काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

१२ चैत्र २०८२
अ+
अ-

काठमाडौँ। काठमाडौँ विश्वविद्यालयको स्कुल अफ आर्टस् र एसियन इन्टिच्यूट अफ डिप्लोमेसी एण्ड इन्टरनेसनल अफेयर्स (आइडा)बीच अन्तर्राष्ट्रिय मामिला, अर्थतन्त्र तथा कूटनीतिमा स्नातकोत्तर (एमआइएइडी) कार्यक्रम सञ्चालन गर्ने उद्देश्यसहित समझदारीपत्रमा हस्ताक्षर भएको छ।

काठमाडौं विश्वविद्यालयको स्कुल अफ आर्टसका डीन उद्धव प्याकुरेल र आइडाका संस्थापक सुनिल केसी बीच उक्त समझदारीपत्रमा ११ चैतमा हस्ताक्षर भएको हो।

नेपालमा कूटनीति र अन्तर्राष्ट्रिय मामिलासम्बन्धी उच्च शिक्षाको प्रवद्र्धनमा यो संयुक्त प्रयासले महत्वपूर्ण योगदान दिने विश्वास लिइएको दुवै पक्षले बताएका छन्।

अहिलेको परिवर्तनशील आर्थिक र कूटनीतिक परिवेशलाई सम्बोधन गर्न सक्षम नयाँ पुस्ताका नेतृत्व विकास गर्ने उद्देश्यले यो शैक्षिक कार्यक्रम बनाइएको उनीहरुले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। ‘एमआइएइडी कार्यक्रमले आइडाको विश्वव्यापी व्यावसायिक सञ्जाल र केयूको शैक्षिक उत्कृष्टतालाई समेट्दै शैक्षिक अनुस र व्यावहारिक अनुभवलाई संयोजन गर्नेछ,’ विज्ञप्तिमा भनिएको छ।

सम्झौताअनुसार केयुले मुख्य शैक्षिक साझेदारको रूपमा गुणस्तर सुनिश्चितता, शैक्षिक मापदण्ड तथा डिग्री प्रदान गर्ने जिम्मेवारी वहन गर्नेछ भने आइडाले आफ्नो नवीन शिक्षण पद्धति, अन्तर्राष्ट्रिय सञ्जाल तथा कार्यक्रम सञ्चालन संयन्त्रमार्फत विश्वस्तरमै सान्दर्भिक र अभ्यासमुखी सिकाइ अनुभव सुनिश्चित गर्ने बताएको छ।

समझदारी पत्रमा हस्ताक्षरपछि डीन प्याकुरेल भने, ‘यो सहकार्यले काठमाडौं विश्वविद्यालयको शैक्षिक नवप्रवर्तन र विश्वव्यापी संलग्नताप्रतिको प्रतिबद्धता झल्काउँछ।’

साथै, हस्ताक्षरपछि केसीले यस सहकार्यले कूटनीति र अन्तर्राष्ट्रिय मामिलामा भावी नेतृत्व निर्माणतर्फ रूपान्तरणकारी कदमको प्रतिनिधित्व गर्ने बताए।

एसियन इन्टिच्यूट अफ डिप्लोमेसी एण्ड इन्टरनेसनल अफेयर्स (आइडा)का संस्थापक केसीले शैक्षिक उत्कृष्टता र अभ्यासमा आधारित ज्ञानलाई संयोजन गर्दै नेपाललाई उक्त विषयमा उन्नत अध्ययनको क्षेत्रीय केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्य राखेको बताए।

उनले भने, ‘यो कार्यक्रमले विद्यार्थीलाई समसामयिक भूराजनीति र आर्थिक यथार्थसँग अन्तरविषयक र दूरदर्शी पाठ्यक्रमा संलग्न हुने अद्वितीय अवसर प्रदान गर्नेछ।’

“कार्यक्रम आर्थिक कूटनीतिमा केन्द्रित हुनेछ, किनभने आर्थिक कूटनीति नेपालको परराष्ट्र नीतिको अग्रपङ्क्तिमा रहनु पर्दछ,” उनले भने, “अब आइडा एक थिंक(ट्यांक र स्नातकोत्तर शिक्षण संस्थाका रूपमा रहनेछ।”