काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

समाज

विदेशको कमाइले आर्थिक सम्पन्नता ल्याए पनि पारिवारिक शान्ति र सामाजिक मूल्य प्रभावित भएकामा चिन्ता

११ चैत्र २०८२
धनुषा जिल्ला अदालत। तस्बिर : वीरेन्द्र रमण
अ+
अ-

जनकपुरधाम। वैदेशिक रोजगारीले मुलुकको अर्थतन्त्र र सामाजिक जीवनमा सकारात्मक प्रभाव पारेको छ भने अर्कातिर यसकै कारण परिवारमा कलह र सम्बन्धविच्छेदसम्मका घटना बढिरहेको पाइएको छ। यस्ता घटना देशभरिमै सबैभन्दा धेरै युवा वैदेशिक रोजगारीमा जाने मधेस प्रदेशमा पनि भइरहेको छ।

यस प्रदेशका आठ वटै जिल्लाबाट युवाहरू वैदेशिक रोजगारीमा खासगरी खाडी क्षेत्रका मुलुक र मलेसिया जाने गरेका छन्। कमाएर पठाएको पैसा हिनामिना तथा विवाहेतर सम्बन्धजस्ता कारणले परिवारमा विवाद र विखण्डन निम्त्याउने गरेका छन्।

मधेस प्रदेशका जिल्लाहरूमध्ये वैदेशिक रोजगारीमा सबैभन्दा बढी धनुषाबाट जाने गरेका छन्। २०७५ सालमा भर्खर विवाह गरेको श्रीमतीलाई छाडेर धनुषाको औरही गाउँपालिका-५ का ३६ वर्षीय उदय (नाम परिवर्तन) कमाइ गर्न तीन वर्षका लागि विदेश गएका थिए। उनले श्रीमतीको नाममा नियमित पैसा पठाउन थाले। तर, यता श्रीमतीले भतिज नाता पर्ने युवकसँग हेलमेल बढाइन् र उनीहरूले विवाह नै गरे।

दुवै जनाको युगल फोटो र भिडिओ सामाजिक सञ्जालमा देखेपछि विदेशमा रहेका उदय छाँगाबाट खसेझैँ भए। श्रीमतीसँगै रोजगारीको कमाइ गुमेको थियो। फर्किएर उनले जिल्ला अदालत धनुषामा सम्बन्धविच्छेदको मुद्दा दायर गरे।

धनुषाकै सबैला नगरपालिका-१३ का जोगिन्दर (नाम परिवर्तन) जीवन सहज बनाउने आशामा श्रीमती र दुई छोरालाई घरमा छाडेर वैदेशिक रोजगारीमा गएका थिए। केही वर्ष काम गरेर असोज २०८१ मा घर फर्किंदा श्रीमती नै बेपत्ता थिइन्। उनका अनुसार आफूले पठाएको करिब ४५ लाख नगदका साथै पाँच आना सुन र १० तोला चाँदी लिएर श्रीमती भागेकी थिइन्। उनले सम्बन्धविच्छेदका लागि जिल्ला अदालत धनुषामा मुद्दा हाले।

सामाजिक कार्यकर्ता एवं अधिवक्ता रेखा झा अहिले मधेसमा भइरहेका सम्बन्धविच्छेदका अधिकांश घटनामा वैदेशिक रोजगारी नै कारण बनिरहेको बताउँछिन्। लामो समय श्रीमान् र श्रीमती टाढा हुँदा एकअर्काप्रति शंका बढ्ने गरेको र त्यसलाई सामाजिक सञ्जालको प्रयोगले कलहकै अवस्थामा पुर्‍याउने गरेको उनको बुझाइ छ।

उदय र जोगिन्दरको घटना त प्रतिनिधि उदाहरण मात्र हो, आफूले वैदेशिक रोजगारीबाट पठाएको धन हिनामिना गरेको, परपुरुषसँग सम्बन्ध जोडेको, पत्नीले घरव्यवहार चलाउन नसकेको जस्ता आरोपसहित सम्बन्धविच्छेदका मुद्दा लिएर अदालत जानेहरूको संख्या मधेसमा धेरै छ। जिल्ला अदालत धनुषाका स्रेस्तेदार एवं उपसचिव दीपक पोखरेल विगतका तुलनामा पछिल्ला वर्षहरूमा सम्बन्धविच्छेदका मुद्दा बढेको बताउँछन्। “अहिले अदालतमा दैनिकजसो यस्ता मुद्दा दर्ता हुने गरेका छन्,” उनी भन्छन्, “वैदेशिक रोजगारी र कम उमेरमा विवाहका कारण सम्बन्धविच्छेदको घटनामा वृद्धि भएको हुन सक्छ।”

