काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

नयाँ प्रधानमन्त्री

महानगर प्रमुख हुँदा शिक्षा-स्वास्थ्यको सुधार र सम्पदा संरक्षणमा गरेका केही नमुना कामले बढाएको बालेनको लोकप्रियता

१३ चैत्र २०८२
२१ कात्तिक २०८२ मा जयबागेश्वरीमा ब्रह्माको मन्दिर उद्घाटन गर्दै काठमाडौँ महानगरपालिकाका तत्कालीन मेयर बालेन्द्र शाह। तस्बिर : महानगरको वेबसाइट
अ+
अ-

बालेन्द्र शाह (बालेन) काठमाडौँ महानगरपालिकाको प्रमुखमा निर्वाचित हुनुभन्दा अघिसम्म युवा पुस्तामाझ र्‍यापरका रूपमा परिचित थिए। पेसा थियो– स्ट्रक्चरल इन्जिनियर।

२०७९ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेपछि उनको चर्चा देशव्यापी बन्यो। ठूलो मतान्तरमा प्रतिस्पर्धी सबैलाई पराजित गरेर मेयरमा चुनिएपछि त उनको ख्याति अन्तर्राष्ट्रिय बन्यो। महानगर प्रमुखका रूपमा करिब तीन वर्ष काम गरेर राजीनामा दिई प्रतिनिधिसभा सदस्य चुनिएका बालेनको केही दिनमै अर्को नयाँ परिचय बन्दै छ, नेपालका ४३औँ प्रधानमन्त्री।

तीन वर्षको छोटो अवधिमा उनलाई महानगर प्रमुखबाट देशकै प्रमुख कार्यकारीको हैसियतमा पुर्‍याउने धेरै कारण छन्। मुख्यत: जेन-जी आन्दोलन र त्यसपछिको घटनाक्रम नै हो। तर, निर्वाचनमा बालेनलाई लोकप्रिय बनाउनेमध्येको एउटा कारण भने उनले काठमाडौँको थालेको विकास मोडल हो।

बालेनले आफ्नो कार्यकालमा भौतिक विकासभन्दा शिक्षा, स्वास्थ्य, सम्पदा र संस्कृति संवर्द्धनलाई प्राथमिकता दिए। जस्तो, संस्थागत विद्यालयमा छात्रवृत्ति बालेनले सञ्चालन गरेको सफल कार्यक्रम हो। यसले उनको प्रभाव काठमाडौँबाहिर फैलाउन ठूलो मद्दत गर्‍यो। यो खासमा नयाँ कार्यक्रम थिएन। पुरानै कानुनको कार्यान्वयन मात्र थियो।

हाँडीगाउँमा महानगरले गरेकाे मौलिक शैलीको पुनर्निर्माण। तस्बिर : महानगरको वेबसाइट

बालेन महानगरको प्रमुख बन्नुभन्दा चार वर्षअघि नै बनेका अनिवार्य तथा नि:शुल्क शिक्षा ऐन, २०७५ र काठमाडौँ महानगरपालिकाको शिक्षा ऐन, २०७५ मा संस्थागत विद्यालयले जेहेनदार, विपन्न, अपांगता भएका, महिला, दलित र जनजाति विद्यार्थी समेटेर कम्तीमा १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउनुपर्ने व्यवस्था थियो। तर, महानगरको नेतृत्वले त्यसलाई कार्यान्वयन गराउन खासै ध्यान दिएन।

ऐनमा विद्यालयकै समितिले छात्रवृत्ति पाउने विद्यार्थी छनोट गर्ने व्यवस्था छ। तर, अधिकांश निजी विद्यालयले पाउनुपर्ने विद्यार्थीलाई पनि छात्रवृत्ति दिएका थिएनन्। महानगर प्रमुख बनेपछि बालेनले कानुनको यो व्यवस्था जसरी भए पनि लागु गरेरै छाड्ने अडान लिए।

