समाज
घरेलु हिंसा भोगेकी सुर्खेतकी माया कठायतले दुई छोराछोरीसहित भेरी नदीमा हेलिएर गुमाइन् ज्यान
सुर्खेत। भेरीगंगा नगरपालिका-१२ पिप्लेकी माया कठायत दुई छोराछोरीसहित सम्पर्कविहीन भएकी थिइन्। २ चैतमा मायाको र भोलिपल्ट ११ वर्षीया छोरी आशाको शव भेरी नदी किनारमा भेटियो। पाँच वर्षीय छोरा दीपकको अवस्था भने अझै अज्ञात छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले भेरी किनारमा उनको खोजी जारी राखेको छ।
यो घटना पारिवारिक कलहको उपज रहेको मायाको माइती पक्षको आरोप छ। मायाका बुवा बालुदेव गिरीले श्रीमान्बाट निरन्तर कुटपिट र यातना सहन नसकी छोरी नातिनातिनासहित भेरीमा हेलिएको भन्दै ५ चैतमा ज्वाइँ भूपेन्द्र कठायतविरुद्ध इलाका प्रहरी कार्यालय छिन्चुमा जाहेरी दिएका छन्। जाहेरीमा भूपेन्द्रले दैनिक मदिरापान गरेर यातना दिने गरेका कारण मायाले आत्महत्या गरेको उल्लेख गरेर आत्महत्या दुरुत्साहनको आरोप लगाइएको छ।
जाहेरीपछि भूपेन्द्रलाई पक्राउ गरी अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय छिन्चुका प्रमुख, प्रहरी निरीक्षक प्रकाश केसीले बताए।
मायाका काका अमरदेव गिरीका अनुसार मृत्यु हुनु केही दिनअघि माया र भूपेन्द्र दुवैसँग भेट हुँदा उनीहरूबीच कटु सम्बन्ध रहेको थाहा पाएका थिए। मायाले श्रीमान्ले आफूलाई घरमा पिट्ने र खुकुरी देखाउने गरेको बताएकी थिइन्। “तर, कलहका कारण यस्तोसम्म घटना होला भनेर मनमा पटक्कै आएको थिएन,” उनले भने।
घर छोडेको चौथो दिन भेटियो शव
माया गत २९ फागुनमा छोराछोरीलाई साथमा लिएर घरबाट निस्किएकी थिइन्। त्यो दिन उनी आश्रयको खोजीमा बेलुकी सात बजेतिर घरदेखि थोरै दूरीमा रहेको अमरदेवको घर पुगेकी थिइन्। उनी त्यहाँ चार वर्षपछि पुगेकी थिइन्। “मैले यति लामो समयपछि किन आयौ, खबर के छ भनेर सोधेँ। उनले कोहलपुरबाट उपचार गरेर आएको बताइन्,” अमरदेवले भने।

यसको केही समयपछि भूपेन्द्रले अमरदेवलाई फोन गरे। श्रीमती र छोराछोरी आएकोबारे सोधे, र आफू बाटोमा लिन आउने भन्दै पठाइदिन भने। माया त्यहाँबाट बिदा भएर भूपेन्द्रले भनेको ठाउँतिर गइन्। तर, माया नआएपछि भूपेन्द्रले फेरि अमरदेवलाई फोन गरेर सोधे। “मैले अघि नै आइसकेका हुन् भनेर जानकारी गराएँ, म पनि त्यतैतिर गएँ,” उनले भने, “म जाँदा त भतिजी र केटाकेटी ज्वाइँ भएको ठाउँमा नगएर झाडीतिर लुकेर बसेको अवस्थामा म र ज्वाइँले भेट्यौँ।”
राति अबेर भेट भएपछि भूपेन्द्रले मायालाई बाटोमै कुटेको अमरदेवले बताए। “बाटो छेउमा लुकेर बसेको देखेपछि मैले किन लुकेको भनेर भतिजीलाई सोधेँ, उनले ‘मलाई पिट्छन्, घरमा खुकुरी देखाउँछन्’ भन्न थालिन्,” उनले भने, “मैले ज्वाइँलाई यस्तो किन गर्नुहुन्छ भनेर सोध्दै थिएँ, उनले ‘मैले कहाँ त्यस्तो गरेको छु’ भन्दै भतिजीलाई तीनचार झापड हाने।”
अमरदेवका अनुसार मायाले श्रीमान्ले आफूलाई मनपरी गाली गर्ने, पिट्ने गरेको बताएकी थिइन्। त्यस्तो सुनेपछि आफूले भूपेन्द्रलाई हप्काएको र भोलि लिन आउनू भनेर माया र केटाकेटीलाई आफू बस्ने ठाउँमै फर्काएको उनले बताए।
भोलिपल्ट राति ८ बजेतिर भूपेन्द्र अमरदेवको घर आए। ‘यति राति किन आएको’ भनेर सोध्दा भूपेन्द्रले ‘दिनभर अटोमा मान्छे बोक्दाबोक्दै ढिलो भयो’ भने। केही समययता भूपेन्द्रले अटोरिक्सा चलाउने गरेका थिए। उनीहरूबीच केही समय कुराकानी भयो। अमरदेवका अनुसार त्यो बेला पनि भूपेन्द्रले श्रीमतीलाई हप्काउँथे, पिट्नै खोज्थे। “कुरा भइरहेको बेला पटक पटक पिट्नै खोज्थे। मैले सम्झाएर रोकेँ,” उनले भने। त्यसपछि भूपेन्द्रलाई ‘भोलि श्रीमती, छोराछोरी लिएर जानुहोला, अहिले यतै सुत्नुस्’ भनेर उनी सुत्न गए। मध्यराति नै भूपेन्द्र एक्लै त्यहाँबाट गएका थिए।

