काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

खेलकुद

राखेप–एन्फाबीच जुहारी चल्दा हङकङविरुद्धको खेल गुमायो नेपालले

१० चैत्र २०८२
हङकङ र नेपालबीचको मैत्रीपूर्ण खेल। तस्बिर : हङकङ फुटवल एसोसिएसन
अ+
अ-

एएफसी एसियन कप छनोट-२०२७ मा समूह चरणबाट बाहिरिइसकेको नेपालका लागि लाओसविरुद्ध हुने अन्तिम खेलको नतिजाले खासै प्रभाव पार्ने अवस्था थिएन।

तर, ३१ मार्चमा तय भएको उक्त खेलअघि नवनियुक्त प्रशिक्षक गुग्लिएल्मो एरेनाका लागि आफ्नो टोलीको वास्तविक क्षमता परीक्षण गर्ने महत्त्वपूर्ण अवसर थियो। यही तयारीका लागि हङकङसँग एक मैत्रीपूर्ण खेल तय गरिएको थियो। यसले टोलीलाई सुदृढ बनाउन सहयोग पुर्‍याउने आशा प्रशिक्षक एरेना स्वयंले गरेका थिए।

दुर्भाग्यवश, अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय खेलकुद परिषद् (राखेप)बीच चुलिएको विवादले हङकङविरुद्ध बिहीबार तय भएको मैत्रीपूर्ण खेल अन्तिम समयमा रद्द भयो। यसले प्रशिक्षक एरेना आफ्नै पूर्व टोली लाओसविरुद्ध खेलाडीहरूको संयोजन, रणनीति र समग्र प्रदर्शन मूल्यांकन गर्ने महत्त्वपूर्ण अवसरबाट वञ्चित भएका छन्।

एन्फा प्रवक्ता सुरेश शाह हङकङविरुद्ध मैत्रीपूर्ण खेल रद्द हुनुमा राखेप दोषी भएको आरोप लगाउँछन्। “हङकङ फिफा वरीयतामा हामीभन्दा २९ स्थान माथिको टोली हो। बलियो टोलीसँग खेल्न बिरलै अवसर पाइन्छ। तर, राखेपले एन्फा निर्वाचनलाई हस्तक्षेप गर्न खोज्दा सुनौलो अवसर गुमेको छ,” उनी भन्छन्।

पुरानो प्रतिस्पर्धी हङकङ

नेपालले २५ मे १९८८ मा एएफसी एसियन कप छनोटअन्तर्गत हङकङसँग पहिलो खेल खेलेको थियो, जुन गोलरहित बराबरीमा टुंगियो। त्यसयता हङकङले नौ पटकसम्म छनोट चरण खेले पनि सन् १९६८ पछि २०२३ मा मात्र पहिलो पटक एसियन कपमा स्थान बनाउन सफल भयो। एसियन कप-२०२७ साउदी अरबमा ७ जनवरीदेखि ५ फेब्रुअरीसम्म आयोजना हुँदै छ। यस प्रतियोगिताको छनोटबाट हङकङ पनि नेपालसँगै बाहिरिइसकेको छ।

एन्फा सीइओ इन्द्रमान तुलाधर। तस्बिर : तुलाधरको फेसबुक

यद्यपि, छनोटबाट बाहिरिए पनि दुवै टोलीका लागि अन्तिम खेल प्रतिष्ठाको विषय बनेको छ। नेपालले लाओससँग खेल्ने तय भएको दिन हङकङले पनि भारतसँग प्रतिस्पर्धा गर्ने तालिका छ। सोही कारण हङकङले भारत उड्नुअघि साढे ९ महिनापछि नेपालसँग दोस्रोपल्ट मैत्रीपूर्ण खेल खेल्न स्वीकार गरेको थियो। नेपालले यसअघि ५ जुन २०२५ मा अस्ट्रेलियन प्रशिक्षक म्याट रसको प्रशिक्षणमा पहिलोपल्ट मैत्रीपूर्ण खेल खेलेको थियो। उक्त खेल पनि गोलरहित बराबरीमा टुंगिएको थियो।

हङकङ अहिले ‘फिफा विन्डो’ को सबैभन्दा कठिन अवस्था पार गरिरहेको छ। अन्तिम समयमा हङकङ र नेपालबीच मैत्रीपूर्ण खेल रद्द भएपछि अर्को साता भारतमा हुने एएफसी एसियन कप छनोटको तयारीमा ठूलो असर परेको अन्तरिम मुख्य प्रशिक्षक रोबर्टो लोसादा बताउँछन्।