यसका लागि कक्षा ११ मा भने महानगर आफैँले परीक्षा लिएर छात्रवृत्ति पाउने विद्यार्थी छनोट गर्ने व्यवस्था गरियो। अनलाइनबाटै फाराम भरेर परीक्षा दिन पाइने र काठमाडौँमा बसोबास गर्ने बाहिरका विद्यार्थीले पनि छात्रवृत्ति पाउने प्रबन्ध मिलाइएपछि यो कार्यक्रम युवामाझ आकर्षक बन्यो। “११ कक्षाका लागि महानगरले अनलाइन फाराम भरेर, तुरुन्तै रिजल्ट निकालेर १० प्रतिशतलाई छात्रवृत्ति उपलब्ध गराउँछ। यो कार्यक्रमले देशव्यापी चर्चा पायो,” महानगरका शिक्षा विभाग प्रमुख नमराज ढकाल भन्छन्।

पुरातात्त्विक महत्त्वको भैरव हिटी उत्खनन गरिँदै। तस्बिर : महानगरको वेबसाइट

बालेन महानगर प्रमुख बनेर ऐनमै व्यवस्था भएको छात्रवृत्तिको व्यवस्था कडाइसाथ कार्यान्वयन गराएपछि देशभरका विपन्न तथा जेहेनदार विद्यार्थीले नि:शुल्क पढ्न पाएको ढकाल बताउँछन्। भन्छन्, “संस्थागत विद्यालयमा कति विद्यार्थी छन्, त्यसका आधारमा १० प्रतिशत छात्रवृत्ति दिनैपर्छ। अहिले सबैले दिन्छन्।”

बालेनले सामुदायिक विद्यालयमा ‘बुक फ्री फ्राइडे’ कार्यक्रम लागु गरे, जसमा शुक्रबार विद्यार्थी संगीत, खेलकुद, चित्रकलाजस्ता रुचिअनुसारका कला सिक्छन्। सरकारले कक्षा ५ सम्मका विद्यार्थीलाई विद्यालयमै खाजाको व्यवस्था गरेको छ। महानगरले रकम थप गरेर कक्षा १० सम्मै खाजाको व्यवस्था गरेको छ।

बालेन आएपछि कर्मचारीको तलब पनि वृद्धि भयो। पहिला विद्यालयका कार्यालय सहयोगीलाई ६ हजार दिइने गरिएकामा उनले २१ हजार बनाइदिए। प्रारम्भिक बालविकास केन्द्र (ईसीडी) शिक्षकलाई ११ बाट १५ हजार, अन्य कर्मचारीलाई २५ हजार तलब बनाइयो। महानगरले हालसम्म ८० प्रतिशत विद्यालयमा स्मार्ट बोर्ड जडान गरिदिएको छ। शिक्षा विभागका अनुसार महानगरले ८३ वटा सामुदायिक विद्यालयको गुरुयोजना बनाउन २४ जना इन्जिनियर खटाएको छ। महानगरको करिब २६ अर्ब बजेटमा दुई अर्ब रुपैयाँ जति शिक्षामा छुट्याइएको शिक्षा विभाग प्रमुख ढकाल बताउँछन्।

महानगरले पुनर्निर्माण गरेको खुलामञ्च। तस्बिर : महानगरको वेबसाइट

शिक्षाविद् विद्यानाथ कोइराला बालेनको कार्यकालमा महानगरले शिक्षामा सकारात्मक काम गरेको बताउँछन्। निजी विद्यालयमा छात्रवृत्ति, शिक्षकलाई तालिम, विद्यालयलाई आवश्यक सहयोग र प्रोत्साहन दिने नीतिले शिक्षा क्षेत्रमा सकारात्मक प्रभाव पारेको उनको बुझाइ छ। भन्छन्, “स्थानीय तहले चासो लिने हो भने, शिक्षा, स्वास्थ्य जस्ता आधारभूत कुरामा धेरै परिवर्तन गर्न सकिने रहेछ भन्ने उदाहरण बालेनले देखाइदिए। यो मोडलमा देशभरि काम गर्न सकिन्छ।”