तेस्रो दिन १ चैतमा अमरदेव उठ्दा माया एकाबिहानै घर जान तयार भइसकेकी थिइन्। अमरदेवले ‘यति बिहानै किन जान थालेको’ भनेर सोधे। मायाले छोरीको परीक्षा भएको बताइन्। त्यही दिन आशाको वार्षिक परीक्षा थियो।
तर, घर जान्छु भनेर काकासँग बिदा भएकी माया घर गइनन्। उनी छोराछोरीसहित भेरी किनारतिर लागिन्।
भतिजी घर गइन् भनेर ढुक्क भएर अमरदेव आफ्नो काममा लागेका थिए, तर मध्याह्न १२ बजेतिर ज्वाइँ भूपेन्द्र आएर श्रीमती र छोराछोरी कहाँ छन् भनेर सोधे। “म त झस्किएँ। कतै अन्यत्रै गइन् कि भनेर म र ज्वाइँले खोज्यौँ, तर अबेरसम्म भेटिइनन्। पछि भेरी नदीको किनारमा भतिजीको मोबाइल, झोला, नातिनातिनाका चप्पल भेटिएको खबर पायौँ।”
त्यसपछि उनीहरू भेरीमा हाम फालेको आशंकामा प्रहरीले खोजी थाल्यो। त्यस क्रममा आमा र छोरीको शव फरक फरक दिन फरक ठाउँमा भेटियो।
मायाको माइती सुर्खेतकै गुर्भाकोट नगरपालिका-११ घुमखाडमा पर्छ। मायाका दाजु प्रेम गिरीका अनुसार तीन सन्तानमध्ये माया एक्ली छोरी थिइन्। उनीपछि एक भाइ छन्।
उनका अनुसार माया माइतीमा प्राय: आउँदिनथिन्। आमा बिरामी भएको समयमा मात्र उनी भेट्न आउँथिन्।

प्रेमका अनुसार बहिनी र ज्वाइँको सम्बन्ध गत दसैँपछि बिग्रिएको हो। उनले ज्वाइँ राति अबेर आउने, कुटपिट गर्ने, परस्त्रीसँग कुरा गर्ने गरेको कुरा आफूले पछि मात्र थाहा पाएको बताए। “बहिनीले यस्तो कुरा आमालाई मात्र भन्ने रहिछन्, तर आमाले हामीलाई भन्नुभएन। आमाले श्रीमान्-श्रीमतीको कुरामा लाग्दा घरबार बिग्रिएला भन्ने सोच्नुभयो कि!” प्रेमले पछुतो भावमा भने, “हामीले थाहा पाउनेबित्तिकै ज्वाइँलाई हप्काएको भए यस्तो घटना हुन्थेन कि!”
गत दसैँअघिसम्म भूपेन्द्र भारतमा रोजगारी गर्थे। बेलाबेला मात्र घर आउँथे। दसैँमा आएपछि उनी भारत फर्किएनन्। गाउँमै बसेर आयआर्जन गर्ने उद्देश्यले अटोरिक्सा किने। उनी घर बस्न थालेपछि बहिनीसँग खटपट पर्न थालेको प्रेम बताउँछन्।
भूपेन्द्रले माइतीकै अगाडि (काकाको घरमा) पिटेपछि बहिनीलाई घर जाँदा झन् मलाई मार्न सक्छ भन्ने सोचेर छोराछोरी नै लिएर भेरीमा हेलिएकी हुन सक्ने प्रेम बताउँछन्। “हामीले अन्तिमसम्म पनि बहिनी र भान्जाभान्जी सकुशल भेटिने आशा गरेका थियौँ, तर बहिनी र भान्जीको शव भेटियो। भान्जा पनि जीवित भेटिने आस मरिसक्यो,” उनले भने।
भूपेन्द्रले भने श्रीमतीसँग कुनै खटपट नभएको, सम्बन्ध राम्रै चलिरहेको अवस्थामा यो घटना भएको बताए।