काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

स्वास्थ्य

१० हजार पाइला हिँड्नुलाई दीर्घजीवनको मापन मानिँदै आएको तथ्यलाई ६६ वर्षपछि चुनौती

११ चैत्र २०८२
ललितपुरको खोकनामा बिहानीपख हिँडिरहेका व्यक्ति। तस्बिर : बिक्रम राई
अ+
अ-

सन् १९६० मा जापानको एक मार्केटिङ कम्पनीले व्यावसायिक प्रायोजनका लागि हिँडाइ मापन गर्ने औजार ‘पेड्रोमिटर’ तयार पार्‍यो। र, उसले आफूले उत्पादन गरेको औजार बिक्रीका लागि आकर्षक नारा सार्वजनिक गर्‍यो। नारा थियो, मानपो-केई। जसको अर्थ हुन्छ– १० हजार पाइलाको मिटर।

जापानी कम्पनीको यो नारा बिस्तारै विश्वव्यापी भयो र स्वास्थ्य क्षेत्रमा १० हजार पाइला दीर्घजीवनको ‘ट्रेडमार्क’ बन्यो।

तर, छिमेकी देश भारतका एक चिकित्सक डा. सुधीर कुमारको हालै सार्वजनिक एक अध्ययनले दीर्घजीवनका लागि सात हजार पाइला हिँड्नु पर्याप्त हुने सुझाव दिएको छ।

हैदराबाद निवासी सुधीर अपोलो अस्पतालमा कार्यरत चिकित्सक हुन् भने उनको शोध द ल्यान्सेट पब्लिक हेल्थमा प्रकाशित छ। जसमा भनिएको छ, ‘१० हजार पाइला पछ्याउन छोड्नुहोस्। दीर्घजीवनका लागि सात हजार पाइला उत्कृष्ट लक्ष्य हो।’

जापानी कम्पनीले ६६ वर्षअघि स्थापित गरेको पुरानो मान्यतालाई डा. सुधीरको नयाँ शोधले चुनौती दिएपछि धेरैमा शंका उब्जिनु नौलो कुरा होइन। तर, यसको अर्थ १० हजार पाइला हिँड्नु नराम्रो भन्ने रूपमा बुझिनु हुँदैन। डा. सुधीर मुटुरोगको जोखिम कम गर्न, मानसिक स्वास्थ्यमा फाइदाहरूको विस्तार गर्न, डिमेन्सिया र डिप्रेसन जस्ता जोखिम कम गर्न सात हजार पाइला पर्याप्त हुने बताउँछन्।

उनले शोधमा भनेका छन्, ‘दुई हजारदेखि सात हजार पाइलाहरूका बीच जोखिम न्यूनीकरण कर्भ सबैभन्दा ठाडो हुन्छ। तपाईं दुई हजार पाइलामा अड्किनुभएको छ भने सात हजार पाइला हिँड्दा परिवर्तन महसुस गर्न थाल्नुहुन्छ।’

उनले सात हजार पाइलापछि शरीरमा देखिने परिवर्तनलाई सामाजिक सञ्जाल ट्विटरमा पनि समावेश गरेका छन्। जसमा मुख्य तीन परिवर्तन उल्लेख छ।

पहिलो परिवर्तन : मृत्युको आधा जोखिम कम

दुई हजारदेखि सात हजार पाइला हिँड्दा मुटुरोग र प्रारम्भिक मृत्युको जोखिम ४७ प्रतिशतले घट्छ। दिनमा ४५ मिनेट पैदल यात्रा गर्दा मृत्युको जोखिमलाई आधा घटाउन सकिन्छ।

दोस्रो परिवर्तन : ब्रेन सिल्ड

शारीरिक गतिविधि मांसपेशीका लागि मात्र होइन, दिमागका लागि पनि उत्तिकै जरुरी छ।

  • डिमेन्सियाको जोखिम ३८ प्रतिशतले घट्छ।
  • डिप्रेसनका लक्षणहरू २२ प्रतिशतले घट्छ।

तेस्रो परिवर्तन : रोग रोकथाम

तथ्यले दीर्घकालीन रोगको जोखिममा ठूलो कमी आएको देखाएको छ।

  • टाइप २ मधुमेह– १४ प्रतिशत
  • नयाँ मुटुरोगका समस्याहरू– २५ प्रतिशत
  • क्यान्सरको मृत्युदर– ३७ प्रतिशत

डा. सुधीरको शोधले सात हजार पाइला नै किन उपयुक्त छ भन्ने कुराको तथ्य यसरी पत्ता लगायो– दुई हजारदेखि सात हजार पाइलाहरूका बीच जोखिम न्यूनीकरणको चक्र सबैभन्दा ठाडो देखियो। ‘सात हजारपछि तपाईंले अझै पनि लाभ पाउनुहुन्छ, तर लगानीअनुसारको प्रतिफलको स्तर घट्न थाल्छ। त्यसैले औसत व्यक्तिका लागि स्वास्थ्यको दृष्टिकोणले सात हजार पाइला अन्तिम बिन्दु हो,’ डा. सुधीरको दाबी छ।

उनको शोधको निष्कर्ष छ– दीर्घजीवनका लागि म्याराथन धावक बन्नु पर्दैन, न दैनिक १० हजार पाइला नै हिँड्नु आवश्यक छ। यसका लागि हामी जस्ता सर्वसाधारणले आफ्नो दैनिकीमा सुधार ल्याए पुग्छ। ‘अहिले तपाईं दुई हजार पाइला मात्र हिँडिरहनुभएको छ भने सात हजार पुग्नासाथ फरक महसुस गर्न थाल्नुहुन्छ,’ उनी भन्छन्।

उनको शोधले सात हजार पाइला दीर्घजीवनका लागि उपयुक्त मानेको छ। तर, तपाईं दैनिक कति पाइला हिँडनुहुन्छ? दुई हजार। तीन हजार। अब हिँड्ने होइन त सात हजार पाइला!