‘भारत जान खेलाडीहरूको भिसा मिलाउन नै सकस पर्‍यो। तर, त्यो जटिल प्रक्रिया पूरा गरेपछि नेपाल पक्षले क्षेत्रीय राजनीतिक तनावका कारण बिहीबार तय गरिएको खेल रद्द गर्‍यो,’ उनले साउथ चाइना मर्निङ पोस्टलाई भनेका छन्। सोमबार साँझ काठमाडौँ आउन हङकङ फुटबल संघ (एचकेएफए)ले टोलीका लागि क्याथे प्यासिफिकको विमान सीएक्स-६०३ को टिकट काटिसकेको थियो। तर, उड्नु एक दिनअघि मात्र एन्फाले खेल रद्द गरिएको जानकारी गरायो। जसले हङकङका खेलाडी र स्टाफ अन्योलमा छन्। अर्को मंगलबार हुने खेलमा हङकङ र भारत दुवै टोलीको एसियन कपमा पुग्ने सम्भावना छैन।

कोच रोवर्ट लोसादा। तस्बिर : हङकङ फुटवल एसोसिएसन

समूह ‘सी’ बाट एक खेलअगावै सिंगापुर ११ अंकसहित छनोट भइसकेको छ। तीन अंकले पछाडि रहेको हङकङ दोस्रो र दुई अंक रहेको भारत पुछारमा छन्। समूह ‘एफ’ मा रहेको नेपालले पाँच खेलबाट तीन अंक मात्र बटुलेको छ। ‘नेपालसँग खेल रद्द भएपछि हामी टिकट र अन्य व्यवस्थामा काम गरिरहेका छौँ। यो विन्डो हरेक हिसाबले अत्यन्तै चुनौतीपूर्ण छ,’ लोसादाले भनेका छन्। टोलीलाई शुक्रबार र शनिबार गरी समूहमा विभाजन गरेर यात्रा गराउने सम्भावनाबारे छलफल भइरहेको उनको भनाइ छ।

‘राखेपको राजनीतिले रद्द गर्‍यो’

एन्फाका मुख्य कार्यकारी अधिकृत (सीईओ) इन्द्रमान तुलाधर राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले १३ चैतमा झापामा तय भएको साधारणसभा र निर्वाचनलाई लिएर राजनीति गर्न थालेपछि एचकेएफएलाई पत्र पठाएको स्विकार्छन्। एन्फाले हङकङलाई पठाएको पत्रमा राखेपले राजनीतिक हस्तक्षेप गरेका कारण खेल्न नसक्ने जानकारी गराएको तुलाधरको भनाइ छ। “एचकेएफएसँग हामीले माफी पनि मागेका छौँ,” उनी भन्छन्।

एन्फाले पूर्वनिर्धारित समयअनुसार मैदान मागेको थियो। तर, राखेपले आफ्नो मातहतमा रहेको मैदान नदिएर एन्फालाई तर्साउन खोजेपछि खेल रद्द गरिएको उनको भनाइ छ।

खेल खेलाउन आवश्यक स्वीकृति तथा दशरथ रंगशाला उपलब्ध गराइदिन एन्फाले ११ फागुनमा राखेपलाई पत्राचार गरेको थियो। सोही पत्रमार्फत मैदान मर्मतसम्भारका लागि अनुमति माग गरिएको एन्फाको दाबी छ। “तर, हामीले राखेपबाट कुनै लिखित स्वीकृति प्राप्त गर्न सकेनौँ,” उनी भन्छन्।

नेपाल भर्सेस बाङ्लादेशबीचको मैत्रीपूर्ण खेल। तस्बिर : राष्ट्रिय खेलकुद परिषद्

एन्फाले ३ चैतमा पुनः अर्को पत्र पठाउँदै रंगशालाको फ्लडलाइट, स्कोर बोर्ड र अन्य पूर्वाधार उपलब्ध गराइदिन पत्राचार गरेको थियो। स्वीकृतिका लागि पटक पटक ताकेता गर्दा पनि राखेपले लिखित जवाफ नपठाएको उनको दाबी छ।

“१२ चैतमा तय भएको खेलका लागि ८ चैतको अपराह्न १२ः३० बजेसम्म राखेपबाट स्वीकृति नपाएपछि हामीले हङकङसँग माफी माग्दै पत्र पठाएका थियौँ,” उनी भन्छन्।

यद्यपि, राखेपले एन्फा पदाधिकारीको भनाइको खण्डन गरेको छ। राखेपका अनुसार उसले ३ चैतमै खेलका लागि स्वीकृति प्रदान गरेको बताएको छ। तर, सीईओ तुलाधर उक्त पत्र आफूहरूले प्राप्त नगरेको बताउँछन्।

“सबै कुरा राखेपले पहिला नै गरिदिएको भए यत्रो समस्या आउँदैनथ्यो। तर, निर्वाचन रोक्ने ढाल मैदानलाई बनाउँदा उक्त समस्या आएको हो। पत्र नै नलुकाइदिएको भए हङकङसँगको खेल हुने थियो,” उनी भन्छन्।