काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

१३ चैत्र २०८२
अ+
अ-

काठमाडौं । काठमाडौंमा बिहीबार सम्पन्न एक विशेष कार्यक्रममा महिलाहरूको सहभागितामा भएको प्यानल छलफलले नेपालको उद्यमशीलता विकासका लागि थप सहकार्य र समावेशी नीतिको आवश्यकता औंल्याएको छ।

बिजनेस डेभलपमेन्ट सर्भिसेस (BDS) परियोजनाको समापन अवसरमा नक्सालस्थित म्यारियट होटलमा आयोजित कार्यक्रममा दुई वर्षे पहलको उपलब्धि र अनुभवबारे समीक्षा गरिएको थियो।

कार्यक्रममा ब्लिट्जकी सह-संस्थापक तथा प्रबन्ध निर्देशक जुना माथेमा, स्वीस दूतावासकी प्रथम सचिव तथा कार्यक्रम प्रबन्धक सेसिल रिभिएर, र पायोनियर ल एसोसिएट्सकी प्रिन्सिपल एसोसिएट प्रतीक्षा दाहाल सहभागी थिए।

इननोभेट नेक्स्ट इम्प्याक्ट प्रालिले द एशिया फाउन्डेशनसँग साझेदारीमा सञ्चालन गरेको उक्त परियोजना सबनेशनल गभर्नेन्स प्रोग्राम (SNGP) दोस्रो चरणअन्तर्गत कार्यान्वयन गरिएको थियो। कार्यक्रममा सरकारी निकाय, विकास साझेदार, निजी क्षेत्र र विभिन्न सरोकारवालाहरूको सहभागिता रहेको थियो।

छलफलका क्रममा नेपालमा उद्यमशीलता इकोसिस्टमलाई कसरी मजबुत बनाउने, सरकारी प्राथमिकता के हुने, र सहकार्यका माध्यमबाट कसरी दिगो विकास हासिल गर्न सकिन्छ भन्ने विषयमा विचार विमर्श गरिएको थियो।

यो परियोजना दमक, भीमेश्वर र वालिङ नगरपालिका तथा कोशी प्रदेशस्तरमा सञ्चालन गरिएको थियो, जसको उद्देश्य स्थानीय उद्यम सहयोग प्रणालीलाई सुदृढ बनाउनु थियो।

परियोजनाका प्रमुख उपलब्धिहरूमा नगरपालिका स्तरमा ग्रोथ हब स्थापना, ‘ग्रोथ हब ह्यान्डबुक’ जस्ता उपकरणहरूको विकास, तथा कृषि र पर्यटन क्षेत्रमा सार्वजनिक–निजी संवादमार्फत लगानी प्रवर्द्धन गर्ने पहलहरू रहेका छन्।

कार्यक्रमका वक्ताहरूले दिगो र समावेशी उद्यमशीलता विकासका लागि दीर्घकालीन, सरकार-नेतृत्वको संस्थागत प्रणाली र लैङ्गिक उत्तरदायी नीतिहरू अपरिहार्य रहेकोमा जोड दिएका थिए।