बालेनको कार्यकालमा स्वास्थ्यमा पनि महत्त्वपूर्ण काम भएका छन्। पहिले महानगरका वडास्तरका स्वास्थ्य केन्द्र हेल्थ असिस्टेन्ट (एचए)का भरमा थिए। बालेनले ३२ वटै वडामा स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना गरे, जहाँ एमबीबीएस डाक्टरसहित ल्याब टेस्ट, थेरापी सेवा उपलब्ध छन्। ठूला अस्पतालमा विपन्नका लागि उपचार सुविधाको व्यवस्था गरिएको छ। महानगरले ७ असोजमा देशभरका ३५ गाउँपालिकालाई एम्बुलेन्स वितरण गरेको थियो। त्यसका लागि आर्थिक वर्ष २०८२/८३ मा महानगरले आठ करोड १० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। यसबाट पनि काठमाडौँबाहिर समेत उनको सुनाम फैलियो। महानगरले सहुलियत दरको फार्मेसी सञ्चालन गर्ने नीति लिएको थियो। तर, त्यो भने अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन।

काठमाडौँको सडक पेटी फराकिलो बनाइँदै। तस्बिर : महानगरको वेबसाइट

रोजगारी क्षेत्रमा पनि महानगरले उल्लेखनीय काम गरिरहेको छ। बालेन प्रमुख बनेर आएपछि महानगरले तीन वर्षको कार्ययोजना बनाई ‘रोजगारी र आयवृद्धि : महानगरलाई समृद्धि’ नारासहित ‘श्रम बैंक’ योजना सञ्चालन गरेको छ। महानगरले सीप मेला आयोजना गर्ने, बेरोजगारलाई विभिन्न तालिम दिने, रोजगारदातासँग सम्पर्क गराइदिने जस्ता काम पनि गर्दै आएको छ। यस्ता कार्यक्रमबाट वार्षिक १५ सयभन्दा बढीले रोजगारी पाएका छन्।

बालेन महानगरप्रमुख भएपछि उनले ढुंगेधारा संरक्षणको योजनालाई महानगरको गौरव योजनामा राखेर कार्यान्वयनमा ल्याए। अहिले महानगरका सबै वडामा ढुंगेधारा संरक्षणको काम भइरहेको छ। महानगरको सम्पदा तथा पर्यटन विभागकी महाशाखा प्रमुख इरु श्रेष्ठ भन्छिन्, “हामीले सम्पदा संरक्षणको काम गरिरहेकै छौँ। पछिल्लो समय ढुंगेधारा, पुराना पोखरीको संरक्षणको क्षेत्रमा धेरै काम भएको छ।”

महानगरले काठमाडौँको ‘कोर एरिया’ लाई सम्पदामैत्री बनाउन पुराना घरलाई संरक्षण गर्न, मर्मत गर्न र नयाँ घर बनाउँदा पुरानै शैलीमा बनाउन नागरिकलाई प्रोत्साहन गरिरहेको छ। त्यसका लागि १० लाख देखि ४०-५० लाखसम्म अनुदानसमेत दिने गरेको सम्पदा संरक्षणकर्मी रवीन्द्र पुरी बताउँछन्। जयबागेश्वरी र हाँडीगाउँलाई सम्पदामैत्री बनाउन १०/१० करोड रुपैयाँ बजेट नै छुट्याइएको छ। सम्पदा संरक्षणमा बालेनलाई सल्लाह-सुझावसमेत दिएका पुरी भन्छन्, “अघिल्ला महानगरप्रमुखभन्दा बालेनले काठमाडौँको सम्पदा संरक्षणमा धेरै काम गरेका छन्। उनले सुरु गरेका काममा निरन्तरता हुने हो भने काठमाडौँको मौलिकता पुरानै अवस्थामा फर्किन सक्छ भन्ने आशा लागेको छ।”

जयबागेश्वरीमा मौलिक स्वरूपमा पुनर्निर्माण गरिएको सेतो ढोका। तस्बिर : महानगरको वेबसाइट

