आवरण
फुटबल विकासको मेरुदण्ड मानिने क्लब फुटबलमा दर्शकहरूको लगाव घट्नु दुर्भाग्यपूर्ण
राष्ट्रिय फुटबल लिग स्थगित हुनुभन्दा एक साताअघि विभागीय ‘डर्बी’ अन्तर्गत नेपाली सेनाको त्रिभुवन आर्मी र सशस्त्र प्रहरी बलको एपीएफ क्लबबीच त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा रोमाञ्चक खेल भयो। तर, त्यो खेल हेर्न ५७० दर्शक मात्र टिकट काटेर प्यारापिटमा उपस्थित थिए। २८ फागुन २०८२ मा भएको उक्त खेलमा त्रिभुवन आर्मी क्लबलाई १-० गोलले पराजित गरेको एपीएफ १२ खेलमा २५ अंक बटुल्दै लिगमा आफूलाई पाँचौँ स्थानमा उभ्याउन सफल भयो।
तेस्रो संस्करणको राष्ट्रिय लिगका खेलहरू यसपालि ३० पुसदेखि सातदोबाटोस्थित एन्फा कम्प्लेक्स र त्रिपुरेश्वरस्थित दशरथ रंगशालाका दुई फरक मैदानमा भए। एन्फा कम्प्लेक्सको सिट क्षमता तीन हजार ५०० को हाराहारीमा छ भने सुरक्षालगायत व्यवस्थापनका कारण त्यहाँ दुई हजार ५०० दर्शक मात्र अटाउन सक्छन्। दशरथ रंगशालाको क्षमता भने साढे १४ हजारको हाराहारीमा छ।
तर, पछिल्लो समय यी दुवै मैदानमा घरेलु फुटबलका खेल सञ्चालन हुँदा दर्शकको उपस्थिति नगण्य मात्रामा देखिनु चिन्ताको विषय हो। नेपालको सर्वाधिक सफल मानिने मनाङ मर्स्याङ्दी क्लब र नेपाल आर्मीको त्रिभुवन क्लबबीचको प्रतिस्पर्धालाई छोडेर अन्य खेलको तुलना गर्दा यसपालिको लिगले पनि सबैलाई निराश तुल्यायो। एन्फा कम्प्लेक्समा यी दुई क्लबबीच प्रतिस्पर्धा हुँदा एक हजार ८७५ दर्शक उपस्थित थिए।
नेपालमा फुटबल सबैभन्दा लोकप्रिय खेल मानिन्छ। ७७ वटै जिल्लामा उही जोसका साथ खेलिने हुँदा फुटबलको लोकप्रियतामा कुनै कमी देखिँदैन। तर, बाहिर यो खेलको जति चर्चा भए पनि मैदानभित्र दर्शकको उपस्थिति सोचे जस्तो भेटिँदैन। नेपाली फुटबलका लागि पक्कै यो राम्रो सन्देश होइन।

फोटो सेसनमा आर्मीका खेलाडी।
नेपालमा फुटबलको सुरुआत श्री ३ महाराज जुद्धशमशेर राणाको पालामा भएको थियो। तर, प्रतियोगिताका रूपमा २००४ सालदेखि खेल्न थालिएको हो। अझ, २००७ सालमा प्रजातन्त्र स्थापना भएपछि नेपाली खेलकुदका ‘पिता’ मानिने नरशमशेर राणाको अगुवाइमा नेपाल फुटबल संघ (एनएफए) गठनसँगै देशभित्र फुटबल संस्थागत भएको थियो।
२००८ सालमा लिग फुटबलका रूपमा रामजानकी कप आयोजना हुँदा सिंहदरबारभित्र पैसा तिरेर फुटबल हेर्नेको भिड लाग्थ्यो। त्यतिबेला दशरथ रंगशाला निर्माण भइसकेको थिएन। सबै खेल सिंहदरबारभित्रै हुन्थ्यो। राणाशासनविरुद्ध नेपाली कांग्रेसको सैनिक मोर्चामा बसेर लडेका भूतपूर्व गोर्खा सैनिकहरूको नेतृत्वमा निर्माण भएको रक्षा दलले लगातार तीन पल्ट (२००८, २००९ र २०१०) रामजानकी कप जित्दै कप पच पारेको थियो। पहिले फुटबलमा लगातार तीन पल्ट उपाधि जित्ने क्लबले ट्रफी आफूसँग राख्ने नियम थियो। यही नियमअनुसार ब्राजिलले सन् १९५८, १९६२ र १९७० मा विश्वकप फुटबलको उपाधि जित्दै जुलेस रिमेट कप आफूसँग राखेको थियो।
