संगीत
‘गुलाबी सरारा’ जस्ता कुमाउँनी गीत मात्र नेपाल पुगेको नभई कुमाउँमा पनि नेपाली गीतको क्रेज उस्तै रहेको सामन्तको अनुभव
महेन्द्रनगर। नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सलाई ‘चियर’ गर्न सबैभन्दा बढी प्रयोग गरिएको संगीत थियो, ‘बैतडीमा बाघ आयो’ दुरुस्त गढवालमे बाघ आयो गीतबाट।
छिमेकी भारतको उत्तराखण्डस्थित गढवाल क्षेत्रलाई प्रतिनिधित्व गर्ने पप्पु कार्की, सन्दिप सोनु र कल्पना चौहानले गाएको यस गीतको गढवाली बोल हो, ‘फ्वां बागा रे’। युट्युबमा ६ करोड ३० लाखले यो भिडियो हेरेका छन्। यसको कपी भर्सन ‘बैतडीमा बाघ आयो’ लाई पनि मुलुकमा तीन करोडले हेरिसकेका छन्।
छोराको विवाहोत्सवमा देउवापत्नी आरजु र आफन्तले नाचेको ईन्दर आर्यको भाइरल गीत ‘गुलाबी सरारा’ भने कुमाउँ क्षेत्रको हो।
३५ करोडभन्दा बढीले हेरेको ‘गुलाबी सरारा’ त्यसै काठमाडौँ पुगेको होइन, दुई अलग देश भए पनि संस्कृति र परिवेश सुदूर र मध्यपश्चिम नेपालसँग मेल खाने भएकाले यी गीत सामाजिक सञ्जालमार्फत नेपाली कानले रुचाएका हुन्।
२०० वर्षअघि गोर्खाली सेना पश्चिम किल्ला काँगडा पुगेर दुई दशकभन्दा बढी शासन गरेको उत्तराखण्ड राज्यको कुमाउँ-गढवाल क्षेत्रमा अहिले पनि यत्रतत्र नेपालीको बसोबास छ। फरक यत्ति हो, कुमाउँ-गढवालमा बोलिने बोली र गाइने लवज मात्र। उनीहरूका लवज र शब्द डोटेलीसँग मेल खान्छन् भने परिवेश पनि नेपाल जस्तै छ।
उत्तराखण्डको राजधानी देहरादुनबाट १५० किलोमिटर पश्चिममा रहेको हिमाचलको राजधानी सिमलाबाट उत्तिकै दूरीमा रहेको काँगडामा यत्रतत्र अहिले पनि नेपाली डायस्पोराका घतलाग्दा कथा भेटिन्छन्।
रेडियोको जमानामा पनि भारतीय आकाशवाणीबाट बजिरहने कुमाउनी गीतलाई मुग्लानेहरूले घर फिर्दा गाउँ गाउँमा पुर्याए। अहिले बैतडी र दार्चुलाका एफएममा कुमाउँनी गीतको कार्यक्रम नै प्रसारण हुुन्छ।
कालापहाड कहलिने यो क्षेत्र आज पनि पश्चिमी नेपालका युवाहरूको रोजगार गन्तव्य पनि हो।
भारतमा इस्ट इन्डिया कम्पनीको शासन आउनुअघि रहेका मुस्लिम शासकको आतंक बढेपछि शिवालिक पर्वतमालाको पहाड र तराईमा फैलिएको जम्मु-कश्मीर, हिमाचल र कुमाउँ गढवालबाट धर्म बचाउन आर्यहरू देउतासहित काली तरेर नेपालमा फैलिएको मानिन्छ।
बलिउडको अँधेरीमा बस्ने कुमाउँका चल्तीका गायक बिके सामन्त अहिले घर फिरेका छन्। डडेल्धुराको ठीक कालीपारि रहेको चम्फावत जिल्लाको लोहाघाटका स्थानीय सामन्त अहिले महेन्द्रनगरको ठीक पारि रहेको खटिमामा पनि बसोबास गर्छन्। भन्छन्, “संगीतको कुनै सीमा हुँदैन।”