सामाजिक कार्यकर्ता एवं अधिवक्ता रेखा झा अहिले मधेसमा भइरहेका सम्बन्धविच्छेदका अधिकांश घटनामा वैदेशिक रोजगारी नै कारण बनिरहेको बताउँछिन्। लामो समय श्रीमान् र श्रीमती टाढा हुँदा एकअर्काप्रति शंका बढ्ने गरेको र त्यसलाई सामाजिक सञ्जालको प्रयोगले कलहकै अवस्थामा पुर्‍याउने गरेको उनको बुझाइ छ। “श्रीमती घरबाहिर निस्किँदा अनावश्यक शंका गर्ने, सामाजिक सञ्जालमा अरूका पोस्टमा लाइक-कमेन्ट गरेको, आफ्नो फोटो राखेको, त्यसमा अरूले लाइक गरेको जस्ता विषयमा पनि श्रीमान्‌ले प्रश्न र शंका गर्दा विवाद भएर ठूलै रूप लिने गरेको छ,” उनी भन्छिन्, “अर्कातिर, श्रीमतीलाई पठाएको पैसाको हरहिसाबबारेको विवाद र कतिपय महिला सामाजिक सञ्जालको कुप्रभावमा परेर परपुरुषसँग निकट बन्न पुग्दा सम्बन्धविच्छेदसम्ममा पुग्ने गरेका छन्।”

सामाजिक सञ्जालको विषय श्रीमान्-श्रीमतीबीच विवादको पहिलो कारक तत्त्व बन्ने गरेको र यसले बिस्तारै सम्बन्धमा खाडल बढाउने गरेको उनी बताउँछिन्। श्रीमान्‌ले श्रीमतीसँग फेसबुकको पासवर्ड माग्ने, को कोसँग कुरा गरेको जाँच्ने र के-किन भन्दै केरकार गर्दा विवाद र सम्बन्धमा दरार बढ्ने गरेको उनको भनाइ छ।

अधिकारकर्मी राजु पासवान सामाजिक सञ्जालको प्रयोग दम्पतीमा कलह बढाउन मात्र सीमित नरहेको बताउँछन्। भन्छन्, “सामाजिक सञ्जालका कारण दाम्पत्य सम्बन्धमा शंका र तनाव बढेकै छ, अहिले महिलाले हिंसा र प्रताडना भोग्नुमा पनि सामाजिक सञ्जाल माध्यम बनिरहेको देखिन्छ।”

वैदेशिक रोजगारीको आम्दानीले गाउँघरमा महिलाको स्वतन्त्र र उन्नत जीवनशैलीका कारण बुहारी र सासू-ससुराबीचको झगडाको परम्परागत प्रकृति नै फेरिएको छ।

सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन २०८०/८१ का अनुसार मधेस प्रदेशका जिल्लाका अदालतहरूमा दायर भएका पारिवारिक मुद्दाहरूमध्ये सबैभन्दा ठूलो संख्या सम्बन्धविच्छेदको छ। प्रतिवेदनअनुसार यस प्रदेशमा सम्बन्धविच्छेदका सबैभन्दा धेरै मुद्दा धनुषा जिल्लामा परेका थिए। धनुषामा ४२४ वटा, बारामा ४१३, पर्सामा ४०४, सर्लाहीमा ३५७, रौतहटमा ३३०, महोत्तरीमा दर्ता ३१८ र सिरहामा १६८ वटा मुद्दा दर्ता भएका थिए।

अधिवक्ता राजकुमार महासेठ अधिकांश घटनामा महिलाविरुद्ध लाञ्छना र हिंसा हुँदै सम्बन्धविच्छेदसम्मको अवस्था आउने गरेको र पुरुषले दिएका मुद्दामा सम्पत्ति हिनामिना भएकाले सम्बन्धविच्छेदको माग हुने गरेको देखिने बताउँछन्। “तर, धेरैजसो मुद्दाको चुरो हेर्दा वैदेशिक रोजगारीपछि पारिवारिक कलह नै देखिन्छ,” उनी भन्छन्, “वैदेशिक रोजगारीले गर्दा मधेसका गाउँमा आर्थिक सम्पन्नता त आयो, पारिवारिक सुख-शान्ति र सामाजिक मूल्यमान्यता भने हराउँदै गएको छ।”

शंका, लाञ्छना र कलह

वैदेशिक रोजगारीको आम्दानीले गाउँघरमा महिलाको स्वतन्त्र र उन्नत जीवनशैलीका कारण बुहारी र सासू-ससुराबीचको झगडाको परम्परागत प्रकृति नै फेरिएको छ। सासू-ससुराले आफूलाई हेपेको वा पिटेको भन्दै बुहारीले फोनबाट श्रीमान्‌लाई कुरा लगाइदिने गर्दा र छोराले पठाएको पैसाको विषयमा सासू-बुहारीबीचको विवादले पारिवारिक कलहलाई अर्कै उचाइमा पुर्‍याइदिने गरेको छ। यस्तै घटनाका कारण बुहारीको चरित्रमा लाञ्छना लगाउने, त्यसबारे विदेशमा रहेको छोरालाई सुनाइदिने र छोराको अर्कै विवाह गराइदिएको समेत पाइन्छ।

