बताए। प्रदर्शनीमा राखिएका कलाकार विकका चित्र जातीय विभेदविरुद्धको सशक्त आवाज बनेर उभिएको उनको भनाइ छ। चित्रमा दलित समुदायमाथि हुने थिचोमिचो, उनीहरूका पेसा र जीवनशैली समावेश छन्।
कुलपति हार्तम्छालीले कलाकार विकले समाजमा छुवाछूतविरुद्धको अनुभूतिगत भाव सन्देशात्मक अभिव्यक्ति आफ्ना चित्र, रचनाहरूमा गरेको बताए। उनले विभेदको मुद्दालाई आफ्नो विषय बनाएर विकले सामाजिक-सांस्कृतिक रूपान्तरणका लागि कलात्मक विद्रोहको अभियान आफ्ना रचनाहरूमा थालेको बताए।
प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्लेले हाम्रा मौलिक, रैथाने शिल्पज्ञान कला, सीप सिर्जनालाई प्रवर्द्धन तथा संरक्षण गर्न अपरिहार्य रहेको बताए। कलाकार विकले कलाको विषयगत धरातलमा शोषित तथा उत्पीडित समुदायका कथा र अनुभूतिलाई रङ र ब्रसका माध्यमबाट क्यानभासमा जीवन्त बनाउँदै यस प्रदर्शनीमार्फत श्रमचेतना, सामाजिक जागरण र सचेतनालाई अझ सशक्त ढङ्गबाट उठान गरेको बताए।
प्रतिष्ठानका लुम्बिनी प्रदेश समन्वय समिति संयोजक तथा मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतोले ‘सामाजिक रूपान्तरण : ललितकलाको अभियान’ भन्ने मूल भावलाई जोड्दै कार्यक्रम आयोजना गरिएको बताए। यही १० चैतसम्म चल्ने प्रदर्शनीमा विकका ३५ कलाकृति राखिएका छन्।