बालेनले काठमाडौँका प्रमुख सडकमा मौलिक शैलीका यात्रु प्रतीक्षालय निर्माण गराए। यसले सहरको आकर्षण बढाएको छ। सम्पदा तथा पर्यटन विभागकी प्रमुख कुमारी राईका अनुसार महानगरले काठमाडौँका विभिन्न ठाउँका मौलिक नामको खोजी गरिरहेको छ। हालसम्म १० वटा वडामा काम भइसकेको र थप आठ वटा वडामा काम भइरहेको महानगरले जनाएको छ। बालेन प्रमुख भएपछि महानगरको धुलोधुवाँ नियन्त्रण, फोहोरमैला व्यवस्थापनको काम पनि नागरिकलाई महसुस हुने गरी भएका छन्।

अतिक्रमित भूमि फिर्ता ल्याउने काममा पनि बालेन सक्रिय बने। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले सार्वजनिक जग्गा र सम्पत्तिको संरक्षण, व्यवस्थापन तथा पुनःप्राप्तिको सम्पूर्ण अधिकार स्थानीय सरकारलाई दिएको छ। त्यही अधिकारको प्रयोग गरेर उनले महानगर क्षेत्रका सार्वजनिक जग्गाको अतिक्रमण हटाउन सक्रियता देखाए।

प्रमुख बनेलगत्तै सडक विस्तारको काम गरेका बालेनले मिचिएका खोला किनार, सार्वजनिक स्थलका जग्गा फिर्ता ल्याएका छन्। गत असोजमा तत्कालीन महानगर प्रमुखले २३ अर्ब मूल्य बराबरको २०८ रोपनीभन्दा धेरै सार्वजनिक जग्गा फिर्ता ल्याएको सामाजिक सञ्जालमा लेखेका थिए।

महानगरले पुनर्निर्माण गरेको सत्तल। तस्बिर : महानगरको वेबसाइट

पूर्वसचिव रामबहादुर रावलको अध्यक्षतामा गठित सरकारी तथा सार्वजनिक जग्गा छानबिन तथा संरक्षणसम्बन्धी उच्चस्तरीय आयोगले तयार पारेको प्रतिवेदनका आधारमा महानगरले करिब दुई खर्ब रुपैयाँ बराबरको एक हजार ८५९ रोपनी १४ आना अतिक्रमित जग्गा फिर्ता ल्याउने अभियान नै सञ्चालन गरिरहेको छ। ती जग्गा पुनः अतिक्रमण नहोऊन् भनेर खुला पार्क, खेलकुद मैदान, सत्तल, हरित क्षेत्रलगायतका लागि उपयोग गर्ने उनले उल्लेख गरेका थिए। बालेनले राजीनामा दिए पनि महानगरले सार्वजनिक जग्गा फिर्ता ल्याउने काम गरिरहेको छ। महानगरको सहरी व्यवस्थापन विभागका उपनिर्देशक रोशन श्रेष्ठ भन्छन्, “मिचिएका जग्गा फिर्ता गरेर सम्बन्धित वडाको मातहत ल्याएका छौँ। यो काम निरन्तर चलिरहेको छ।”

त्यसो त बालेनले महानगर प्रमुखका रूपमा गरेका कतिपय काम विवादमा पनि परे। उनले सडकको फुटपाथ अतिक्रमण हटाउने नाममा सडकमा व्यापार गर्ने गरिबलाई उठिबास लगाएकामा विवाद भयो। उनले गरिबी हटाउनुपर्नेमा गरिब हटाएको भन्दै आलोचना भयो। उनले सडक विस्तार गरेर ठूलो त बनाए, तर सार्वजनिक यातायातको सुधारमा चासो देखाएनन्। यति हुँदाहुँदै उनले महानगरमा सुधारका जुन काम थाले, त्यसले उनको छवि देशव्यापी बनाउन मद्दत गर्‍यो।

“बालेनले महानगरमा अरूले वास्ता नगरेका शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता क्षेत्रमा महत्त्वपूर्ण काम गरे। त्यसले आमनागरिकको मन छोयो,” त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक अमृतकुमार श्रेष्ठ भन्छन्, “उनलाई छोटो समयमै यहाँसम्म ल्याउन यस्तै कामहरूको पनि भूमिका छ।”