केही वर्षअघि महोत्तरीको बिगौनाका एक युवक विवाह गरेको केही समयमा वैदेशिक रोजगारीमा गएका थिए। घरमा बुहारी र सासू-ससुराबीच झैझगडा हुन थाल्यो। गर्भवती बुहारी विवादकै कारण माइत गएर बस्न थालिन्। तर, ती महिलाका सासू-ससुराले ‘बुहारी पोइल गई’ भनेर छोरालाई सुनाइदिए। छोरा फर्किएपछि दोस्रो विवाह गराए।

अधिकारकर्मी विभा ठाकुर वैदेशिक रोजगारीले सिर्जना गरेका विवादमध्ये महिलाप्रतिको गलत लाञ्छना सबैभन्दा धेरै हुने गरेको बताउँछिन्। भन्छिन्, “सामान्य विवादसमेत बढ्दै गएर अन्तत: सम्बन्धविच्छेदमा टुंगिने गरेको छ।”

श्रीमान् विदेशमा रहेका महिलाले जोसँग सामान्य कुराकानी गरे पनि शंका र लाञ्छना बेहोर्ने गरेका छन्।

राष्ट्रिय मानवअधिकार आयोगले ‘वैदेशिक रोजगारीमा गएका पुरुषका श्रीमतीले भोग्नुपरेको सामाजिक मूल्य एवं मनोरञ्जन, सत्कार सेवामा कार्यरत महिला तथा बालबालिकाको अवस्था तथा मानव बेचबिचनको जोखिमता’ बारे असार २०७६ मा प्रारम्भिक अध्ययन प्रतिवेदन सार्वजनिक गरेको थियो। जसमा तराई मधेसका महिलाहरूले श्रीमान् वैदेशिक रोजगारीमा जाँदा आफूहरूलाई हुने गरेको हिंसा र यातनाबारे बताएका थिए।

आयोगको प्रतिवेदनमा धनुषाकी एक महिलाले बताएकी छन्, ‘मेरो श्रीमान् वैदेशिक रोजगारीमा जान थालेको १२ वर्ष भएको छ। मेरो छोरा जनकपुरको बोर्डिङ स्कुलमा पढ्छ र घरबाट आउन-जान कठिन भएकाले बोडर्स राखेको छ। छोरालाई भेट्न र श्रीमान्‌ले पठाएको पैसा निकाल्न बेलाबेला जनकपुर जानुपर्छ। जनकपुर जाँदा साथीका रूपमा भदा मसँग आउने गरेका छन्। तर, अहिले आफन्तहरूले उनैसँग मेरो अनैतिक सम्बन्ध छ भन्ने लाञ्छना लगाए।’

जनकपुर उच्च अदालत। तस्बिर : वीरेन्द्र रमण

श्रीमान् विदेशमा रहेका महिलाले जोसँग सामान्य कुराकानी गरे पनि शंका र लाञ्छना बेहोर्ने गरेका छन्। अधिवक्ता झा भन्छिन्, “सुरुमा महिलालाई विभिन्न शंका गर्ने र त्यसले विवाद बढ्दै गएर सम्बन्धमा कटुता ल्याउने र सम्बन्धविच्छेदमा पुग्ने गरेको देखिन्छ। कतिपय महिलाको सन्दर्भमा भने परपुरुषसँगकै सम्बन्धका कारण परिवार टुट्छ।”

जिल्ला प्रहरी कार्यालय, धनुषाको महिला सेलमा असई पदबाट अवकाश पाएकी र एकल महिलाको अधिकारमा काम गर्दै आएकी सुभद्रा आले दम्पतीबीचका कतिपय उजुरी शंकाकै भरमा आउने गरेको र त्यस्तो अवस्थामा सम्झाएर सम्झौता गराएर पठाएको अनुभव सुनाउँछिन्। “कतिपय मुद्दा शंका मात्र भएको खण्डमा प्रहरी कार्यालयमै मेलमिलाप हुन्छ, तर संवेदनशील विषय र विवाद निकै बढेपछि अदालतसम्म पुग्छ,” उनी भन्छिन्।

मधेस प्रदेशको आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार वैदेशिक रोजगारीप्रति यस प्रदेशका युवामा धेरै आकर्षण देखिन्छ। आव २०७९/८० मा यस प्रदेशका एक लाख चार हजार ६०० जना र आव २०८०/८१ मा एक लाख १४३ जनाले नयाँ श्रम स्वीकृति लिएका थिए।