नेपालमा पनि रक्षा दलले तीन पल्ट उपाधि जितेपछि नेपाल प्रहरीका तत्कालीन आईजीपी जीबी याकथुम्बाको अग्रसरतामा २००७ सालको क्रान्तिमा सहिद हुने योद्धाहरूको सम्झनामा नयाँ सिल्ड निर्माण गरेर तत्कालीन फुटबल संघको नेतृत्वलाई प्रदान गरिएको थियो। २०१२ सालमा नेपाल प्रहरी संगठन स्थापना हुनुअघि रक्षा दलले नै प्रहरीको काम गर्थ्यो र यही संस्थाले उपलब्ध गराएको सिल्ड नै २०११ सालदेखि सहिद स्मारक लिगको नाममा नेपालमा आयोजना हुँदै आएको छ।
रंगशालामा दर्शकको त्यो बाक्लो उपस्थितिबाट मोहित भएका भुटानका पूर्वराष्ट्रिय खेलाडी खरे बस्नेतले पनि काठमाडौँ आएर फुटबल खेले। तर, अहिले घरेलु फुटबलमा देखिएको ग्रहणले नेपाली फुटबललाई कमजोर बनाउँदै लगिरहेको छ।
“ओहो त्यतिबेला दर्शकको कुरै नगरौँ। महावीर क्लबको फुटबल भनेपछि डिल्लीबजार सुनसान हुन्थ्यो। रानीपोखरी कर्नर टिम (आरसीटी) भनेपछि असन बजारको एउटै पसल खुल्दैनथ्यो। न्युरोड टिम (एनआरटी)को खेल हुँदा न्युरोड नै ठप्प,” पुरानो कुरा सम्झिँदै नेपाली राष्ट्रिय फुटबल टोलीका पहिलो कप्तान तथा नेपाल प्रहरीका पूर्वआईजीपी अच्युतकृष्ण खरेल भन्छन्। २०२६ सालमा महावीरले लिग जित्दा उनी टोली कप्तान थिए।
त्यतिबेला नेपाली फुटबलमा दर्शकको उपस्थिति उत्कर्षमा थियो। दर्शकहरू हर्क गुरुङ, अशोक केसी, कोमल पाण्डे, अच्युतकृष्ण खरेल र बाबुराम पुनको खेल हेर्न रंगशाला धाउँथे। भारतीय फुटबलका पूर्वकप्तान श्याम थापा २०३२ सालमा नेपाली क्लबमा आबद्ध भएपछि उनको खेल हेर्न देशभरिबाटै दर्शकहरू काठमाडौँ ओइरिन थाले। उनले १० वर्ष ब्वाइज युनियन क्लबमा आबद्ध भएर फुटबल खेले। उनीसँगै ब्वाइज युनियनबाट फुटबल खेलेका नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान रूपकराज शर्मा, स्ट्राइकर गणेश थापा, धीरेन्द्र प्रधान, वाइबी घले, मानबहादुर मल्ल जस्ता खेलाडीको पनि खेल हेर्न दर्शकहरू टिकट काटेर रंगशाला प्रवेश गर्थे। पछि राजु शाक्य, मणि शाह, उमेश प्रधान, देवनारायण चौधरी हुँदै हरि खड्का, बालगोपाल महर्जन र उपेन्द्रमान सिंहका कारण पनि रंगशालाभित्र दर्शकको उपस्थिति बाक्लो रहन पुग्यो।
“त्यो नेपाली फुटबलका लागि स्वर्णिम युग थियो,” ब्वाइज युनियनका पूर्वअध्यक्ष बोधबहादुर राउत बताउँछन्। रंगशालामा दर्शकको त्यो बाक्लो उपस्थितिबाट मोहित भएका भुटानका पूर्वराष्ट्रिय खेलाडी खरे बस्नेतले पनि काठमाडौँ आएर फुटबल खेले। तर, अहिले घरेलु फुटबलमा देखिएको ग्रहणले नेपाली फुटबललाई कमजोर बनाउँदै लगिरहेको छ।