पहाडमा बढ्दो पलायन र ठूला विकास योजनाले निम्त्याउने भोलि र प्रकृतिका गीत गाउने परिचय बनाएका सामन्त भर्खर विवादित कालापानीदेखि भारतको धार्चुलासम्मका भूभागमा छायांकन गरिएको ‘कश्मीर सीमा’ गीत बजारमा ल्याएपछि केही फुर्सदिला छन्। भन्छन्, “म छायांकनताका नेपालको दार्चुला पनि पुगेँ। मलाई नेपाल र भारतमा कुनै फरक लागेन।”
दुुई पटक पशुपतिनाथ पुगेका सामन्तले एक पटक सीमा सहर महेन्द्रनगर पनि टेकेको बताए। “हामीलाई एउटै संस्कृतिले उनेर राखेको छ,” उनी भन्छन्।
महाकालीमा ठूलो आयोजना भनी हल्ला गरिएको पञ्चेश्वर आयोजनाले हुने विस्थापन र पलायनपछिको प्रकृतिको गीत ‘थमिजा हो बगन्या पानी’ पछि छुुट्टै पहिचान बनाएका सामन्तले लगत्तै पहाडबाट पलायन भएकालाई फेरि पहाड फर्किन आह्वान गरिएको ‘तु आइजा ओ पहाड’ गीतले चर्चामा ल्यायो। यस गीतले उनलाई बलिउडबाट कुमाउँ आउन बाध्य पार्यो। उनले आफ्नो पहाड लोहाघाटमा घर पनि बनाए।
आफूलाई डोटेलीमूलका बताउने सामन्त पिथौरागढ र चम्फावतबीचमा रहेको महाकालीमा पूर्वबाट मिसिने घाट नदीमा आफ्नो कुल देउता चौखाम बाबाको मन्दिर रहेकामा खुसी छन्।
‘कश्मीर बोर्डर’ गीतको धार्चुला क्षेत्रमा गरिएको छायांकनमा भारतीय रक्षा मन्त्रालय र सेनाको सहमति र सहयोग पाउनु उनका लागि नौलो भएको छ। “यो गीतमा खाँटी सैनिकको पनि अभिनय छ,” उनी भन्छन्। केही दिनमै दिल्लीको रोहिणीमा कन्सर्ट प्लान गरिरहेका सामन्तले भने कुमाउँनी गीत मात्र नेपाल पुगेको हैन, कुमाउँमा पनि नेपाली गीतको उस्तै क्रेज रहेको बताए।
चक्र बमले नैनीतालको प्रवेशबिन्दु हल्द्वानीमा गर्ने गरेको कन्सर्टमा जम्मा हुने भिडले कुमाउँमा नेपाली गीत प्रेम झल्काउँछ।
खासगरी कुमाउँनी गीतमा सेनामा रहँदा घर सम्झेर गाइएका, बिछोड हुनुपर्दाका पीडालाई बढी स्थान दिएको पाइन्छ। उनीहरूले भने लोकदोहोरी र लय रहेका नेपाली गीतदेखि चक्र बमसम्मको पुस्तालाई मन पराएका छन्।
सामाजिक सञ्जाल र इन्टरनेटको सुविधाले जेन-जी पुस्तालाई विश्वको कुनै गीत पनि रुचाउन कसैले छेकेको छैन। कुनै बेला अवैध नेपाली सीडीको व्यापार हुुने सीमाबजारदेखि दिल्ली बसपार्कसम्म अहिलेको बदलिएको स्थितिमा मोबाइल पसलेले पेन ड्राइभ र मोबाइलमा नेपाली गीत बेचेकै छन्। नेपालमा पनि ‘गुलाबी सरारा’ मा भिडिओ बन्न छाडेका छैनन्।