२०१० को ‘ए’ डिभिजन लिगमा थ्रीस्टारविरुद्ध बल बचाउँदै मनाङका गोलकिपर विशाल श्रेष्ठ। तस्बिर : श्रेष्ठको फेसुबकबाट
राष्ट्रिय टोलीका पूर्वस्ट्राइकर गणेश थापा विगत सम्झिन्छन्, “त्यो समय फुटबललाई खेलका रूपमा मात्र हेरिँदैनथ्यो। उत्सवका रूपमा मनाउने चलन थियो। त्रिभुवन च्यालेन्ज सिल्ड, बर्थडे कप जस्ता प्रतिष्ठित नकआउट प्रतियोगिताले लोकप्रियता अझ चुल्याएका थिए। ती प्रतियोगितामा भाग लिन भुटान, दार्जिलिङ, सिक्किम, देहरादुन र गुवाहाटीसम्मका फुटबल क्लबहरू नेपाल आइपुग्थे। त्यसैले फुटबलप्रति दर्शकको उच्चस्तरको संवेदना थियो।”
त्यतिबेला काठमाडौँका क्लबहरू सामुदायिक आधारमा सञ्चालन भएका थिए। त्यसैले स्थानीयवासी क्लबसँग जोडिएका थिए। खेलाडी उत्पादन गर्ने सन्दर्भमा पनि ती क्लबहरूले स्थानीयलाई प्राथमिकतामा राख्थे। यसैले क्लबप्रति स्थानीयको अपनत्वभाव थियो। तर, २०४६ सालको राजनीतिक परिवर्तनपछि क्लबहरूमा बढेको हस्तक्षेपले त्यो अवस्था धूमिल भएको थापाको बुझाइ छ।
निजी स्तरबाट आयोजना भइरहेको नेपाल सुपर लिग (एनएसएल)को फाइनल होस् या नेपाली राष्ट्रिय टोलीले खेल्ने मैत्रीपूर्ण खेल, यी सबै खेलमा दर्शकको उपस्थिति उल्लेख्य नै भेटिएको छ। तर, एन्फाले आयोजना गर्ने क्लब फुटबलमा त्यही ऊर्जा देखिँदैन।
“सामुदायिक आधारमा क्लबहरू सञ्चालन हुने भएकाले स्थानीय समुदायले चन्दा संकलन गरेर अघि बढाउँथे र खेल हेर्न पनि ठूलो संख्यामा उपस्थित हुन्थे,” उनी भन्छन्, “तर, पछिल्लो समय क्लबमा हुन थालेको राजनीतिक हस्तक्षेप र आर्थिक मन्दीले यो अवस्था सिर्जना भएको हो।” यद्यपि, उनी आफू फुटबलको नेतृत्वमा आएपछि प्रतियोगिताले गति लिएको र दर्शक पुनः रंगशालामा फर्किने क्रम जारी रहेको दाबी गर्छन्। उनी २०५२ सालमा अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्ष नियुक्त भएका थिए। करिब दुई दशक एन्फा अध्यक्षका रूपमा एकलौटी कार्यभार सम्हाल्दा उनीलाई आर्थिक अनियमितताको आरोप पनि लाग्यो। अझ, अन्तर्राष्ट्रिय फुटबल संघ (फिफा)ले उनलाई १० वर्ष प्रतिबन्ध लगायो।
फ्यान क्लबको महत्त्व
नेपाली फुटबलको अहिलेको मूल मुद्दा भनेको खेल भइरहेको छ, तर प्यारापिटमा दर्शक देखिँदैनन्। पहिले फुटबल हुँदा दशरथ रंगशालाका सिट दर्शकले टन्न भरिन्थे। अहिले खाली खाली देखिन्छ। यस विषयमा मनाङ मर्स्याङ्दी क्लबको फ्यान क्लब ‘एमएमसी फरेभर’ का संस्थापक अध्यक्ष हिमालयन मनोजको आफ्नै बुझाइ छ। उनी भन्छन्, “पहिले पनि मनाङ, थ्रीस्टार र विभागीय टोलीको खेलमा मात्र दर्शक उल्लेख्य हुन्थे। अन्य खेलमा प्रायः दुईतीन हजारको हाराहारीमा मात्र नियमित समर्थक रंगशालामा देखिन्थे।”
यसलाई उनी दर्शकले सिट ओगटेको हिसाबले ३० प्रतिशत भन्न रुचाउँछन्। “पहिले दिनमा दुई खेल हुन्थ्यो र दर्शक पहिलो खेलदेखि नै मैदानमा उपस्थित रहन्थे। अहिले दिनमा चार वटासम्म खेल हुन्छ। त्यत्रो खेल हेर्ने धैर्य कोसँग हुन्छ?” उनी प्रतिप्रश्न गर्छन्।

पहिले क्लबहरूसँग समर्थकहरूको छुट्टै संगठन थियो। मनाङको ‘एमएमसी फरेभर’, मच्छिन्द्रको ‘ह्वाइट लायन’, थ्रीस्टारको ‘विआर स्टार्स’ जस्ता फ्यान क्लब संगठित थिए। उनीहरूले समर्थकबीच क्लब संस्कार स्थापित गर्न खोजेका थिए। आफ्नो टिमको खेल हुँदा उनीहरू सामाजिक सञ्जालमार्फत खेल हेर्न जान सूचना फैलाउँथे। त्यस्तै, समर्थकलाई एउटै ‘ब्लक’ मा राख्ने, महिला र बालबालिकाका लागि सुरक्षित वातावरण बनाउने जस्ता अभ्यासले सबैको मन जितेको थियो।
क्लबको सफलतामा खेलाडीको खेलकौशलले मात्र काम गरेको हुँदैन, त्यसका लागि दर्शकको चर्को ‘हुटिङ’ र ‘चियर अप’ चाहिन्छ। र, त्यो उत्साह दर्शकबाट मात्र उपलब्ध हुन्छ।
फ्यान क्लबकै कारण सयौँको संख्यामा फुटबल समर्थकहरू काठमाडौँबाट गाडी चढेर पोखरा र धरान जस्ता सहर पुग्थे। मनोज भन्छन्, “हाम्रै नेटवर्कमा दुई हजारभन्दा बढी समर्थक जोडिएका थिए। ठूला खेलहरूमा तीनचार हजारसम्म टिकट व्यवस्थापन फ्यान क्लबले गर्थ्यो।”
फ्यान क्लबले पूर्वखेलाडीलाई सम्मान गर्ने, ‘मिट एन्ड ग्रिट सेसन’, फ्यान कार्ड वितरण, क्यालेन्डर प्रकाशन र जर्सी वितरण जस्ता विविध कार्यक्रमको पनि आयोजना गर्थ्यो। “हाम्रो काम भनेको समर्थक र क्लबबीचको सम्बन्ध सुमधुर बनाउने हो,” उनी भन्छन्। तर, पछिल्लो समय प्रतियोगिता नहुँदा यही कुरा खलबलिएको उनको दुखेसो छ।
क्लब फुटबलको तुलनामा राष्ट्रिय टोलीले खेल्ने अन्तर्राष्ट्रिय प्रतियोगितामा अहिले पनि दर्शकको उपस्थिति घटेको देखिँदैन। यसको ज्वलन्त उदाहरण हो, नेपालले खेलेको पछिल्ला तीन संस्करणको महिला साफ च्याम्पियनसिपका खेलहरू। नेपालको खेलमा रंगशाला भरिएको देखिन्छ। यति मात्र होइन, निजी स्तरबाट आयोजना भइरहेको नेपाल सुपर लिग (एनएसएल)को फाइनल होस् या नेपाली राष्ट्रिय टोलीले खेल्ने मैत्रीपूर्ण खेल, यी सबै खेलमा दर्शकको उपस्थिति उल्लेख्य नै भेटिएको छ। तर, एन्फाले आयोजना गर्ने क्लब फुटबलमा त्यही ऊर्जा देखिँदैन। “यसले फुटबलप्रतिको रुचि हराएको होइन, तर क्लबले आफ्ना समर्थकलाई सम्हाल्न सकेको छैन भन्ने प्रस्ट हुन्छ। यसको मुख्य कारण नयाँ स्टार खेलाडीको अभाव, क्लब र फ्यानबीचको सम्बन्ध कमजोर हुनु पनि हो,” मनोज थप्छन्।
स्टार खेलाडीको अभाव
२०१३ सालयता नेपाली फुटबलले विमल घर्तीमगर, अञ्जन विष्ट, आयुष घलानजस्ता समर्थक तान्न सक्ने क्षमतावान् खेलाडी पाएको थियो। यी खेलाडीले नेपाली फुटबलको लोकप्रियता बढाउन र दर्शकलाई रंगशालासम्म तानेर लिगको रोमाञ्चकता बढाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। तर, अहिले स्थिति फरक देखिन्छ। विमल घर्मीमगर अस्ट्रेलिया पलायन भइसकेका छन्। आयुष घलानजस्ता युवा खेलाडी राष्ट्रिय लिगमा उपस्थित छैनन्। नेपाली जर्सीमा १३ गोल गर्दै हरि खड्का र निराजन रायमाझीको कीर्तिमान बराबरी गरेका अञ्जन विष्टलाई अहिले क्लब लिगमा गोल गर्न सकस परिरहेको छ।
यसैबीच, लिगमा आबद्ध नयाँ क्लबहरूले भने आफ्नो ‘ब्रान्डिङ’ र दर्शकलाई आकर्षण गर्न केही रणनीति अपनाएको देखिन्छ। जसको पछिल्लो उदाहरण हो, चित्लाङ एफसी। यो क्लबले टिकटकर तथा पूर्वखेलाडी डोना थापालाई प्रयोग गरेको छ। डोना करिब पाँच वर्षपछि मैदानमा फर्किएका खेलाडी हुन्। उनी आफ्ना भाइ एरोन थापासँगै चित्लाङबाट खेलिरहेका छन्।

चित्लाङका मुख्य प्रशिक्षक प्रज्जवलप्रताप क्षेत्री यी दाजुभाइको आगमनले चित्लाङ क्लबमा ‘ए’ डिभिजन क्लब जस्तो रौनक बढेको दाबी गर्छन्। “हामीले मोफसलमा खेल्दा पनि दर्शक आएका थिएनन्। तर, डोना र एरोन खेल्नेबित्तिकै राष्ट्रिय लिगको उद्घाटन खेलमा जस्तै ठूलो संख्यामा दर्शक उपस्थित भएका छन्,” उनी भन्छन्। उनको यस दाबीलाई तथ्यले पनि पुष्टि गर्छ। १० माघमा आर्मीसँग दशरथ रंगशालामा भएको खेलमा चित्लाङको खेल हेर्न चार हजार ५७५ दर्शक उपस्थित थिए। यो संख्या मच्छिन्द्र र एनआरटीबीच भएको राष्ट्रिय लिगको पहिलो खेलको दर्शकभन्दा ४५० मात्र कम थियो। स्मरणीय छ, मच्छिन्द्र र एनआरटीबीच खेल हुँदा एन्फाले गायक सज्जनराज वैद्यलाई पनि कन्सर्टका लागि उपस्थित गराएको थियो।
यस तथ्यले सामाजिक सञ्जालमा चर्चित खेलाडीको उपस्थितिले क्लबको ब्रान्ड र खेलप्रति दर्शकको आकर्षणमा प्रत्यक्ष प्रभाव पार्ने देखाउँछ। “यसले सानो वा नयाँ क्लब पनि खेललाई सान्दर्भिक र प्रतिस्पर्धात्मक बनाउने क्षमता राख्छन् भन्ने पुष्टि भएको छ,” क्षेत्री भन्छन्।
पछिल्लो समय रंगशालामा घट्दै गरेको दर्शकलाई पुनः खेलतर्फ आकर्षित गर्न एन्फाले ठोस योजना बनाएको देखिँदैन। आर्मी क्लबका मुख्य प्रशिक्षक बालगोपाल महर्जन आफ्नो खेलमा दर्शक फर्काउने काममा एन्फा सक्रिय हुनेभन्दा पनि क्लबले नै रणनीति बनाउनुपर्ने सुझाव दिन्छन्। उनी भन्छन्, “यस मामिलामा आर्मी क्लब भाग्यमानी छ। समर्थकले सदैव गहिरो लगाव र उत्साह राखेका छन्।”
उनले भने जस्तै क्लबको सफलतामा खेलाडीको खेलकौशलले मात्र काम गरेको हुँदैन, त्यसका लागि दर्शकको चर्को ‘हुटिङ’ र ‘चियर अप’ चाहिन्छ। र, त्यो उत्साह दर्शकबाट मात्र उपलब्ध हुन्छ। तर, विडम्बना त्यही दर्शक अहिले रंगशालाबाट हराउँदै गएका छन्।